• २०८१ बैशाख १७ सोमबार

कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी

kharibot

काठमाडौँ । राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ ।

कूल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे दुई किमीमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ ।

एक दशक पहिले सडक निर्माण सुरु भएकामा कठिन भूगोलका कारण अझैसम्म ट्र्याक नै खोल्न बाँकी रहेको उत्तर–दक्षिण करिडोर निर्देशनालयले जनाएको छ ।

कडा चट्टान भएका खण्डमा ‘ब्लाष्टिङ’ पनि लामो र झन्झटिलो प्रक्रिया रहेको योजनाले जनाएको छ ।

ब्लाष्टिङका लागि आवश्यक सामग्री सेनाबाट लिनुपर्ने हुँदा समय लाग्ने गरेको हिल्सा सिमिकोट सडक योजनाका प्रमुख वीरेन्द्रबहादुर चन्दले बताए ।  उनले भने , “रकम भुक्तानी गरेर ‘अर्डर’ गरेपछि पनि नेपालगञ्ज हुँदै निर्माणस्थलमा आइपुग्न लामोे प्रक्रिया हुने गरेको छ ।” सिमिकोटभन्दा माथि मौसमका कारण चार महिना मात्रै काम गर्न सकिने उनले बताए ।

वर्षभरमा सात-आठ महिनासम्म हिउँले ढाकिने हुने हुँदा त्योभन्दाबाहेकको समयमा मात्र निर्माण हुने गरेको उनले बताए । कतिपय खण्डमा भने निर्माण व्यवसायीका कारणले ढिलाइ भएको पनि छ । ढिलाइका कारण निर्माण सामग्री उपलब्ध हुन कठिन हुनु र भौगोलिक कठिनाइ नै प्रमुख छन् । माथिल्लो भागमा सामान पहिले चीन भएर आउने गरेकामा कोभिडका कारण नाका बन्द थियो ।

त्यसले गर्दा पनि विगत वर्षहरुमा निर्माणले गति लिन नसकेको उनले बताए । निर्माणाधीन खण्डमध्ये दुईदेखि साढे दुई किमी सडक यस वर्ष सेनाबाट हस्तान्तरण हुने प्रमुख चन्दले बताए ।

सेनाले जिम्मेवारी लिएको खण्डबाहेक अरुतिर ट्र्याक खोल्न ठेक्का भइसकेको छ । माथिल्लो क्षेत्रमा ट्र्याक पनि खुलिसकेको र हुम्लाभन्दा तल्लो क्षेत्रमा मात्रै दुई ठेक्का बाँकी रहेको प्रमुख चन्दले बताए । त्यसमा नै अलिअलि कम ब्लाष्टिङ गर्नुपर्ने हुँदा काम अघि बढेको छैन । त्यो खण्ड पनि सेनालाई दिने कुरा भइरहेको उनले बताए ।

उनले भने, “सरिसल्ला सिमिकोट खण्डमा ठाउँठाउँमा गरेर दुईदेखि साढे दुई किमी बाँकी छ ।” स्तरोन्नतिका लागि माथिल्लो भागमा ठेक्का चालु रहेको उनले जानकारी दिए ।

सरिसल्लाबाट सिमिकोट खण्डमा ट्र्याक नै खोल्न बाँकी रहेको छ । खुलालुदेखि सरिसल्लासम्म स्तरोन्नतिको काम भइरहेको योजनाले जनाएको छ । यस वर्ष पनि स्तरोन्नतिका लागि ठेक्का हुने उनले बताए । यस वर्ष ग्राभेल गरिने योजनाको तयारी छ । अहिलेसम्म खुलालु–सरिसल्ला एक सय २२ किमी सडकमध्ये ३५ किमी सडक चौडा गर्ने काम भइसकेको छ ।

हिल्सा–सिमिकोट ९५ किमी र सिमिकोट–सरिसल्ला सडक ५० किमीमध्ये ३८ किमी ट्र्याक खोलिसकिएको योजनाले जनाएको छ । सरिसल्ला सडक खण्डको लाली बगरदेखि छारे सडक खण्डको ११ किमी सेनालाई जिम्मेवारी दिइएको थियो । सिमिकोटबाट स्याम्ने साढे चार किमी खण्डमा स्थानीयले मुआब्जा माग गरेर केही विवाद सिर्जना भएको प्रमुख चन्दले बताए ।

उनले भने, “अहिले त्यो समााधन भएर काम भइरहेको छ ।”योजनामा हालसम्मको भौतिक प्रगति २४ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको छ ।

हालसम्म एक अर्ब ३६ करोड खर्च भइसकेको छ भने हालसम्मको ठेक्का रकम रु दुई अर्ब ३० करोड ९२ लाख रहेको छ । सडकको २० ठेक्कामध्ये गत आवमा तीन सम्पन्न भएको थियो भने बाँकी एउटा ठेक्कामा सुस्त गतिमा काम भइरहेको छ । सरकारले विसं २०६९/७० मा योजना शुरु गरेको थियो भने आव २०८३/८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

योजनाको कूल लागत रु छ अर्ब ६६ करोड १९ लाख रहेको छ । सरकारले कालिकोटको खुलालुदेखि सिमिकोट हुँदै हिल्सासम्म कालोपत्र सडक निर्माण गरी कालिकोट, बाजुरा र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य लिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै