अब ‘भोल्युम म्युट’ गर्न खोज्नेहरूको हातबाट ‘रिमोट’ खोस्नु पर्छ : बिना थिङ तामाङ

खरीबोट

कवि तथा कथाकार बिना थिङ तामाङको कथासङ्ग्रह ‘छुकी’ र कवितासंग्रह ‘रातो घर’ प्रकाशित छन् । काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएकी उनी हाल आफ्नो तेस्रो पुस्तकको तयारीमा छिन् । नेपाली तथा तामाङ दुवै भाषामा कलम चलाउने उनी शिक्षणपेशामा आबद्ध छिन् । प्रस्तुत छ उनको साहित्यिक यात्रा तथा प्रकाशोन्मुख कथासङ्ग्रहमा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:

हिजोआज के लेख्दै/पढ्दै हुनुहुन्छ ?

अलिअलि कथामाथि काम गर्दैछु । साथै फर्नान्डो ट्रियास दे बेसको ‘द टाइम सेलर’ पढिरहेकी छु ।

आफ्ना दुई प्रकाशित कृतिहरूबाट के-कस्ता प्रतिक्रिया पाउनुभयो ? तेस्रो पुस्तक कहिले ल्याउँदै हुनुहुन्छ ? विधा, विषयवस्तु र शैलीको हिसाबले कस्तो हुनेछ?

विधागत हिसाबले मेरो पहिलो कृति कथाको थियो । २०६९ मा ‘छुकी’ कथा संग्रह प्रकाशित भएको थियो ।  त्यसपछि मैले २०७२ मा कवितासंग्रह ‘रातो घर’ ल्याएकी थिएँ । मलाई पहिलो कृतिले भन्दा दोस्रो कृतिले साहित्यको क्षेत्रमा स्थापित गराउन मद्दत गरेको महसुस गरेकी छु । यद्यपि म पुनः एकपटक खतरा मोल्न चाहन्छु । त्यसैले कथामाथि काम गर्दैछु । दोस्रो कथासंग्रह अर्को वर्ष पाठकमाझ ल्याउने सोच छ । हेरौं के हुन्छ ! विषयवस्तुको कुरा गर्नुहुन्छ भने, यसलाई म आफ्नो माटोको कथा भन्न मन पराउँछु । त्यस्तै खालका कथाहरूको संग्रह गर्ने तयारी गरिरहेकी छु । 

साहित्य-लेखनमा कसरी आकर्षित हुनुभयो ? यहाँसम्म आईपुग्दा के-कस्ता संघर्षहरू गर्नुपरे ? कुनै रोचक घटना याद छ? कतिको सन्तुष्ट हुनुहुन्छ? 

म हेटौडामा जन्मेहुर्केकी हुँ । त्यहाँबाट विरगन्ज नजिक भएकोले भारतीय ‘कमिक्स’ र उपन्यास छ्यास्छ्यास्ती पाईन्थ्यो । म प्राय: ‘कमिक्सका’ सिरिज नछुटाई पढ्ने गर्थें । यसले मेरो कल्पनाशक्ति वृद्धि गर्नमा मद्धत पुर्यायो । पछि गएर यो एककिसिमको लतमा परिणत भयो । कक्षा ७, ८ तिर पुग्दा विद्यालयको पुस्तकालयबाट साहित्यका पुस्तकहरू प्राप्त गरियो । अर्को कुरा घरमा आमा र बा दुवै हिन्दी उपन्यास पढ्नुहुन्थ्यो । म उहाँहरूको आँखा छलेर रातारात ती पुस्तक पढिभ्याउँथें । यसरी मभित्र साहित्यको बीज अंकुर भयो । पछि साथीसंगतले लेख्न थालियो । एक त नेपाली समाज, त्यसमाथि महिला, आमा, बुहारी, श्रीमती र जागिरेको भूमिकामा रहेर साहित्य सृजनालाई निरन्तरता दिनु पछाडिका संघर्ष के भनिरहनुपर्ला र? भो अहिललाई यसको चर्चा नै नगरौं । आफ्नो लेखनबाट सन्तुष्ट हुनु भनेको बुद्धत्व प्राप्त गरे जस्तै हो । जुन मैले प्राप्त गरेकी छैन । साहित्यिक यात्राको क्रममा घटेको एउटा रोचक प्रसंग यस्तो छ:

२०७० सालमा हेटौडामा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शक्ति एफएमले राष्ट्रिय बहुभाषिक कविता गोष्ठी आयोजना गरेको थियो । म खासै प्रतियोगितामा भाग लिन नरुचाउने मान्छेलाई हेटौडाकै धर्मराज स्याङतान भाइले तामाङ भाषीको तर्फबाट एउटा पनि कविता प्रतियोगिताको लागि आईनपुगेको जानकारी गराउँदै त्यहि दिन रातको १२ बज्नु अगाडिसम्ममा कविता इमेल गर्न अनुरोध भयो । कविता पठाउने अन्तिम दिन रहेछ त्यो । साँझको ५ बजिसकेको थियो । भान्सा, धन्दामन्दा सक्दा रातको ९ बजिसकेको थियो । मैले कविता लेखेर (तामाङ र नेपाली दुवै भाषामा) इमेल गर्दा झण्डै रातको १२ बज्न लागिसकेको थियो । केही दिनपछि नेपालभरबाट विविध भाषामा ५० वटा कविता प्राप्त भएकोमा मेरो कविता ‘टप टेन’मा परेको खबर आयोजकबाट प्राप्त भयो । आयोजकका अनुसार प्रत्यक्ष वाचनमा सहभागी हुनैपर्ने नियम रहेछ । म कार्यक्रमको लागि हेटौडा गएँ । वाचन गरें । मभित्र प्रतियोगिता जित्ने कुनै अपेक्षा जन्मिएकै थिएन । मात्र भाषिक हिसाबले सहभागी हुनु थियो । त्यसमाथि नतिजा पर्खने समय थिएन । भोलिपल्टदेखि अनिश्तिकालिन बन्द थियो । त्यसैले साँझ ४ बजेको टाटासुमोको टिकट काटेर साथी डोल्मा र गोदेश्वरीले तारन्तार फोन गरे । मलाई जागिर पनि जोगाउनु थियो । म आयोजकलाई खबर नगरी खुसुक्क हिडें । गाडी चढ्नै लागेकी थिएँ, आयोजकको फोन आयो । आयोजकलाई त्यसरी खबर नगरी हिंड्न नमिल्ने भन्दै तुरुन्त फर्किन आग्रह गरे । आधा घण्टालाई गाडी पर्खन भनेर म पुनः कार्यक्रमस्थल पुगें । नतिजा घोषणा हुने समय भएको रहेछ । त्यस कार्यक्रममा सर्वोत्कृष्ट एकजनालाई (दोस्रो, तेस्रो थिएन) मात्र पुरस्कृत गरिंदै थियो । विजेताको नाम घोषणा हुँदा हलमा सबै एकपटकलाई श्वास रोकेर उभिए । उद्घोषकले बिजेताको नाम घोषणा गर्यो । त्यो घोषित नाम मेरो थियो । प्रमुख अतिथि अहिलेका कुलपति गंगाप्रसाद उप्रेती त्यतिखेर उपकुलपति हुनुहुन्थ्यो । पन्ध्र हजार पाँचसय पचपन्न नगद सहितको त्यो पुरस्कार प्राप्त गरेको क्षण म सायदै बिर्सन्छु । 

तपाँईलाई कस्ता कुराहरूले लेखनमा प्रभाव पार्छन् ? के-का लागि लेख्नुहुन्छ ? वैचारिक धरातलमा आफूलाई कहाँनेर उभ्याउनुहुन्छ ? 

म बाँचेको परिवेशमा घटिरहेका घटनाहरू, विकृति, विसंगति साथै मान्छेको विविध मनोविज्ञानलाई सम्बोधन गरूँ लाग्छ । चर्को कुराहरूले मभित्रको चेतनामा उथलपुथल ल्याउँछ । खस्खस् लाग्छ । सामान्य भन्दा सामान्य ढङ्गबाट कसरी ती कुराहरूलाई अरुसामू लैजान सक्छु भन्नेमा म चिन्तित हुन्छु । सायद म यसै कारणले लेख्छु । विचारको हिसाबले म मात्र हैन प्राय: सर्जकहरू परिवर्तनमुखि नै हुन्छन् । जो यथास्थितिबाट गतिमान हुन चाहन्छ, पक्कै पनि ती प्रगतिशील हुन् ।

पछिल्लो दशकमा राजनीतिका साथसाथै साहित्यमा पहिचानको आन्दोलनले निकै महत्वपूर्ण स्थान लिएको थियो । तपाईँ पनि तामाङ समुदायका मुद्दाहरूलाई उठाउँदै आउनुभएको छ । तर अहिले भने पहिचानको मुद्धा अलि कमजोर वा समयसँगै रुपान्तरित हुँदै गएको हो ?

यो प्रश्नको उत्तर खोज्नुपूर्व हामी पहिचानको विषयमा प्रष्ट हुनु जरुरी छ । कहिलेकाँही भ्रम जस्तो सृजना भएको पाईन्छ । जस्तो कि नेपालमा कुनै जाति विषेशका सर्जकले आफ्नो कुरा, समस्या लेख्यो भने त्यो जातीय मुद्धा हो भनिदिन्छन् । भाषिक बिम्ब, मिथक प्रयोग गर्नेलाई जातीय कवि भनिदिने पनि भेटिन्छन् । तर यहाँनेर बुझ्न पर्ने कुरा के छ भने जो जसलाई राज्यको मूलधारमा आउने मार्गबाट विमुख भए/गरियो तिनीहरूको चेतनाले सीमान्तकृत हुनुको पीडा बोल्न थालेको छ । उनीहरूले हामी पनि यो राज्यको नागरिक हौं भनेर हात उठाएका न हुन् । उनीहरूले आफ्नो अस्तित्वको दाबी गरेका हुन् । विगतमा राज्यबाट भएको ज्यादतीको क्षतिपूर्ति मात्र खोजेका न हुन् । यसैलाई हतियार बनाएर वितगमा केही राजनैतिक पार्टीले आफूलाई सत्तामा उभ्याउन ‘इमोशनल्ली’ प्रयोग गरे । जुन स्वार्थका निमित्त गरियो, त्यो प्राप्तिपश्चात् किन बोकेर हिंड्थे र ? छाडिदिए । तर हामीले आफ्नो कुरा लेख्न छाडेका छैनौं । फरक यत्ति हो राजनीतिक दलले चर्को नारा लगाउने हुनाले त्यो आवाज हल्ला जस्तो सुनियो । लेख्नेहरू चुपचाप लेखिरहन्छन् । यसैलाई लिएर पहिचानको मुद्दा कमजोर भन्न मिल्दैन । 

अबको समयमा पहिचान, महिला अधिकार र किनाराकृतका आवाजहरूलाई कसरी साहित्यमा उतार्नुपर्छ जस्तो लाग्छ तपाईलाई ?

आवाज निरन्तर उठिरहेकै छ । यत्ति हो अब त्यसको ‘भोल्युम म्युट’ गर्न खोज्नेहरूको हातबाट ‘रिमोट’ खोस्नु पर्छ । यसका लागि सबैले आ आफ्नो स्थान, तहबाट निरन्तर बोलिरहनु जरुरी छ । जति लामो समयदेखि हामी उत्पीडनमा पर्यौं, त्यति नै लामो समय यसबाट बाहिर निस्कन लाग्छ । अतः हतास नहोऔं । यसलाई प्रखर रुपमा आफूलाई सहज हुने विधाबाट जनमानसमा पुर्याउनुपर्छ । 

समकालीन साहित्यमा आइरहेका पुस्तकहरू कस्ता लागिरहेछन् तपाईलाई? कतातिर गइरहेको छ नेपाली साहित्य?

जति लेखिन्छ ती सबै उत्कृष्ट अथवा पठनीय हुन्छ भन्ने हुँदैन । लेखिएकैबाट छनौट भएका पुस्तकहरू त हो हामीले अहिले ‘क्लासिक’ भनेर पढिरहेका पुस्तकहरू । समकालीन साहित्यको अवस्था त्यस्तै छ । तीमध्ये कतिपय पुस्तकहरू संग्रहित गर्न लायकका पनि छन् । कतिपय पुस्तक हातमा लिएर बस्यो, आलस्यता मात्र बढाउँछ । कतिपय पुस्तक अलिक लामो समय दिएर, अध्ययन गरेर बजारमा ल्याएको भए त्यो उत्कृष्ट पुस्तक हुन सक्थ्यो भन्ने खालको पनि छ । पछिल्लो समयमा हतारको साहित्य लेख्ने अभ्यास बढेर गएको हो कि भन्ने भान परेको छ । हतारमा लेखिएका पुस्तकहरूले चैं हाम्रो समय र अर्थ दुवै नोक्सान गरेको छ ।

तपाईलाई सबैभन्दा धेरै मन परेका १० पुस्तक ?

अनिदों पहाडसँगै (पारिजात)
द गुड अर्थ (पर्ल एस.बक) 
सिद्धार्थ (हर्मन हेस्से)
घामका पाईला (धच गोतामे)
तामाङ साहित्यको इतिहास (अमृत योञ्जन)
चीन, तिब्बत र नेपाल (बाबुराम आचार्य)
कितने पाकिस्तान (कमलेश्वर)
हाम्रो समाज एक अध्ययन (जनकलाल शर्मा)
द जाहिर (पाउलो कोएल्हो)
विश्वजनका इतिहास (क्रिस लुकाच )
तिरिछ (उदय प्रकाश)

एउटा कविता वा कथा सिर्जना गरिसकेपछिको आनन्द कस्तो हुने गर्छ ? तपाईँलाई सबैभन्दा धेरै खुसी के गर्दा मिल्छ ? जीवनमा पूरा नभएका तर पूरा गर्न मन लागेका तीन कुरा मात्र रोज्नुपर्यो भने के रोज्नुहुन्छ ?

प्राय: सर्जकहरू ‘मुडी’ हुन्छन् । केही न केही कुराहरूले उनीहरूको मष्तिस्क व्यस्त हुन्छ । यसले गर्दा तनाव जस्तो महशुस हुन्छ । केही उकुसमुकुस जस्तो, असजिलो जस्तो । त्यसलाई कविता, कथा वा अन्य कुनै पनि विधामा उतारिसकेपछि एककिसिमले मानसिक स्खलन हुन्छ ।

म धेरै कुराहरूबाट खुसी हुन सक्छु । जस्तो कि मन परेको पुस्तक बन्द कोठा (एकान्त) मा बसेर पढेर,  साईलेन्स मुभी हेरेर, कतै लामो यात्रामा निस्किएर अथवा आफ्ना भावनाहरू अक्षरमा पोखेर । 

मभित्र त्यस्तो महत्वाकांक्षा जन्मिएको मैले थाहा नै पाइनँ । त्यसैले जीवनमा यो भएन, त्यो भएन भन्ने गुनासो नै छैन । 

आगामी दिनलाई लिएर तपाईँका के कस्ता योजनाहरू छन् ? कसरी अगाडि बढ्नुहुन्छ ?

छन् केही योजनाहरू । साहित्यको माध्यमबाट मलाई आफ्नो समुदाय, वर्ग र लिङ्गमाथिको विभेदबारे बोल्नु छ । त्यसको लागि म अहिले कथामाथि काम गर्दैछु । त्यसपछि उपन्यासमा काम गर्ने योजना छ । हेरौं समयलाई कतिको सापेक्ष बनाउन सकिन्छ !

अन्त्यमा आफ्ना पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?

पाठक लेखकको ‘जज’ हो । म आफैं लेखकभन्दा बढी पाठक हुँ । म पाठक हुदाँ आफ्ना  ‘एक्सपेक्टेक्सन’हरू पूरा नगर्ने किताबसँग रिस उठ्छ । समयको बर्बादी हुदाँ अझ बढी नमज्जा लाग्छ । मलाई लाग्छ लेखकलाई यस कुराबारे सचेत गराउनुपर्छ । म पाठकलाई आग्रह, पूर्वाग्रहबाट माथि उठेर सल्लाह-सुझावको लागि अनुरोध गर्दछु । पक्कै पनि यसले मभित्रको लेखकलाई सचेत बनाउँछ ।
 

सम्बन्धित समाचार

मलाई समान्य, तर नसोचिएका र नभनिएका विषय टिप्न मन लाग्छ: महेश पौड्याल

कथाकार, उपन्यासकार, समालोचक र अनुवादकका रुपमा नेपाली साहित्यमा आफ्नो विशेष पहिचान बनाएका साहित्यकार महेश पौड्याल आफ्नो पहिलो कवितासंग्रह “शून्य समयको साक्षी”सँगै कवितामा पनि आउँदै छन् । शिखा बुक्सले चैतको सुरुवाततिर

जनयुद्धले पितृसत्तावादी सोचविरुद्ध धावा बोलेको हो : सांसद यशोदा सुवेदी

काठमाडौँ । दाङ तुलसीपुर उपमहानगरपालिका मानपुर वनकट्टीमा २०२५ साल साउन २० गते  जन्मेकी यशोदा सुवेदी प्रतिनिधि सभाको समानुपातिकतर्फकी सदस्य हुन् । पार्टी केन्द्रीय संरचनामा उनी सचिवालय सदस्यसम्म भइन् भने स्थानीय

जीवनको उत्तरार्धमा पहिलो उपन्यास लेख्ने दुस्साहस गरेकी छु: उषा शेरचन 

विगत चालिस वर्षदेखि साहित्यमा कलम चलाइरहेकी साहित्यकार उषा शेरचनको पहिलो उपन्यास 'आधि' बुकहिल पब्लिकेशनले यही वर्ष सार्वजनिक गर्दै छ । यसअघि उनका ४ पुस्तकहरू 'नजन्मेका आस्थाहरु'(कविता-सङ्ग्रह), 'अक्षरहरुका शिविरबाट'(मुक्तक–सङ्ग्रह),'सर्वकालीन पीडा र

इच्छाशक्तिसहित इमानदारी भए देश बन्छ – सांसद पार्वती रावल 

काठमाडौँ । चितवनको खैरेनी नगरपालिका ४ चैनपुरमा जन्मेकी दिलकुमारी रावल पार्वती राष्ट्रिय सभा सदस्य हुन् । उनी अहिले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति छिन् ।  प्रारम्भिक शिक्षा गाउँबाटै


z