काठमाडौँ । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ ।
नेपालले दिएको ११७ रनको लक्ष्य पछाएको कुवेत २० ओभरमा ९ विकेट गुमाउदै ८६ रन मात्र बनाएपछि ३० रनले नेपालले खेल जितेको हो ।
कुवेतका लागि कप्तान मर्याम ओमारले सर्वाधिक २९ रन बनाएकी थिइन् भने प्रियादा मुरलीले १४, सब्रीन जाकी र मरियाम्मा हैदरले १२-१२ रन बनाएका थिए ।
नेपाली बलरहरुले किफायती बलिंग गर्दै कुवेतलाई रोकेका थिए । नेपालका बलर करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् । उनले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिएकी हुन् ।
त्यस्तै कप्तान रुबिना छेत्री बेलबासेले पनि ३ विकेट लिएकी छन् । रुबिनाले अन्तिम ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएर ह्याट्रिक समेत गरेकी छन् ।
उनले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी हुन् । त्यस्तै नेरी थापा र कविता कुँवरले एक एक विकेट लिएका छन् ।
यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ११६ रन बनाएको थियो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक अविजित २८ रन बनाएकी छन् भने ओपनर काजल श्रेष्ठले १८ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै नेरी थापाले १९, रुबिना छेत्री बेलबासेले २२, इन्दु बर्मा र रोमा थापाले ७-७ रनको योगदान दिएका थिए ।
कुवेतका बलर मर्याम ओमारले २ विकेट लिएकी थिइन् भने प्रियादा मुरली, अन्न तारिक, मदीना जुबेरीले एक एक विकेट लिएका थिए ।
नेपालको सम्भावना सकियो :
अहिलेको रनरेटको अवस्था हेर्दा नेपालको शिर्ष स्थानमा आउने सम्भावना भने लगभग सकिएको छ ।
अहिले आयोजक थाइल्याण्ड ५ खेलमा ५ खेलनै जितेर १० अंकसहित ३.४४९ रन रेटका साथ् शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै अन्तिम खेल खेलेपछि ६ खेलमा ५ खेल जितेर नेपाल पनि १० अंकसहित ०.५६४ रनरेटसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै युएईले ५ खेलमा ४ जितसहित ८ अंक हासिल गर्दै १.८४३ रनरेटका साथ् तेस्रो स्थानमा रहेको छ ।
यस स्थितिमा अन्तिम खेलमा थाइल्याण्ड र युएईबीचको खेलमा थाइल्याण्ड विजयी भएमा थाइल्याण्ड सिधै छनौट हुने छ । तर युएईले जितेमा भने फेरी थाइल्याण्ड र युएईबीचको रनरेटकै आधारआमा दुई मध्ये एक देश छनौट हुने छन् ।
नेपालको युएईको भन्दा कम रनरेट भएकाले अब नेपालको शिर्ष स्थानमा रहदै छनौट हुने सम्भावना सकिएको छ ।