• २०८१ बैशाख १५ शनिबार

मध्यमा परिक्रमा पथभित्र आज होली मनाइँदै

kharibot

महोत्तरी।  प्राचीन मिथिला संस्कृतिको मुख्य केन्द्र जनकपुरधामसहित मिथिला मध्यमा परिक्रमा पथ (वृत्त) भित्र आज होली (होरी, फागु) पर्व मनाइँदै छ । 

मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तर्गृह (पञ्चकोशी) परिक्रमा गरेको भोलिपल्ट होली मनाइने पुरानो स्थापित चलनअनुसार मध्यमा परिक्रमा पथभित्र आज होली मनाइरहेको हो । माध्यमिकी परिक्रमाको अन्तिम कडी अन्तर्गृह परिक्रमा सोमबार गरिएको थियो ।

जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर नेपाल र भारतको गरी एक सय ३३ किलोमिटर वृत्तभित्र १५ दिने मिथिला मध्यमा परिक्रमाको परम्परा छ ।

फागुन औँसीका दिन सुरु गरिने यो यात्रा १६औँ दिन बिहान अन्तर्गृह परिक्रमासँगै सम्पन्न भएपछि परिक्रमा पथभित्र होलीको तयारी सुरु हुन्छ ।

परिक्रमामा सहभागीहरु घर फर्केर होली मनाउने परम्परा बसेपछि मिथिलाको यो क्षेत्रभित्र यसपालिको होली आज मनाइँदै गरिएको हो ।

मध्यमा परिक्रमा पथभित्र जनकपुरधाम, जलेश्वर, महेन्द्रनगर, धनुषाधाम, लोहारपट्टि र मटिहानीसहितका नगरक्षेत्र पर्दछन् । यसबाहेक भङ्गाहा, बलवा, पिपरा, महोत्तरीसहितका स्थानीय तह यसै वृत्तभित्र छन् ।

यस क्षेत्रका मुख्य नगर केन्द्रमा आज होली पर्वको रौनक छ । यसअघि गत आइतबार पर्वते मूलका हिन्दूले र मधेसका साधुसन्त, मठ परम्पराका अनुयायी र मधेशका विभिन्न ठाउँका बासिन्दा सर्वसाधारणले सोमबार नै होली मनाइसकेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै