• २०८१ बैशाख १७ सोमबार

राष्ट्र बैक भन्छ : सरकारी खर्च घट्यो, सरकारसँग एक खर्ब ७८ अर्ब ७५ करोड नगद मौज्दात

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैकका अनुसार बैंकिङ्ग कारोबारमा आधारित कुल सरकारी खर्च रकम घटेको छ । चालु आर्थिक बर्षको पछिल्लो महिनाको अवधिमा कुल सरकारी खर्च रकम तीन खर्ब ३९ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रकम तीन खर्ब ६४ अर्ब ९५ करोड रहेको थियो । चालु आवको छ महिनामा सरकारको कुल राजस्व संकलन २४ दसमलव दुई प्रतिशतले बढेर चार खर्ब ११ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १९ दसमलव ९३ प्रतिशतले बढेर तीन खर्ब ३१ अर्ब २१ करोड पुगेको थियो । राष्ट्र बैंकका अनुसार २०७५ पुस मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा एक खर्ब ७८ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । उक्त रकममा स्थानीय तहको खातामा रहेको ४९ अर्ब २० करोड रुपैयाँ समेत समावेश रहेको राष्ट्र बैकले जानकारी दिएको छ ।  

चालु आर्थिक वर्ष २०७५—०७६ को छ महिनामा विस्तृत मुद्राप्रदाय छ दसमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय छ दसमलव सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा विस्तृत मुद्राप्रदाय १९ दसमलव एक प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा-नोक्सान समायोजित) ६३ अर्ब ६८ करोड अर्थात छ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति छ अर्ब ६६ करोड अर्थात शुन्य दसमलव सात प्रतिशतले घटेको थियो । 

यसैगरी चालु आवको छ महिामा बिदेशी मुद्रा सञ्चित मुद्रा १३ दसमलव एक प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा नौ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा सञ्चित मुद्रा तीन दसमलव दुई प्रतिशतले बढेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै