घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आइतबारदेखि ब्याडमिन्टन खेल शुरु भएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले उक्त खेलको उद्घाटन गरे । उनले खेल राष्ट्रको चिनारी भएको बताए । “खेलमा राम्रो गर्न सके देशलाई विश्वमा चिनाउन राम्रो माध्यम बन्नसक्छ”, उनले भने, “अन्य विकासका पूर्वाधार जस्तै खेलकूदमा पनि अझै धेरै पूर्वाधार तयार पार्नु पर्नेछ ।” खेललाई युवाका निम्ति बाँच्ने आधार बनाउनुपर्ने उनको भनाइ थियो ।
नेपाल ब्याड्मिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीलगायतले उद्घाटन कार्यक्रममा सफलताको कामना गरेका थिए ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहेको छ ।
सेना, एपिएफ, सुदूरपश्चिम र प्रदेश १ अन्तिम चारमा
त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम ईभेन्ट्समा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।
नेपाली सेनाको त्रिभुवन आर्मीले प्रतियोगिताको पहिलो दिन आईतबार कर्णाली प्रदेशलाई २ – ० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अव सेनाले सुदूरपश्चि प्रदेश संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमले प्रदेश २ लाई २ – ० को नै जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो ।
यस्तै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश ५ लाई २ – ० ले पाखा लगाउँदै प्रदेश १ संगको भेट पक्का गरेको हो । प्रदेश १ ले गण्डकी प्रदेशलाई २ – ० को जित निकाल्दै सेमिमा प्रवशे गरेको हो ।