• २०८१ बैशाख १७ सोमबार

हिमा गाउँपालिकाले दुई गाउँमा बनायो प्रत्येक घरमा धारा

kharibot

जुम्ला । सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो । 

स्थानीय मन्नु योगीका अनुसार पहिला गाउँमा सामूहिक धारा हुँदा पानी भर्न घण्टौँ समय लाग्ने गर्दथ्यो, तर सबैका घरमा धारा भएपछि सहज भएको छ । उनले भने, “पानी भर्न महिलाको समय धेरै पर्खेरै जान्थ्यो, अहिले त्यो समस्याबाट मुक्ति मिलेको र कार्यबोझ घटेको छ ।” 

माथिकुडुका स्थानीय देवेन्द्र शाहीका अनुसार हरेक घरमा पानीका धारा भएपछि खानेपानी सहज उपलब्ध भएर सबैका करेसाबारीमा पनि सिँचाइ गर्न थालिएको छ । हिमा गाउँपालिका– ७ माथिकुडुमा ७८ घरधुरीमा रु ५५ लाख लागतमा ७८ खानेपानी धारा निर्माण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत हरिगोपाल चौलागाईँले बताए । सोही गाउँपालिका–३ जोगीवाडामा ८२ घरधुरीमा रु ५३ लाख लागतमा ८२ धारा निर्माण गरी स्थानीयवासीले खानेपानी पिउदै आएको उनले बताए । 

हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाका अनुसार हरेक घरमा धारा भएपछि महिलाको कार्यबोझमा न्यूनीकरण आएको छ । गाउँपालिकाकाले सबै घरमा एक घर, एक धारा निर्माण गर्ने योजना अघि सारेको छ । सबै वडामा योजना सञ्चालनमा ल्याउने उनले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै