• २०८१ बैशाख १६ आइतबार

प्रदेश ५ सरकार सङ्घीय शासन प्रणालीको आधारका रुपमा खडा

kharibot

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले एकवर्षको छोटो अवधिमा नै प्रदेश सरकार सङ्घीय शासन प्रणालीको महत्वपूर्ण आधारका रुपमा खडा भइरहेको बताएका छन्  । 

उनले मुलुक सङ्घीयतामा प्रवेश भएसँगै तीन तहको निर्वाचन सम्पन्न भई विधिवत् रुपमा प्रादेशिक संरचनाको आधारशीला खडा भएको समेत बताए । 

फागुन ३ गते प्रदेश सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा उनले यो एक वर्षको छोटो अवधिमा नै नागरिकले प्रदेश खोज्ने र भेट्टाउने अवस्था तयार भएको र आफ्नो नजिकको सरकारका रुपमा प्रदेशको खोजी हुनु र भरोसा बढ्दै जानु अत्यन्त सुखद् र सकारात्मक पक्ष भएको बताए । 

मुख्यमन्त्री पोखरेलले नेपालको सङ्घीय शासन प्रणाली मौलिक चरित्रको रहेको र यही मौलिक प्रकारको शासन प्रणाली मार्फत नागरिकका विकास र समृद्धिका आकाँक्षा पूरा गर्न प्रदेश सरकार कृतसङ्कल्पित रहेको उल्लेख गरे । यसका साथै एक वर्षअघि प्रदेश सरकारको मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गरिरहँदा कोरा कागज जस्तै रहेको प्रदेश सरकारको अवस्था शून्यबाट काम थाल्दै आजको अवस्थामा आइपुगेको बताए । 

कर्मचारी समायोजनको विषयले अझै पूर्णता नपाएको भए पनि प्रदेश अन्तर्गतका कार्यालयहरु स्थापना भई कार्यारम्भ गरेको अवस्थामा चालू आर्थिक वर्षलाई प्रदेश सरकारले आवधिक योजना र कानून निर्माण वर्षको रुपमा लिएको मुख्यमन्त्री पोखरेलले बताए । 

आवधिक योजना निर्माणको काम अन्तिम चरणमा पुगेको र विकास परिषद् प्रथम बैठकबाट आवधिक योजनाको अवधारणा स्वीकृत भएको अवस्थामा यसै आर्थिक वर्षमा प्रथम पञ्चवर्षीय योजनाका रुपमा प्रदेशको आवधिक योजना तयार भई आउने आर्थिक वर्षको नीति कार्यक्रम र बजेट आवधिक योजनाका आधारमा तर्जुमा गर्ने लक्ष्य राखिएको उनको भनाइ थियो । 

“प्रदेशका लागि आवश्यक आधारभूत कानूनहरु यही आर्थिक वर्षभित्र पारित गर्ने गरी काम भइरहेको अवस्थामा अनेकौँ चुनौती र सीमाका बीचमा अहिलेसम्मका सरकारका कार्यहरु सन्तोषजनक रहेको छ”, मुख्यमन्त्री पोखरेलले भने । 

प्रदेश सरकार प्राप्त साधन र स्रोतलाई प्रभावकारी ढङ्गले परिचालन गर्दै कार्यकारी अधिकार र दायित्व निर्वाह गर्न अग्रसर रहेको र सरकार बजेट कार्यान्वयनको राष्ट्रिय मापदण्ड भेटाउने गरी अघि बढिरहेको सन्दर्भमा अर्को वर्षदेखि प्रदेश सरकार बजेट कार्यान्वनमा नमुना बन्न सक्छौँ भन्ने विश्वास बढेर गएको उनले स्पष्ट गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दति र शैलीका रुपमा स्थापित गरिनुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिए । 

उनले नागरिकको जीवनशैलीसँग नजोडिएको जस्तोसुकै लोकतान्त्रिक शासन प्रणाली पनि औपचारिकतामा सीमित बन्न पुग्ने भएकाले तीन तहका सरकारहरुबीच सहअस्तित्व, समन्वय र सहकार्यका माध्यमबाट आम जनताको विकास र समृद्धिको आकांक्षा र संवैधानिक दायित्वहरु पूरा गर्न तीनै तहका सरकारहरु प्रभावकारी बन्नु आवश्यक छ भने ।

मुख्यमन्त्री पोखरेलले भने, “विकास र समृद्धिको हाम्रो अभियानको सबैभन्दा ठूलो साझेदार आम जनता हुन् । हामीले हाम्रो विकासको साझेदारका रुपमा सहकारी क्षेत्र र सामुदायिक क्षेत्रलाई पनि जोडेर अघि बढाउन चाहिरहेका छौँ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै