• २०८१ बैशाख १८ मंगलबार

कर्णाली करिडोरको ३१ किमीमा यातायात सञ्चालन

kharibot

फाइल तस्विर । 

बाजुरा / नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा बिहीबारबाट सञ्चालनमा आएपछि जिल्लाका चार स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक बिहीबारदेखि सञ्चालनमा आएको छ । 

सडक सञ्चालनमा आएसँगै बाजुराका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका सडक सञ्जालमा जोडिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । त्यस्तै छिमेकी जिल्ला कालिकोट र मुग जिल्लाका स्थानीयवासीलाई समेत सहज भएको प्रजिअ बरालले बताए । सडक सञ्जाल जोडिएपछि बाजुराको सबैभन्दा दुर्गम हिमाली गाउँपालिकासम्म यातायातको पहुँच पुग्नुका साथै त्यस क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहज भएको छ । 

प्रमुख जिल्ला अधिकारी बरालले भने , “नेपाली सेनाले ट्र्याक खोलेलगत्तै यातायात सञ्चालनमा ल्याइएको हो ।” जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलको आग्रहमा सडक सञ्चालनमा ल्याइएको कर्णाली करिडोरको तिथिचौर क्याम्पका उपसेनानी शङ्कर सिलवाले जानकारी दिए । 

नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्ला जिल्लामा रहेको छ । सेनाले सडक निर्माणको जिम्मा विसं २०७१ चैतमा लिएको थियो । अहिलेसम्म १०७ किलोमिटरमा भइरहेको काममध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उपसेनानी सिलवाले जानकारी दिए । बाजुरा र हुम्लाको बीचमा रहेको कवाडी नदीमा पुल बनाउने काम भइरहेको र त्यो पुल सम्पन्न हुनेबित्तिकै सडकले हुम्ला छुने सेनाले जनाएको छ । अब यातायातले नछोएको जिल्ला नेपालमा हुम्ला मात्र रहेको छ । 

अहिलेलाई यो सडकमा जिप र मालबाहक ट्रक मात्र सञ्चालनमा ल्याउने जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । गाउँपालिकाको आग्रहमा सेनाले सञ्चालनका लागि अनुमति दिएको शाहीको भनाइ छ । सडक विभागलाई सेनाले हस्तान्तरण नगर्दै सीमित सवारीसाधन सञ्चालनका लागि सडक सञ्चालनमा ल्याएको सेनाले जनाएको छ । सहजै गाउँमा यातायातका साधन पुगेपछि जटिल खालका उपचार गर्नसमेत सहज भएको स्थानीयवासीको भनाइ छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै