• २०८१ बैशाख १७ सोमबार

काठमाडौँ महानगरको नेपाल एम्बुलेन्स सेवासँग सहकार्य

kharibot

काठमाडौँ । अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवाको अभावमा हुने मृत्युजन्य क्षति कम गराउन काठमाडौं महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँग सहकार्य थालेको छ ।

आइतबार काठमाडौंको राष्ट्रिय सभा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले संयुक्त व्यवस्थापनमा एम्बुलेन्स सेवा (अस्पताल पूर्व आकस्मिक स्वास्थ्य सेवा) सञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएपछि सहकार्य थालनी भएको हो ।

सम्झौतापछि काठमाडौंमा भएका ६ वटा एम्बुलेन्समा महानगरका प्रमुख र उपप्रमुखले ‘महानगरको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा’ लेखिएको स्टिकर टाँसेर सहकार्य शुभारम्भ गरिएको थियो ।

सहमति पत्रमा हस्ताक्षर एवं सहकार्य शुरुवात्का अवसरमा बोल्दै मेयर शाक्यले — बैशाख १५ गते महानगरबासीका लागि ऐतिहासिक दिन भएको प्रतिक्रिया दिए । यो हरेक नागरिकको जीवनसँग जोडिएको छ । एम्बुलेन्स चढ्ने चाहना कसैको हुँदैन तर नचढी पनि हुँदैन । मानव जीवन रक्षाका लागि महानगरले थालेको यो काम हरेक महानगरबासीका लागि महत्वपूर्ण छ । मेयर शाक्यको भनाइ थियो । एम्बुलेन्स जस्तै नेपाल प्रहरीसँगको सहकार्यमा महानगरका १८६ ठाउँमा सिसिटिभि क्यामरा जडान हुँदैछन् ।

मेयर शाक्यले — सहरी सुव्यवस्था कायम गराउन थालेका कामका बिषयमा पनि जानकारी गराउनुभयो । सोही क्रममा बोल्दै उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — एम्बुलेन्स सेवाबाट करदाताले तिरेको करमा न्याय भएको टिप्पणी गरीन । जनतालाई आवश्यक परेको सेवा व्यवस्थापन गर्न सक्नु नै जनप्रतिनिधिको योग्यता हो, उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एवं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला पनि आएका थिए । कार्यक्रम बोल्दै उनले एम्बुलेन्स सेवामा महानगरको सहकार्यलाई अहिलेसम्मकै उत्कृष्ट कार्यक्रमका रुपमा चर्चा गरे । अरु पनि काम भए तर यो जत्तिको मानव सुरक्षामा काम हुने अरु काम छैनन्, कोइरालाले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण निर्णयका रुपमा चर्चा गरे ।

कार्यक्रममा पाटन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा. भरतकुमार यादवले, एम्बुलेन्सको दिगो सञ्चालनमा जोड दिनुभयो । एम्बुलेन्स सेवा व्यवसायिक होइन तर यसलाई व्यवसाय बनाएको पनि भेटिएको छ । त्यसप्रकारका बिकृति न्युनीकरण गर्न महानगर र एम्बुलेन्स सेवाबीचको सहकार्य नमूना बन्ने बताउँदै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामप्रसाद आचार्यले एम्बुलेन्स खरिद गर्न भन्दा सञ्चालन गर्न कठिन रहेको धारणा राखे । 

एम्बुलेन्स चलाउँछु भन्ने तर व्यापार गर्ने प्रवृत्ति देखेर नेपाल एम्बुलेन्स सेवा शुरुवात् गरिएको हो । कार्यक्रममा बोल्दै सेवाका पूर्व अध्यक्ष डा. राजेश गोङ्गुले, महानगरमा दूर दृष्टि राख्ने जनप्रतिनिधि आएपछि सहकार्य सम्भव भएको बताए ।

यस सेवाले अहिलेसम्म गरेका काम सम्बन्धि विवरण प्रस्तुत गर्दै बर्तमान अध्यक्ष रञ्जित आचार्यले — यस अवधिमा ३५ हजार ५०० व्यक्तिलाई सुरक्षित सेवा प्रदान गर्ने क्रममा ४७ जना आमाले एम्बुलेन्सभित्रै सुत्केरी गराइएको बताउनुभयो । अहिलेसम्म ती सबै आमा र बच्चा स्वस्थ्य छन् । आचार्यले थप्दै भने — यसप्रकार मानवीय सेवामा प्रयोग हुने एम्बुलेन्स सञ्चालन व्यवस्थापन गर्न महानगरसँगको सहकार्यले सेवा थप गर्ने सहास थपिएको छ ।

२०६८ बैशाख १ गतेदेखि काठमाडौंमा शुरुवात् गरिएको यो सेवा अहिले चितवन, पोखरा र बुटवलमा पनि सञ्चालनमा छ । यसमा सेवा लिन १०२ नं. मा फोन गर्नुपर्छ । एम्बुलेन्सले अहिलेसम्म सास फेर्न गाह्रो भएका, बेहास भएका, दुखाइ धेरै भएका, गर्भवती महिला र चोटपटक लागेको बिरामीलाई सेवा दिएको छ । २०७२ साल बैशाख १२ को भूकम्पछिको एक हप्तामा ७२७ बिरामीलाई सेवा दिएको थियो ।

यसप्रकारको सहकार्यबाट अब बिरामीले एम्बुलेन्स आएपछि दक्ष जनशक्ति र प्रारम्भिक स्वास्थ्य उपचारका लागि औषधि र उपकरण प्राप्त गर्नेछन् । यसका लागि आकस्मिक सेवाका आवश्यक प्रबिधि, औषधि तथा उपकरणसहितको एम्बुलेन्समा आकस्मिक सेवामा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी परिचालन हुनेछन् । जनशक्ति र उपकरणसहित एम्बुलेन्स बिरामीकोमा पुग्नासाथ उपचार शुरु हुनेछ । यसो भएपछि अहिले घर र अस्पतालका बीचमा उपचारका अभावमा मृत्यु वरण गरिरहेका बिरामीको संख्यामा कमी आउनेछ ।

सम्झौताका मुख्य शर्त

सम्झौता पत्रमा भनिएको छ — प्राकृतिक वा अप्राकृतिक प्रकोप, दुर्घटना, विशेष प्राकृतिक रोग समेतबाट पीडित घाइते वा रोगी परेको जोखिमबाट बचाउन निज रहेको स्थान वा घटनास्थलमा नै अस्पताल पूर्व आकस्मिक सेवाका लागि सम्झौता गरिएको हो । एम्बुलेन्स सेवा आवश्यक पर्ने बिरामीकोमा पूर्ण प्रविधिको स्वास्थ्य सेवायुक्त एम्बुलेन्स प्रवेश हुनासाथ उपचार शुरु गरिनेछ । त्यसपछि सुरक्षित साथ बिरामीले इच्छाएको अस्पताल पु¥याइनेछ । बिरामीको सम्भावित ज्यान जोखिमको खतरा कम गराउन यो प्रयास थालिएको हो । 

सम्झौताबमोजिम ७० वर्ष पूरा भएका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई यो सेवा निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै वडा कार्यालयको शिफारिसमा बिपन्न, गरिब र बेसहारा व्यक्तिहरुलाई पनि निःशुल्क सेवा दिइनेछ । यो सम्झौता आगामी ५ बर्षका लागि गरिएको हो । सेवा सञ्चालन गर्न महानगरले एम्बुलेन्स सेवालाई मासिक प्रति एम्बुलेन्स एक लाख बीस हजार रुपैयाँ अर्थात् १० वटालाई १२ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसका लागि महानगरको चैत्र २१ गतेको कार्यपालिका बैठकले निर्णय गरेको थियो । त्यस्तै चैत्र २४ गते सम्पन्न नगरसभाले एम्बुलेन्स सञ्चालनका लागि बजेट र सहकार्यलगायत बिषयमा निर्णय गरेको थियो । 

संयुक्त व्यवस्थापनमा सञ्चालित एम्बुलेन्सको दायाँ बायाँ भागमा “काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा” लेखिनेछ । यसरी लेखिने सन्देशको भाषा नेपाली र रञ्जना लिपि हुनेछ । त्यस्तै एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी कामका लागि प्रयोगमा आउने कागजात, बिल, भर्पाई र बेवसाइटमा पनि “काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा” लेखिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै