• २०८१ बैशाख १७ सोमबार

इजरायली कम्पनीले विश्वको पहिलो निजी लगानीको अन्तरिक्ष यान 'बेयरसिट' अन्तरिक्षमा पठायो

kharibot

इजरायलले पहिलोपटक चन्द्रमामा अन्तरिक्ष यान पठाएको छ । अमेरिकाको फ्लोरिडा राज्यमा रहेको केनेडी स्पेस सेन्टरबाट चन्द्रमाको लागि स्पेस एक्स कम्पनिको फाल्कन नाइन रकेट प्रक्षेपण गरिएको थियो । उक्त रकेटमा रहेको इजरायली रोबोटिक ल्याण्डर बेयरसिटले करीब दुई महिनापछि चन्द्रमाको सतहमा अवतरण गर्ने बताइएको छ । यदि बेयरसिटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेमा इजरायल रुस, अमेरिका र चीनपछि चन्द्रमामा अन्तरिक्ष यानको सफल अवतरण गर्ने चौथो मुलुक बन्ने छ । बेयरसीटलाई इजरायली संस्था स्पेस आइएलले निर्माण गरेको हो । यो यान निजी क्षेत्रको लगानीबाट बनेर चन्द्रमामा पठाइएको पहिलो अन्तरिक्ष यान पनि हो । ५८५ किलो वजन रहेको बेयरसिटल एउटा सामान्य वासिंग मेसिनको आकारको रहेको छ ।

सन् २०११मा स्थापित गरिएको स्पेस आइएलले चन्द्रमामा यान पठाउन आयोजना गरिएको गुगल लुनर एक्स प्राइजमा सहभागी भएपछि बेयरसीटको निर्माण गरेको थियो । यो प्रतिस्पर्धामा कसैले पनि तोकिएको समयमा आफ्नो प्रोजेक्ट पूरा नगरे पनि स्पेस आइएलले भने आफ्नो प्रोजेक्टलाइ निरन्तरता दिंदै बेयरसिटको सफल निर्माण गरेको थियो ।

बेयरसिट २०१९ अप्रिल ४ का दिन चन्द्रमाको उत्तरी ध्रुवमा रहेको मारे सरनीटाटिस क्षेत्रमा अवतरण गरिने योजना रहेको छ । वैज्ञानिकहरूकाअनुसार यस क्षेत्रमा चुम्बकीय शक्तिले केही असाधारण व्यवहार गर्ने गर्छ । चन्द्रमा आफैंले चुम्बकीय क्षेत्र उत्पन्न नगरे पनि यसका सतहमा रहेका केही चट्टानहरूमा चुम्बकीय शक्ति रहेको छ । बेयरसिटले आफू अवतरण गरेको चन्द्रमाको सतहको फोटो खिचेर पठाउने तथा त्यहाँको चुम्बकीय क्षेत्रहरूको मापन गर्ने बताइएको छ । उक्त यान केवल दुई दिनसम्म मात्र संचालनमा आएपछि बन्द हुने छ ।

यस यानमा राखिएका डिजिटल फाइलहरूमा बाइबल, बालबालिकाका चित्रकला, इजरायलको राष्ट्रिय गान, राष्ट्रिय झन्डा र होलोकास्टमा बाँचेका एक व्यक्तिको संस्मरण रहेको बताइएको छ ।

बेयरसिटलाई स्पेस आइएलले इजरायल एरोस्पेस इन्डसट्रिजसंगको साझेदारीमा करिब दश करोड डलरमा निर्माण गरेको थियो । जून यसअघि चन्द्रमामा पठाइएका यानहरू भन्दा निकै कम लागत हो । तर कम बजेटमा निर्माण गरिएको यो यानमा भने अन्य अन्तरिक्ष यानहरूमा जस्तै कुनै ब्याकअप प्रणाली छैन । त्यसैले यदि कुनै एउटा मुख्य प्रणालीले काम गर्न नसक्ने भएमा पूरै मिसन असफल हुने खतरा आउन सक्ने वैज्ञानिकहरूले बताएका छन् । तर स्पेस आइएलले यस मिसनको उदेश्य चन्द्रमामा सफलतापूर्वक यान अवतरण गर्नु मात्र नभएर इजरायल एवम् संसारभरिका नयाँ पिंढीलाई अन्तरिक्ष अध्ययनको क्षेत्रमा आकर्षित गर्नु पनि रहेको बताएको छ ।

तर यदि यो मिसन सफल भएमा यसले निकै कम लागतमा अन्तरिक्षमा यानहरू पठाउने र साना मुलुकहरूलाई पनि अन्तरिक्ष अध्ययन र अनुसन्धानमा प्रोत्साहन गर्ने वैज्ञानिकहरूले आशा गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नटेन्याहूले इजरायलमा रहेको कन्ट्रोल सेन्टरबाट यानको प्रक्षेपणको अवलोकन गरेका थिए । नासाले यस मिशनलाई एक ऐतिहासिक उबलब्धि भनेको छ भने चन्द्रमामा अवतरण गरिसकेका अमेरिकी अन्तरिक्ष यात्री बज आलड्रिनले पनि बधाई दिएका छन् ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै