• २०८१ बैशाख १७ सोमबार

माथिल्लो तामाकोशीमा पेनस्टक पाइप जडान हुँदै

kharibot

काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान कार्यले गति लिएको छ । 

ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने विषयमा समस्या भएपछि आयोजनाबाट उत्पादन हुने विद्युत्को समयसीमा समेत पर सर्दै गएको थियो । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको यही वैशाख २२ गतेभित्र पेनस्टक पाइप जडान हुने भएको छ । माथिल्लो ठाडो सुरुङमा यही वैशाखभित्रमा पेनस्टक पाइप जडान शुरु हुनेछ । आयोजनाको तल्लो ठाडो सुरुङ ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको छ । 

तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाई र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्नेछ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने घुमाउरा ‘बेण्ड पेनस्टक पाइप’ जडान भइसकेका छन् । ती पाइपभन्दा माथि पाइप जडान शुरु गर्न अत्याधुनिक उपकरणसहितको क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ । 

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकाले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । प्रवद्र्धक माथिल्लो तामाकोशी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकाले नै गरिरहेको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शनिबार र आइतबार स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्य निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । 

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३-७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को पुस महीनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो ।

तर हाइड्रोमेकानिकल ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि  आगामी पुसभित्र पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समय तालिका तय गरिएको छ । 

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु ३५ अर्ब २९ करोड ४१ लाख थियो । निर्माण अवधिको ब्याज रु १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत रु ४८ अर्ब ८६ करोड थियो । अहिले आयोजनाको लागत रु ४९ अर्ब २९ करोड ५५ लाख पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको व्याज रु  १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत रु ६९ अर्ब ५९ करोड पुग्ने संशोधित अनुमान छ । 

आयोजनामा कर्मचारी सञ्चय कोषले रु १० अर्ब, नेपाल टेलिकमले रु छ अर्ब, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले रु दुई-दुई अर्ब र अपुग रु ११ अर्ब आठ करोड नेपाल सरकारले ऋण लगानी गरेका छन् । कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको छ, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको दुई-दुई प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५, दोलखावासीको १०, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै