काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्यामलाई पराजित गरेको छ । सिटीको घरेलु मैदानमा शनिअबर सम्पन्न खेलमा सिटीले टोटनह्यामलाई १-० ले पराजित गरेको छ ।
सिटीको जितमा युवा खेलाडी फिल फोडेनले खेलको पाचौं मिनेटमा गोल गर्दै सिटीलाई महत्वपूर्ण जित दिलाएका छन् ।
गएको साता च्याम्पियन्स लिगमा टोटनह्यामसँग पराजित भएको बदला लिदै सिटी प्रिमियर लिगमा शिर्ष स्थानमा समेत उक्लिएको छ । सिटीको ३४ खेलमा ८६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा एक अंकले अगाडी रहेको छ ।
टोटनह्यामविरुद्ध सिटीले जित हासिल गरेपनि इन्जुरीका कारण आफ्ना प्ले मेकर केभिन डे ब्रुनेलाई भने गुमाएको छ । खेलको ३७औ मिनेटमा ब्रुनेको एन्कलमा समस्या भएपछि मैदान छोडेका थिए । ब्रुने यस सिजनको सुरुमा पनि इन्जुरीका कारण खेल्न सकेका थिएनन् । गत सिजन सिटीका लागि सबै प्रतियोगितामा ३७ खेल खेलेका ब्रुने यस सिजनमा केबल २३ खेल खेलेका छन् जसमा ५ गोल र ५ असिस्ट गरेका छन् ।
सिटीले प्रिमियर लिगमा अब ४ खेल खेल्न बाँकी छ भने उपाधिका लागि लिभरपुलससँग कडा प्रतिष्पर्धा रहेको छ ।