• २०८१ बैशाख १७ सोमबार

खतरनाक मोमो च्यालेन्ज, जसले बालबालिकालाई बनाउँदै छ शिकार 

kharibot

मेक्सिको । मोमो नामक हाल भाइरल भइरहेको सुसाइड च्यालेन्जले विश्वभरका अभिभावकको चिन्ता निकै बढाएको छ । ह्वाट्सएपको माध्यमबाट बालबालिकासम्म पुगेको यो च्यालेन्जका कारण हालैमा एक १२ वर्षीया बालिकाको मृत्यु भएको बताइएको छ । पश्चिमी मुलुकका प्रहरीहरुले यस गेमलाई लिएर आफ्नो चिन्ता व्यक्त गरेका छन् । 

के हो मोमो च्यालेन्ज र यो किन खतरापूर्ण छ ? 

मोमो एक दुःख दिने ह्वाट्सएप सुसाइड गेम हो । यो गेमको कारण १२ वर्षीया एक बालिकाको मृत्यु भएको आरोप लगाइएको छ । मेक्सिकोका कम्प्युटर क्राइम इन्भेस्टिगेसन युनिटका अनुसार यो गेमको सुरुवात फेसबुकमा भएको थियो । यसमा सदस्यहरुलाई अपरिचित नम्बरसँग सम्पर्क गर्न आदेश दिइन्छ । केही प्रयोगकर्ताका अनुसार मोमोले डरलाग्दा फोटोका साथ उत्तर पठाउँथ्यो र गेमद्वारा दिइएका च्यालेन्ज फलो गर्न प्लेयरलाई धम्की दिन्थ्यो । 

यद्यपि, कुन नम्बरबाट यो सञ्चालित छ भन्ने चाहिँ अहिलेसम्म थाहा पाउन सकिएको छैन । तर, फेक नम्बरलाई अनलाइनमा पोस्ट गरिएको बताइएको छ । मोमो च्यालेन्जको त्रास यति धेरै बढेको छ कि पश्चिमी देशका केही विद्यालयले यो गेमको बारेमा चेतावनी दिँदै अभिभावकलाई आफ्ना बालबालिकाको ध्यान दिन आग्रह गरेका छन् । 

एक प्रसिद्ध न्युज पोर्टलका अनुसार मोमो एक प्रसिद्ध सोसल मिडिया अकाउन्ट हो जुन ह्वाट्सएप, फेसबुक र युट्युबमा पनि छ । 
यसमा एक खेलौना पुतलीको तस्वीर छ जसको आँखा ठूलो छ भने आकृति डरलाग्दो छ । यसको माध्यमले बालबालिकाको ध्यान आकर्षित गर्न खोजिएको छ । 

मोमोको तस्वीर यसरी बनाइयो 

यो च्यालेन्जमा जुन ठूलो आँखा भएको पुतलीको तस्वीरको प्रयोग गरिएको छ, यसको रचना जापानी कलाकार मिदोरी हयाशीले गरेकी हुन् । उनका अनुसार यो गेमको लागि तयार गरिएको होइन र यसको उक्त गेमसँग कुनै सम्बन्ध छैन । यस तस्वीरलाई मदर बर्ड बाइ लिंक फ्याक्ट्री भनिन्छ । 

यसबाट कसरी बच्ने 

साइबर एक्सपर्टहरुका अनुसार मोमो च्यालेन्जसम्बन्धी कुनै पनि आमन्त्रण स्वीकार नगरौं । एक्सपर्टहरुले आफ्नो इमेल र अकाउन्ट सुरक्षित राख्न र पासवर्ड परिवर्तन गर्न पनि सुझाएका छन् । यदि कुनै अपरिचित नम्बरबाट मोमो च्यालेन्जमा सहभागी हुन आमन्त्रणा आयो भने उक्त नम्बरलाई तुरुन्त ब्लक गर्न बताइएको छ । 

अभिभावकका लागि 

आफ्ना बालबालिकालाई मोमो च्यालेन्ज अस्वीकार गर्न लगाऔं । आफ्ना बालबालिकालाई यस्ता अपरिचित अकाउन्टबाट निम्तिन सक्ने समस्याबारे सजग गरौं । उनीहरुको भावनालाई बुझौं र उनीहरुले तपाईंलाई आफ्नो मन मस्तिष्कमा चलिरहेका सबै कुरा निर्धक्क भन्न सक्छन् भन्ने विश्वास दिलाऔं । 
नवभारत टाइम्सबाट भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै