• २०८१ बैशाख १९ बुधबार

नोकियाले ल्यायो ५ वटा रियर क्यामेरायुक्त विश्वकै पहिलो समार्टफोन

kharibot

फोनको पछाडिको भागमा पाँचवटा क्यामेरा लेन्स भएको नोकियाको नयाँ स्मार्टफोन नोकिया नाइन पियोर भ्यु आइतबार लन्च गरिएको छ । फिनल्याण्डको स्मार्टफोन निर्माता कम्पनि एचएमडी ग्लोबलले आइतबार स्पेनको बार्सेलोनामा जारी मोबाइल वोर्ल्ड कंग्रेसमा उक्त स्मार्टफोन लन्च गरेको हो । यो फोन पछाडिको भागमा पाँचवटा क्यामेरा लेन्स भएको विश्वको पहिलो फोन हो । मार्चदेखि बजारमा उपलब्ध हुने बताइएको यस फोनको ग्लोबल मुल्य ६९९ डलर राखिएको एचएमडी ग्लोबलले जनाएको छ ।

कम्पनिले दिएको जानकारीअनुसार फोनका पाँचैवटा क्यामेराहरूले एकै साथमा फोटो खिचेर १२ मेगापिक्सेलको एउटा फोटोमा संयोजन गर्नेछन् । फोनको क्यामेराका लागि १२ मेगापिक्सेलका तीनवटा मोनोक्रोम्याटिक सेन्सर र दुईवटा आरबिजी सेन्सर रहेका छन्, जुन प्रत्यक फोटो खिच्ने क्रममा एकैचोटी सक्रिय हुने छन् । त्यसैगरी फोनले डिजिटल नेगेटिभ फर्म्याटमा पनि फोटो खिच्ने छ, जसलाई फोनमा रहेको एडोब लाइटरुम एपमा एडिट गर्न सकिनेछ । भिडियो खिच्न भने केवल एउटा लेन्सको प्रयोग हुनेछ जसले फोर के गुणस्तरको भिडियो खिच्ने छ । त्यस्तै फोनको अगाडि भने २० मेगापिक्सेलको क्यामेरा रहेको छ ।

फोटो खिच्नका लागि अप्टिकल इमेज स्टेबिलाइजेसन नभए पनि भिडियोको लागि भने इलेकट्रोनिक इमेज स्टेबिलाइजेसन उपलब्ध रहेको छ । फोनको स्क्रीन ५.९९ इन्च रहेको छ भने फोनमा क्वाल्कम स्न्यापड्रयागन एटफोरफाइब प्रोसेसर प्रयोग भएको छ । त्यस्तै फोनमा एण्ड्रोइड पाइ अपरेटिंग सिस्टम रहेको छ । त्यसैगरी फोनमा वायरलेस चार्जिंग सिस्टम र अन्डर डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि रहेका छन् ।  

त्यसैगरी मोबाइल वर्ल्ड कांग्रेसमा नोकियाका अन्य चार स्मार्टफोनहरू नोकिया फोर पोइन्ट टु, नोकिया थ्री पोइन्ट टु, नोकिया वान प्लस र नोकिया टु हन्ड्रेड वान पनि लन्च गरिएका छन् । नोकिया टु हन्ड्रेड वानलाई कम्पनिले इन्टरनेट चल्ने नोकियाको सबैभन्दा सस्तो फोन भनेको छ, जसको ग्लोबल मूल्य ३५ डलर राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै