ओखलढुंगा । छोरीलाई बलात्कार गर्ने बाबुलाई ओखलढुंगा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
ओखलढुंगाको सुनकोसी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा सजाय सुनाएको हो ।
ओखलढुंगा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालका अनुसार हाडनाता करणी तर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा सजाय १२ वर्ष ६ महिनागरी दुई कसुरमा ३७ वर्ष ६ महिना सजाय तोकिएको हो ।
मुलुकी अपराध संहिता कार्यन्वयनमा आएपछि कसुर निर्धारण गरेपछि सजाय निर्धारण गरेर यति धेरै वर्ष कैद फैसला भएको पहिलो मुद्दा यही भएको श्रेस्तेदार पौड्यालले जानकारी दिए। प्रहरी र अदालतले पीडितको पहिचान खुल्ने भएकाले पीडकको नाम सार्वजनिक गरेको छैन।
पीडक ०७५ असोज १३ गते १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए। उनी विरुद्ध कात्तिक ८ गते ओखलढुंगा जिल्ला अदालतमा जवरजस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता भएको थियो । यसअघि पनि पीडक उक्त मुद्दामा पुर्पक्षका लागि कारागारमा थिए ।