• २०८१ बैशाख १४ शुक्रबार

यी हुन् सरकारले अघिल्लो हप्ता गरेका १८ निर्णय

kharibot

काठमाडौं । गत माघ ३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ । निर्णय भएको एक हप्तापछि आज बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णयबारे जानकारी दिएका हुन् । 

सञ्चारमन्त्री बाँस्कोटाका अनुसार उक्त बैठकले महाभियोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय बैठकले गरेको छ । त्यस्तै विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंकको सेयर खरिद गर्ने निर्णय पनि भएको उनले बताए । 

यस्तै सरकारले युरोपियन युनियन डेलिगेसन टु नेपालको प्राविधिक सहायता अनुदान १९ लाख ९६ हजार १ सय ९९ युरो स्वीकार्ने निर्णय गरेको छ । 

त्यस्तै पुनर्निर्माणका लागि साउदी कोषसँग ऋण सहायता प्राप्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी अख्तियारी दिने निर्णय भएको मन्त्री बाँस्कोटाले बताए । 

त्यस्तै, सरकारले गोरखकाली रबर उद्योग लि.का कर्मचारीलाई अनिवार्य अवकाश दिने र कारखानाको वैकल्पिक व्यवस्थापन गर्ने निर्णय गरेको छ भने नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदबाट डा. रोभस कुसुम सुवेदीले दिएको राजीनामा स्वीकृत गरेको छ । 

बैठकले नेपाल भारत वाणिज्य सन्धि २००९ को पुनरवलोकनसम्बन्धी दोस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

यस्तै, अप्रिकन स्वाइन फिभर रोग सार्नसक्ने वस्तुको पैठारीमा प्रतिबन्ध लगाउने निर्णय भएको पनि मन्त्री बाँस्कोटाले पत्रकारसम्मेलनमार्फत जानकारी दिए । 

त्यस्तै, नुवाकोट जिल्लाको दुप्चेश्वरमा भएको दुर्घटनाका घाइतेको उपचार सरकारी खर्चमा गराइने भएको छ भने क्षेत्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र गोदामघरहरुलाई प्रदेशस्तरमा रुपान्तरण गरी सञ्चालन गर्ने निर्णय गरिएको छ । 

त्यस्तै, नेपाल–ओमान सरकारबीच कूटनीतिक तथा सरकारी÷विशेष÷सेवा राहदानीवाहकलाई एकअर्का मुलुकमा भ्रमण गर्दा प्रवेशाज्ञा छुट दिने सम्झौता स्वीकृत गरिएको छ । 
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा ठैव ललितपुरका ज्ञानेश्वर कार्कीलाई सरकारले नियुक्त गरेको छ । 

यस्तै रक्सोल–अमलेखगञ्ज भूमिगत पेट्रोलियम  पाइपलाइन बिछ्याउने कार्यका लागि आवश्यक रुख हटाउन अनुमति दिइएको सरकारले जनाएको छ । त्यस्तै स्थानीय सेवाको गठन, सञ्चालन, व्यवस्थापन, सेवाका शर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड निर्धारण गर्ने गरी संघीय कानुन तर्जुमा प्रक्रिया अगाडि बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति सरकारले दिएको छ ।

त्यस्तै राजपत्रांकित विशिष्ट श्रेणी वा सोसरहका सरकारी कर्मचारीहरुको समायोजन गर्ने निर्णय गरिएको छ भने विदेशी नियोगलाई नेपालमा जग्गा उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए । त्यस्तै, भाषा आयोगको सदस्य पदमा उषा हमाल (सुर्खेत)लाई नियुक्त गरिएको छ ।

त्यस्तै सरकारले सशस्त्र युद्धकालमा घाइते भएका दैलेखका नरवीर दमाइ, कालीकोटका मन दर्जी, जुम्लाका वीरबहादुर परियारसहित ४४ जनालाई औषधि खर्च, आवतजावत खर्च, होटल खर्च र कुरुवा खर्चका लागि १० लाख रुपैयाँ वितरण गर्ने निर्णय भएको छ ।

यसका लागि गृह मन्त्रालयलाई शोधभर्नाबापत उपलब्ध गराइने मन्त्री बाँस्कोटाले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै