• २०८१ बैशाख १७ सोमबार

खुलामञ्च अतिक्रमण प्रकरणमा मेयर-उपमेयरबीच आरोप प्रत्यारोप  

kharibot

काठमाडौं । खुलामञ्च अतिक्रमण भएको विषयमा स्थानीयहरू विरोधमा उत्रिएपछि काठमाडौं महानगरपालिकामा आरोप प्रत्यारोप चलेको छ ।

खुलामञ्च अतिक्रमण प्रसंगमा मेयर बिध्या सुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीले महानगरको निर्णयलाई बेवास्ता गरेको भन्दै तुरुन्त अनुगमन गरेर प्रतिवेदन पेश गर्न निर्देशन लिखित दिएका छन् ।

महागरपालिकाका मेयर विधा सुन्दर शाक्यले खुलामञ्चमा भइरहेको गतिवीधिको बारेमा उममेयर खड्गीले आफू लगायत महानगरलाई कुनै जानकारी नगराएको बताए ।

मेयर शाक्यले उपमेयरले महानगरको निर्देशन पालना नगरेको आरोप लगाउदै उपमेयरको प्रतिवेदन आउनासाथ महानगर एक्सनमा आउने बताए । आफुले नगर परिषदमा उपमेयरलाई गत चैत्र २४ मा नै निर्देशन दिएको उपमेयरले काम नगरेको आरोप लगाए ।          

खुलामञ्च अतिक्रमण भएको बारेमा बिहिबारमात्र सर्वसाधारण र सम्पदा संरक्षण अभियान्तहरुले प्रर्दशन गरेपछि महानगरले यस विषयमा चासो देखाएको छ ।

मेयर शाक्यले उपमेयर खड्गीलाई शुक्रबार एक पत्र लेख्दै खुलामञ्च अतिक्रमणको बारेमा महानगररलाई जानकारी गराउन निर्देशन दिएका छन् । 

यता उपप्रमुख खड्गीले भने आफूलाई प्रमुखले आधिकारिक रुपमा खुला मञ्चको अनुगमन गर्ने जिम्मा नदिएको र फोनमा त्यस स्थानमा के भएको रहेछ बुझ्नुस् मात्रै भनेको बताएकी छन् ।

नगरसभाको केही दिनपछि केही सटर बनिरहेको र केहीमा पसलसमेत सञ्चालन भइरहेको बारे प्रमुखलाई भन्दा त्यति चासो नदिएको उपप्रमुखको आरोप छ । 

उपप्रमुख खड्गीले भनिन, “आज आधिकारिक रुपमा चिठ्ठी पाएको छु, आगामी आइतबार बैठक बसी अनुगमन शुरु गरिन्छ ।” 

उपमेयरलाई दिएको पत्रमा भनिएको छ, ‘खुलामञ्चको उत्तरतर्फ अस्थायी बसपार्कमा स्वीकृत विपरितका संरचना निर्माण गरिरहेको विषयमा यथाशिध्र जानकारी गराउनु’,  उपमेयरलाई लेखिएको पत्रमा भनिएको छ । 

महानगरले अतिक्रमणको विषयमा उपमेयर खड्गीको ध्यानाकर्षण गरे पनि उनले त्यसलाई बेवास्ता गरेको महानगरले जनाएको छ । पत्रमा भनिएको छ, ‘महानगरको चौथो अधिवेशन र त्यसपछि पटक पटकको छलफलमा समेत उपमेयर खड्गीको खुलामञ्च अतिक्रमण बारेमा ध्यानाकर्षण गराएकोमा सो विषयमा उपमेयर खड्गीले हालसम्म प्रतिवेदन पेश गरेकी छैनन् ।’ 

यस्तै महानगरले यथाशिघ्र खुलामञ्च अतिक्रमणको विषयमा अनुगमत सुपरिवेक्षण गरी यथार्थ वस्तुस्थिति खुल्ने गरी प्रतिवेदन पेश गर्न समेत उनीसँग आग्रह गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम महानगर क्षेत्रको अनुगमनका लागि उपमेयर खड्गीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । जसले महानगर क्षेत्र भित्र भएका भौतिक संरचनाको बारेमा जानकारी राख्ने तथा अनुगमन सुपरिवेक्षण लगायतका कामहरु गर्दछ ।

राजधानीको खुला मञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल यही वैशाख मसान्तसम्म हटाउन स्थानीयवासीले कामपालाई समयावधि दिएका छन् ।

ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौता विपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका हुन् ।  यसै विषयलाई लिएर स्थानीयवासीले बिहीबार विरोध प्रदर्शनसमेत गरे । 

हाल काठमाडौँ भ्यू टावर निर्माण गरिरहेको उक्त बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाई भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएवापत कम्पनीले प्रत्येक व्यापारीबाट प्रतिसटर रु १५ लाखसम्म उठाएको छ ।  खुलामञ्चसँगै रहेको दुईमाजू गुठीको करीब एक रोपनी जग्गा पनि अतिक्रमण गरी व्यापारिक प्रयोजनमा लगाइएको पुष्टि भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै