• २०८१ बैशाख १६ आइतबार

मेक्सिको सीमामा पर्खाल बनाउन ट्रम्पद्वारा अमेरिकामा संकटकालको घोषणा

kharibot

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । 

देशमा संकट वा आपत् आएको अवस्थामा लगाइने यो संकटकाल अहिले लगाइएको बारेमा हाल अमेरिकामा चर्चाको विषय भएको छ । राष्ट्रिय संकटकाल घोषणा गर्दै सीमामा पर्खाल बनाउन ट्रम्पले बजेट माग गरेका छन् ।

अमेरिकामा राष्ट्रिय संकटकालसम्बन्धी ऐन गम्भीर राष्ट्रिय संकट नियन्त्रणको लागि मात्र रहेको जानकारको भनाइ छ । राष्ट्रपति ट्रम्पले हाल देशको दक्षिणी सीमानामा आप्रवासी संकट आइपरेको बताउँदै आएका छन् तर उनको सो भनाइलाई आप्रवासीसम्बन्धी विज्ञले अस्वीकार गर्दै आएका छन् । 

अन्य देशको तुलनामा अमेरिकामा सबभन्दा ठूलो सङ्ख्यामा गैरकानूनीरुपमा आप्रवासीको प्रवेश हुने गरेको छ । वैध प्रवेशाज्ञा वा भिसाको म्याद सकिएपछि पनि लुकेर त्यही बसिरहेका पाइन्छ । मेक्सिको सीमा क्षेत्रमा पर्खाल लगाउने र आप्रवासी समस्यालाई नियन्त्रणमा ल्याउने ट्रम्पको चुनावी नारा रहेको थियो । 

सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावी नारा पूरा गर्न ट्रम्पले हरेकतर्फबाट कोशिस गरेको र यी कोशिसहरु असफल भएपछि राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् । 

यस घोषणासँगै ट्रम्पलाई विशेष शक्ति प्राप्त हुनेछ र त्यसले उनलाई सामान्य राजनीतिक प्रक्रिया छलेर विद्यमान सैन्य वा विपद राहतका बजेटलाई सीमानामा पर्खाल बनाउनका लागि छुट्याउन सक्ने छन् । 

इतिहासलाई पल्टाएर हेर्दा विगतका अमेरिकी राष्ट्रपतिले संकटकालको प्रयोग विदेश मामिलासम्बन्धि समस्याको लागि मात्र गरेको पाइन्छ । 

हाल राष्ट्रपति ट्रम्पले देशभित्रै राजनीतिकरूपमा विवादग्रस्त मुद्दामा विपक्षीको बहुमत वास्ता नै नगरी सीमा सुरक्षाका लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेको देखिन्छ । हाल अमेरिकामा शक्तिको दुरुप्रयोग भएको विपक्षीले आरोप लगाएका छन् । 

ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकसहितको एक योजनामा हस्ताक्षर गरेका थिए । 

अमेरिकी संसद् कङ्ग्रेसले उक्त विधयेकमा पर्खाल निर्माणको खर्च नबेहोर्ने अडान लिएपछि ट्रम्पले संकटकाल लगाएर अन्यत्रबाट बजेटको बस्दोबस्त गर्ने कदम चालेका हुन् । राष्ट्रपति ट्रम्पको हालको कदमलाई अदालतमा चुनौति दिने डेमोक्र्याटहरुले बताएका छन् । 

संकटकालीन अवस्थाले सीमा पर्खालका लागि आठ अर्ब डलर प्रदान गर्ने ट्रम्पले घोषणा गरेका छन् । अति आवश्यक खर्च सैन्य निर्माण, लागुऔषध तस्करी नियन्त्रणका लागि छुट्याइएको बजेटबाट काटेर पर्खाल निर्माणमा लगाइनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै