• २०८१ बैशाख १६ आइतबार

५७ किलो गाँजासहित १ भारतीय र २ नेपाली पक्राउ

kharibot

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय नागरिक अमरजितलाई ४८ किलो ८०० ग्राम गाँजा र कारसहित नियन्त्रणमा लिएको छ । उनलाई हेटौँडाको तिनताप्केबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वैशाख ६ गते दिउँसो विशेष सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले तिनताप्केमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बिआर–३१ एम ५०५१ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा उक्त कारको सिटमुनि फल्स बटम बनाई आठ वटा पोकामा ४८ किलो ८०० ग्राम लागुऔषध गाँजा फेला परेको थियो ।

मकवानपुरका विभिन्न स्थानबाट  लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका २६ वर्षीय रुपक राई र भारत विहारस्थित वैशाली जिल्लाका ३२ वर्षीय अमरजित सिंह रहेका छन् । उनीहरुबाट प्रहरीले ५७ किलो गाँजा र ६० ट्याबलेट नाइट्रोभेट बरामद गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएका प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३९५२ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गर्दा पप्पुलाई आठ केजी गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार शङ्काका आधारमा झोला खानतलासी गर्दा उनको झोलाभित्र चारपाटे दुई वटा पोकामा लागुऔषध गाँजा आठ केजी फेला परेको थियो ।

त्यस्तै कमानेका रुपकलाई लागुऔषध नाइट्रोभेट ६० ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहसहितको टोलीले रातोमाटेमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७३९ नम्बरको यात्रुवाहक माइक्रो बसलाई जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो । रुपकको साथबाट नाइट्रोभेट १० लेखेको चार पत्तामा ६० ट्याबलेट लागुऔषध फेला परेको थियो । उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीमाथि पनि थप अनुसन्धान भइरहेको छ । उनले अपराध गरेको ठहर भएमा लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने र कारसमेत जफत हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै