काठमाडौँ । महिला टी-२० विश्वकप क्वालिफायर अन्तर्गतको एशिया क्वालिफायर छनोट खेलमा नेपालले मलेसियालाई १२७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १२६ रन बनाएको छ ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ४२ रन बनाएकी छन् । सिताले ४० बलमा ४२ रन बनाएकी हुन् । त्यस्तै रुबीना क्षेत्री बेलबासेले अविजित ३३ रन बनाएकी छन् भने काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन बनाएकी छन् ।
१२७ रनको लक्ष्य पाएको मलेसियाले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।
प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले ६-६ खेल खेल्नेछन् ।
प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो ।
क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम टी-२० महिला विश्वकप र एकदिवसीय विश्वकपका लागि ग्लोबल क्वालिफायरमा छानिनेछ ।