• २०८१ बैशाख १५ शनिबार

वर्षाले आठौँ राष्ट्रिय खेलकूदको पूर्वाधार निर्माणमा अवरोध

kharibot

बाँके । प्रतिकूल मौसमका कारण आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणमा अवरोध भएको छ ।

माघ र फागुन महीनामा पटक–पटक भएको बर्सातले लक्ष्यअनुसार निर्माणको काम हुन नसकेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताए । नेपालगञ्जमा मङ्गलबार रातिदेखि बुधबार दिनभर वर्षा भएको थियो ।

बर्सातका कारण प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रङ्गशालाको निर्माणमा अवरोध भएको उनले बताए । “माघ महीनामा पटक–पटक गरी नौ दिनसम्म काम हुन सकेन, अहिले पनि पानीले समस्या गरेको छ,” अध्यक्ष वलीले भने, “बर्सातका कारण फिल्डको काममा अवरोध हुन पुगेको छ ।”

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरेर निर्माण भइरहेका अधिकांश भौतिक संरचनाको कार्य करीब सम्पन्न भए पनि नेपालगञ्ज रङ्गशाला र दाङको बेलझुण्डी रङ्गशालाको निर्माण कार्य अझै बाँकी रहेको उनको भनाइ छ ।

नेपालगञ्ज रङ्गशालामा दुबो रोप्ने र प्याराफिट निर्माण कार्य भइरहेको छ । फागुन मसान्तसम्म ९० प्रतिशत काम पूरा हुने अध्यक्ष वलीले दाबी गरे । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ भित्रै सम्पन्न गर्ने गरी भौतिक पूर्वाधारको तयारीदेखि खेलाडी छनोट कार्यलाई तीव्र पारिएको पनि उनले बताए ।

राष्ट्रिय खेलकूदको प्रतीक चिह्न नेपालगञ्जमा

प्रदेश ५ को नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको प्रतीक चिह्न (मस्कट) नेपालगञ्ज ल्याइएको छ ।

इटहरीको भद्रकाली कला कुञ्जले तयार गरी ल्याइएको मस्कटमा हात्तीको छावाको चित्र अङ्कित रहेको छ । सिमेन्ट र फाइबरको प्रयोग गरी तयार भएको मस्कट डेढ लाख रुपैयाँको लागतमा तयार भएको भद्रकाली कला कुञ्जका व्यवस्थापक हरि पौडेलले जानकारी दिए ।

मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष वलीले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय खेलकूद प्रतियोगिताकोे मस्कटमा हात्तीको छावाकोे चित्र अङ्कित गरेको बताए ।

वलीका अनुसार काठमाडौँमा भएको पहिलो राष्ट्रिय खेलकूद प्रतियोगितामा बाघ प्रजातिको हाब्रे, पोखरामा भएको दोस्रोमा डाँफे, वीरगञ्जमा भएको तेस्रोमा गैँडा, नेपालगञ्जमा भएको चौथोमा कृष्णसार, काठमाडौँमा भएको पाँचौँमा रेडपाण्डा, धनगढीमा भएको छैठौँमा बाह्रसिङ्गा र पूर्वाञ्चलमा भएको सातौँमा अर्नालाई प्रतियोगिताको मस्कटका रुपमा प्रयोगमा ल्याइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै