• २०८१ बैशाख १४ शुक्रबार

सार्कको डीएनएमा मानवको आयु बढाउने रहस्य लुकेको वैज्ञानिकहरूको दाबी

kharibot

काठमाडौँ । विशाल र अद्भुद जीनोम भएका कारण सार्कहरूको अध्ययनबाट मानवको आयु बढाउन साकिने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

सेता सार्कहरूको डीएनए अध्ययनको क्रममा यस्ता परिवर्तनहरू भेटिएको छ जसले गर्दा यी जीवहरूलाई क्यान्सर र उमेरसँगै हुने अन्य रोगहरूबाट जोगाउनुका साथै घाउ पनि चाडै निको पार्छ ।

विशाल सेता सार्कहरूले विकासक्रममा आफ्नो जीनोमलाई स्थिर र रोगप्रतिरोधात्मक बनाउन सफल भएका छन् । यदि उनीहरूको प्रजातिको विकासक्रमलाई सुक्ष्मरुपले बुझ्न सकियो भने मानवमा पनि गम्भीर रोगहरूबाट जीवनरक्षा गर्ने उपचारपद्धतिहरू पत्ता लगाउन सम्भव हुने विज्ञहरू बताउँछन् ।

अस्थिर जीनोमका कारण मानवमा गम्भीर रोगहरू लाग्ने गर्छन् । तर सार्कहरूमा भने प्रकृतिप्रदत्त गुणहरूले गर्दा उनीहरूमा जीनोमको स्थिरता भेटिएको वैज्ञानिकहरूले बताएका छन् । सार्कहरूबाट कसरी क्यान्सरसँग जुध्न सकिन्छ र कसरी उमेरसँगै आउने रोगहरू परास्त गर्न सकिन्छ भनेर अझै धेरै कुरा सिक्न बाँकी रहेको वैज्ञानिकहरूले संचारमाध्यमलाई जानकारी दिएका छन् । सार्कको विकासक्रमबारे थप अनुसन्धान गर्दै जाँदा यस्ता रहस्य खुल्ने उनीहरूको विश्वास रहेको छ।

सार्कहरूको जीनोम मानिसको भन्दा डेढ गुणा ठूलो भएको पनि खुलेको छ । उनीहरूको जेनेटिक कोडमा झन्डै २.६३ अर्ब 'बेस पेयर' भटिएको छ जसलाई डीएनएको केमिकल इकाई मानिन्छ । त्यस्तै सार्कहरूको डीएनएमा २४,५०० प्रोटिनयुक्त जिनहरू भेटिएको छ । मानवमा भने औसतमा १९,००० देखि २०,००० सम्म हुने गर्छ ।

यी विशाल आकारका सेता सार्कहरू २० फिट लामा हुन्छन् भने उनीहरूको वजन ३ टनको हाराहारीमा हुन्छ । पृथ्वीमा यिनिहरूको अस्तित्व १ करोड ६० लाख वर्षअगाडिबाट रहँदै आएको छ । समयक्रममा सेता सार्कहरूको जिनमा धेरै परिवर्तनहरू आएका छन् जसले गर्दा उनीहरूको जीनोममा स्थिरता भेटिन्छ ।

सार्कहरूमा घाउ चाडै निको हुने गर्छ भने उनीहरूमा गम्भीर रोगहरूबाट पनि निको हुने अद्भुद गुण हुन्छ । 

मानिसहरूको विकासक्रममा भने लामो समयदेखि खराब डीएनए संचय हुँदै आएकाले क्यानसरजस्ता उमेरसँगै आउने रोगहरूसँग जुध्न मानिस कमजोर हुने गर्छन् । यस अध्ययनको प्रतिवेदन 'प्रोसिडिङ्स् अफ द नेशनल एकेडेमी अफ साइन्सेस' मा प्रकाशित छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै