बारा । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चढेको गाडी शनिवार राती दुर्घटना हुदा सशस्त्र प्रहरी उपरिक्षक (एसपी) को मृत्यु भएको छ । दुर्घटनामा सिडिओ गम्भिर घाईते भएका छन् ।
गम्भीर घाइते सिडिओको हाल वीरगन्जमा उपचार भइरहेको भएपनि उनलाई हेलिकप्टरमा काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।
कर्मचारी मिलन केन्द्र बाराको वनभोज कार्यक्रमबाट फर्कने क्रममा पथलैया–निजगढ सडकखण्डको पसाहा पुलनजिक ना१झ १६३३ नम्बरको जीप दुर्घटना हुदा एसपी बलराम पोखरेलको मृत्यु भएको हो । पोखरेल सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख थिए ।
दुर्घटनालगत्तै सिमरास्थित अल्पाईन अस्पतामा उपचारका लागि ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा सिडिओ गणेश भट्टराईसहित तीन जना घाईते भएका छन् । सिडिओ भट्टराईको अवस्था गम्भिर रहेको छ । टाउको गम्भिर चोट लागेकाले उनलाई थप उपचारका लागि वीरगन्ज हेल्थ केयरबाट काठमाण्डौ पठाउने तयारी गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।
दुर्घटनामा चालक जगत पटेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, र प्रहरी हवल्दार शम्भु गुरुङ सामान्य घाईते भएका छन् । उनिहरुको वीरगन्जस्थित अस्पतालमा उपचार भईरहेको छ ।
कर्मचारी मिलन केन्द्र बाराको आयोजनामा निजगढस्थित शहिद हिरालाल गौतम स्मृति पार्कमा बनभोजको आयोजना गरिएको थियो । बनभोजमा बाराका अधिकांश सरकारी कार्यलयका कर्मचारी सहभागी थिए ।
बनभोजबाट फर्कने क्रममा सडकमा रोकिरहेको ट्रयाक्टरको ट्रेलरमा गाडी ठोक्किएको हो । गाडी सडकबाट १० मिटर तल खसेको छ । दुर्घटनालगत्तै सुरक्षाकर्मी र स्थानियले उद्धार गरी घाईतेलाई अस्पताल ल्याएका थिए ।
शरिरको विभिन्न भागमा चोट लागेका एसपी पोखरेललाई उपचारको क्रममा अल्पाईन अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए । एसपी पोखरेलको शव अल्पाईन अस्पतालमा राखिएको छ ।
दुर्घटना स्थलका केहि तस्बीरहरु :