• २०८१ बैशाख १५ शनिबार

होली खेल्दा मोबाइलमा पानी पस्यो ? जोगाउन यस्तो तरिका अपनाउनुहोस् 

kharibot

काठमाडौं । होलीको उत्सव सबैलाई मन पर्छ । रङ र पानीविना होलीको कल्पना पनि हुन सक्दैन । होली खेल्दा पानीमा भिज्नु र विभिन्न रङमा रंगिनुको मजा नै छुट्टै छ । साथै, होली खेल्दै गरेको भिडियो लाइभ गर्नु, सुन्दर तस्वीरहरु लिनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु अहिलेको ट्रेन्ड नै बनेको छ । यस्तोमा सतर्क हुँदाहुँदै फोनमा पानी पसेर बिग्रिने सम्भावना पनि त्यतिकै रहन्छ । 

यदि पानी पसिहाल्यो भने फोनलाई कसरी जोगाउने त ? यसका लागि यस्ता उपाय अपनाउन सकिन्छ :

१. यदि तपाईंको मोबाइल पानीमा पर्यो र भिज्यो भने त्यसलाई तत्काल स्विचअफ गर्नुहोस् । भिजेको फोन प्रयोग गर्नु खतरनाक हुन सक्छ । यसले मोबाइलको सर्किटमा असर पर्न सक्छ र मोबाइल बिग्रिने सम्भावना रहन्छ । 

२. फोनलाई अफ गरेपछि नरम रुमाल, तौली, टिस्यु पेपर आदिमा बेर्नुपर्छ । यसले फोनमा भएको पानी सोस्छ । त्यसपछि मोबाइलमा भएको सिम कार्ड र मेमोरी कार्डलाई निकालेर झट्कारेमा भित्र रहेको पानी बाहिर आउँछ । 

३. त्यसपछि फोनलाई चामलको बोरा अथवा बट्टाको बीचमा राखेर बन्द गरिदिनुपर्छ । चामलले फोनमा रहेको सबै पानी सोस्छ । त्यसपछि करीब २४ घण्टापछि फोन निकाल्नु राम्रो हुन्छ । 

४. फोनलाई सुकाउन पछाडिको भाग खोलेर घाममा सुकाउन पनि सकिन्छ । तर, घाममा सुकाउँदा धेरै कडा घाममा सुकाउँदा मोबाइलको ब्याट्री र कलरमा असर पर्न सक्ने भएकाले ध्यान दिनु जरुरी छ । 

५. फोन अन गरेपछि यसका डाटाको ब्याकअप राख्नुपर्छ । अन्यथा फोन बिग्रेर सबै डाटा सधैंको लागि नष्ट हुन पनि सक्छ । 

कहिल्यै यस्तो नगरौं 

१. यदि फोन पानीले भिजेको छ वारेन्टी पिरियडमा छ भने तोकिएको सर्विस सेन्टरमा लगेर बनाउन दिनु उचित हुन्छ । तर, बनाउन दिँदा झूटो बोल्नु भने हुँदैन । किनकि, फोन खोल्ने बित्तिकै भिजेर खराब भएको खुरा सजिलै थाहा हुन्छ र तपाईंले वारेन्टी नपाउन पनि सक्नुहुन्छ । 

२. पानीले भिजेको फोनलाई हेयर ड्रायरले सुकाउन हुँदैन । हेयरड्रायरको हावा धेरै तातो हुन्छ र यसले फोनलाई बिगार्न सक्छ । यसबाहेक ओभन र रेडिएटर, हिटर आदिको नजिक नराखौं । 

३. फोन भिजेपछि चार्ज नगर्नुहोस् । यसले सर्ट सर्किट हुन सक्छ र डिभाइसमा असर पर्न सक्छ । यसबाहेक फोनमा कुनै चुच्चो वस्तु घुसाउने कोसिस पनि नगर्नुहोस् । यसले पानी झन् भित्र पस्न सक्छ । 

यदि माथि उल्लिखित कुरालाई ध्यान दिने हो भने फोन भिजे पनि यसबाट बच्न सकिन्छ । इलेक्ट्रोनिक डिभाइसलाई पानीबाट टाढा राख्नु नै सबैभन्दा राम्रो हो । अन्यथा डिभाइस बिग्रिने धेरै सम्भावना रहन्छ । तथापि, फोनमा पानी परिहाल्यो भने यी तरिका अपनाएर होलीको मजा पनि लिन सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय