• २०८१ बैशाख १७ सोमबार

कवितामा विचार मुटु हो भने कला सुन्दरता हो: सुवास संगम राई

kharibot

सोलुखुम्बुका कवि सुवास संगम राई भावनामा हराउन भन्दा पनि वैचारिक र दार्शनिकतामा डुबुल्की मारेर कविता सिर्जना गर्न रुचाउँछन् । अहिले नयाँ कवितासंग्रह प्रकाशनको तयारीमा रहेका उनका यसअघि ‘यात्रामा छु आफैं’ (गीतिसंग्रह), ‘सुदुर लालिमा’ (गजलसंग्रह), ‘लिम्चिङबुङ’ (कवितासंग्रह) र ‘नेप्चीको लय’ (कवितासंग्रह) प्रकाशित छन् । दर्जनौं संख्यामा उनले लेखेका गीतहरू पनि रेकर्ड भएका छन् । प्रस्तुत छ हाल काठमाडौंमा रहेका कवि सुवास संगम राईसँग उनको आगामी कृति र साहित्यिक यात्रामा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:


पछिल्लोसमय के-मा व्यस्त हुनुहुन्छ? २०७२ बाट तपाईंको नयाँ पुस्तक आएको छैन । पाठकले तपाईंको नयाँ कृति कहिले पढ्न पाउने?

 हाल अलि बढी सामाजिक काममा समय खर्चिरहेको छु । कविता र गीत लेख्ने काम पनि चली नै रहेको छ । यसपल्ट गीत लेखन बढी रह्यो । बजारमा दर्जन बढी गीत आए । कविता र गीतको पुस्तक तयारीको लागि समय लगानी गरिरहेको छु ।


तपाईंको पछिल्लो कविता संग्रह ‘नेप्चीको लयर त्यसअघि गजलसंग्रह तथा गीतिसंग्रह प्रकाशित छन् । कस्तो प्रतिक्रिया पाउनुभयो आफ्ना पुस्तकबाट?

पहिलो पुस्तकले लेखन यात्राको उत्साहित वातावरण तय गरिदियो । पुस्तक गीतको थियो । मलाई आफैंलाई लागेको चाहिँ तौल सामान्य नै थियो तर बिक्री सोँचेभन्दा बढी भइदियो । पछिल्लो कवितासंग्रह 'नेप्चीको लय' ले भने म स्वयमलाई एउटा सुन्दर जीवन दियो भन्ने लाग्छ । प्रतिक्रिया सन्तुलित आइरहेकै छन् अझै । जे होस्, सन्तुष्ट छु भनूँ । जिम्मेवारी थपिदिन प्रतिक्रिया जनाउनुहुने सबैमा आभार व्यक्त गर्दछु ।


कसरी साहित्यमा आकर्षित हुनु भयो ? के-ले अहिलेसम्म साहित्यमा बाँधी रह्यो? यहाँसम्म आइपुग्दा तपाईंका खुसी र निराशाका क्षणहरू कत्तिको छन्?

ठ्याक्कै त भन्न सक्दिनँ क्यार ! कसरी साहित्यमा आकर्षित भएँ भनेर । बाल्यकाल देखिकै रुचि भने पक्का हो । संसारकै एक मात्रै विशिष्ट शिल्प लाग्छ साहित्य । सायद यसैले बाँधिरह्यो मलाई । पुस्तक प्रकाशित हुँदाका र प्रेरणादायी प्रतिक्रिया पाउँदाका खुसीका क्षणहरू त अघि भनिसकें । तर निराशा पनि धेरै नै छन् ! जब गुटउपगुटले हल्ला गर्छन्, एउटा इच्छुकले जबरजस्ती कविता लेख्छ र बिकाउ सम्पादकको ग्याङ्ले एक ट्याङ्री झिल्केदाईको लागि चिल्लो बनाइदिन्छ र बिक्रीको पुरस्कार दिन्छ अनि मलाई घृणा लाग्छ । छापामा उसै आफ्नै रङ्ग र ढंगको टिमको प्राथमिकतामा पार्छन् र उग्र हल्ला गर्छन् । नेपाली साहित्यमा विद्यमान यस्तो चाप्लुसी र गुटप्रथा देखेर मलाई बढो ताजुब लाग्छ र दु:ख पनि ।

यहाँ कसैले कसैको अस्तित्व अङ्गीकार गर्नै चाहँदैनन् । यहाँ जत्तिको गुटबन्दी त नेपालको राजनीतिक मोर्चामा पनि छैन सायद । कामना छ कि यो छिट्टै सुधार होस् ।

नेपाली साहित्यमा विद्यमान यस्तो चाप्लुसी र गुटप्रथा देखेर मलाई बढो ताजुब लाग्छ र दु:ख पनि । यहाँ कसैले कसैको अस्तित्व अङ्गीकार गर्नै चाहँदैनन् ।


नेप्चीको लयविमोचनमा समालोचक महेश पौड्यालले तपाईंका कविताहरू हृदयले नभएर मस्तिष्कले पढ्नुपर्ने खालका भएका टिप्पणी गर्नुभएको थियो । कवितामा विचार र कलामा कुनलाई प्रधान मान्नुहुन्छ? तपाईंको कविताको मूलभूत पक्ष के हुने गर्छ?

 चिनजान थिएन महेश पौड्याल सर सँग त्यतिखेर । आयोजकको निम्तामा पनि आएर बोलिदिनु भयो । बल्ल पो चिनजान भयो । अगाडि नै पढिसक्नु भएको रहेछ, केलाई दिनुभयो । धन्यवाद नभनूँ कसरी ? कवितामा विचार र कलामध्ये कुनै एक मात्र प्रधान हुन्छ भन्ने लाग्दैन मलाई । दुवै महत्वका हुन् । मलाई लाग्छ कवितामा विचार मुटु हो भने कला सुन्दरता हो । मुटु अनिवार्य छ । मेरो कवितामा कुन पक्ष बढी हाबी छ भन्ने कुराचाहिँ पाठकले भन्ने कुरा हुन् । तर आफैंलाई भने विचार गह्रौँ कि ! भन्ने लाग्छ । सम्प्रेषणमा केही अवरोध होलान् सुधार गर्नु छ ।


कस्ता कुराहरूले तपाईंलाई लेखनमा प्रेरणा दिन्छन्? कस्ता कुराहरूले छुन्छन्? तपाईंको लेखनको उदेश्य?

 एकदमै भिन्न र ताजा सन्दर्भहरू र अन्वेषणात्मक खास तथ्यहरूसँगै सामाजिक विषयहरूले लेखनमा उत्साहित बानाउँछ । मलाई लाग्छ लेखनको खास सर्त हुनु पर्दछ । यदि त्यसो भएन भने लेख शब्दहरूको डस्ट्विन मात्र बन्दछ ।


नेपालमा अधिकांश लेखकहरू कविताबाट लेखन सुरु गरेर उपन्यासकार बन्नमा ढल्किने गर्छन् । तपाईंको भने चारवटा प्रकाशित पुस्तकमध्ये सबै काव्यिक विधाका छन् । आख्यानतर्फ आकर्षण नपलाएको हो तपाईंलाई?

त्यसो हो पनि र होइन पनि । कतिपय आख्यानकारहरू क्रमशः कवितातिर पनि लागिरहेका छन् । तथापि को कता के भन्दा पनि कुन विधामा आफूलाई उपयुक्त लाग्छ त्यसैमा चलायमान रहने न हो ! त्यसो त म कविता र गीतमा आफूलाई उपयुक्त अनुभुत गर्छु । सबै विधाको आ-आफ्नो ठाउँमा आफ्नै विलक्षणता हुन्छन् ।


तपाईं वैदेशिक रोजगारका लागि प्रवासमा पनि रहनुभयो । वैदेशिक रोजगार र साहित्य लेखन बीचको अन्तरसम्बन्ध कस्तो पाउनुहुन्छ? व्यस्त दैनिकीका बावजुद प्रवासमा बस्दा के-ले लेख्न प्रेरित गर्दो रहेछ?

बडो जोखिमपूर्ण हुन्छ । लेखनको लागि समय अनुकुल बनिदिन्न । प्रतिकूलताको बीचबाट लेखन र पठनमा लाग्नु पर्ने हुन्छ । प्रेरित गर्ने कुरा नै चाहिँ पहिलो त देश नै हुँदो रहेछ । टाढा भएपछि मात्र छुटेका कुराहरूको महत्त्व महसुस हुँदो रहेछ । प्राय: बाहिर बसेर लेखिने साहित्यमा माटोको बिम्बहरू बढी भेटिन्छ र भेटिन्छ सुन्दर फ्युजन । जसको योगदान नेपाली साहित्यमा सम्मानित छ ।


समकालीन नेपाली कवितामा आइरहेका पुस्तकहरू कत्तिको पढ्नुभएको छ? कस्ता कृतिहरू आइरहेछन् ? साहित्यको बजार कतिको प्रतिस्पर्धी पाउनुहुन्छ?

लेख्ने भन्दा पनि बढी पढ्ने गर्छु । बजारमा नयाँ पुस्तक आउने बित्तिकै किनेर पढिहाल्छु । बजारमा दुई थरिका कृति आइरहेको छ । एकथरी फ्रेस सन्दर्भ सहितका पृथक शैली अर्को अलि नाराबाजी र रोइलो आइरहेको छ । सन्तुलन छैन नै । तर त्यत्ति धेरै निराशा हुने अवस्था पनि छैन । र आयो प्रतिस्पर्धाको कुरा, निस्पक्ष प्रतिस्पर्धा कम र हल्लाको बाजी बढी देखिन्छ । यसो भनिरहनु मेरो लागि दुर्भाग्यपूर्ण छ नै । अपवाद बाहेकको कुरो हो है । फेरि आफैं चाहिँ पाठशालामै छु कलीलो ।


तपाईंलाई जीवनमा सबैभन्दा बढी खुसी के-मा मिल्छ? आफूलाई पूरा गर्न मन लागेका ३ कुराहरूमात्र रोज्नुभयो भने के रोज्नुहुन्छ?

 मैले लेख्दै गरेको कविताले जीवन पाएको क्षण जत्तिको आनन्द र खुसी सायद अरु हुन्न । पूरा गर्नैपर्ने कुराहरू त धेरै छन् तर कतिपय पूरा हुन्नन् । उल्लेख गर्नै पर्ने तीन कुरा चाहिँ:

१.यो वर्ष पुस्तक निकाल्नु छ

२.पटकथा लेखन छिटो सक्नु पर्ने प्रेसर छ, सक्नु छ ।

३.यसभित्र केही गौण योजनाहरू छन् । उल्लेख नगरुँ क्यार !


नव लेखकहरूलाई साहित्यमा प्रवेश गर्न र पुस्तक छपाउन निकै गाह्रो छ भनिन्छ । ४ वटा कृति प्रकाशन गर्दासम्म तपाईंको अनुभव कस्तो रह्यो ?

सहजता त कुनै काममा हुन्न नै । उसै पुस्तक प्रकाशनमा पनि गाह्रै देख्छु । नयाँ देख्ने बित्तिकै प्रकाशक भनूँ या छापाका एजेन्टहरूले करङको मुरली नै बजाई दिन्छन् । भन्दा आफैंलाई नमज्जा लाग्छ पब्लिकेसन्समासम्म माफिया हुन्छ भन्ने सुन्छु । त्यसैले मैले चाहीँ सबै काम आफैं गरेँ ।

पुस्तक प्रकाशनमा पनि गाह्रै देख्छु । नयाँ देख्ने बित्तिकै प्रकाशक भनूँ या छापाका एजेन्टहरूले करङको मुरली नै बजाई दिन्छन्


आगामी दिनलाई लिएर तपाईंका  योजनाहरू?

 आगामी योजनाहरू धेरै छन् कुन योजना पहिले सक्ने भन्ने हो । यो वर्ष पुस्तक प्रकाशन गर्नु छ । पुस्तक नाम मात्रैको नबनाऊँ भन्नेले हल्लाइरहेको छ । सम्भावना रहेसम्म केही महिना कतै नयाँ ठाउँको भ्रमणको लागि तयारी पनि गर्दैछु । यत्ति भनुँ अहिलेलाई ।


अन्त्यमा, आफ्ना पाठकलाई के भन्न चाहनुहुन्छ?

 एउटा लेखकको लागि पाठक नै अभिभावक र असल गुरु लाग्दछ । त्यसो र मलाई लाग्छ मेरा कविताहरू माथि बोलिदिनुस् । बल्ल सच्चिन सहयोग मिल्दछ । नमन पाठक ।


पढ्नै पर्ने

लोकप्रिय

भर्खरै