राजनीतिले लेखनमा 'गाइड' गर्दछ : धर्मेन्द्र नेम्बाङ

खरीबोट

लामो समयदेखि साहित्य लेखन तथा राजनीतिमा सक्रिय रहँदै आएका कवि धर्मेन्द्र नेम्बाङको दोस्रो कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ यही वैशाख १४ गते शनिबार मण्डला थिएटरमा एक कार्यक्रममा बीच सार्वजनिक भएको छ । संग्रहमा नयाँ र पुराना गरी ३९ कविताहरू समेटिएका छन् । यसअघि नेम्बाङका ‘भीरैभीरको रंग’ (कवितासंग्रह), ‘रातो बाघ (उपन्यास), बहुरंगवाद एउटा ट्राभेलिङ फिलसफिको परिकल्पना (साहित्य सिद्दान्त) र ‘युवा विचार युवा नेपाल आमूल परिवर्तनको पक्षमा एक अवधारणा’ पुस्तकहरू प्रकाशित छन् । उनी रङ्गवादी साहित्यका अभियन्तामध्ये एक हुन् । प्रस्तुत छ बहुरंगवादी कवि धर्मेन्द्र नेम्बाङसँग उनको पछिल्लो कवितासंग्रह र साहित्य यात्रामा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:


‘तपाईंको पछिल्लो कवितासंग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’लाई लिएर प्रारम्भीक प्रतिक्रियाहरू कस्तो पाइरहनु भएको छ?

मेरो पछिल्लो संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ भर्खर बजारमा पुगेकोले खास प्रतिक्रियाहरू आइपुगेको छैन । अहिले पुस्तकको माग चाहिँ आइरहेको छ । केही समयपछि आउला प्रतिक्रियाहरू ।


संग्रहका ३९ कविताहरूमा के छ? नेपाली साहित्यमा कविताहरू व्यापक रुपमा आइरहेको परिप्रेक्ष्यमा तपाईंका कविता किन पढ्ने?

कविता त तिनै हुन् । विषयले प्रेम, दुर्घटना, वातावरण-पर्यावरण, जीवन, समाज, मुन्धुम, ईतिहास, संस्कृतिहरू छन् । मेरो कवितलाई अरु कविहरूको कविताझैं सामान्य रमाइलो मानेर पढिदिंदा हुन्छ भन्ने लाग्छ ।


भीरैभीरको रंग’ प्रकाशित भएको झन्डै १७ वर्ष पछि तपाईंको दोस्रो संग्रह आएको छ यसबीचमा तपाईंको एउटा उपन्यास र दुई गैरआख्यानका पुस्तकहरू आएका छन् मूलतः तपाईं आफूलाई उपन्यासकार, कवि के ठान्नुहुन्छ ?

म अलिअलि बाँडिएको छु जस्तो लाग्छ तपाईले भन्नुभए जस्तै विभिन्न क्षेत्रहरूमा । यी क्षेत्रहरू एकआपसमा सम्बन्धित भए असम्बन्धित र असम्बन्धित भए सम्बन्धित छन् जस्तो लाग्छ । यसको रसायन कहाँ छ त भन्दा जीवन जस्तो लाग्छ । खासमा चाहिँ म कवि हुँ जस्तो सधैं लागिरहन्छ । भूतपूर्व एक कवि ।


तपाईंका कवितामा पाश्चात्य साहित्य र दर्शनका प्रसंगका साथै किरात र ‘मुन्धुम’को प्रभाव रहने गर्छ दर्शन र विचारमा तपाईं जोड दिनुहुन्छ तपाईंको लागि साहित्य के हो? कस्ता कुराहरूले तपाईंलाई लेखनमा प्रेरित गर्छन्?

हो । मेरो लागि साहित्य आत्माको आवाज हो । जहाँ म विचारहरू खेलाउँछु । राख्छु । जीवनको अमिल्दो, समाजको बेथिति, संसारको अलमल-भ्रान्ती, सत्ताको उन्माद र उद्दाम स्वतन्त्रता, स्वायत्तताको चाह आदि कुराले सधै अभिव्यक्ति खोज्दछ । यिनैले मलाई साहित्य खेल्न प्रेरित गर्छ जस्तो लाग्छ ।

मेरो लागि साहित्य आत्माको आवाज हो । जहाँ म विचारहरू खेलाउँछु । राख्छु ।


पछिल्लो समयको नेपाली राजनीति र समकालीन साहित्यलाई कसरी हेर्नुभएको छ? साहित्य र राजनीतिको अन्तरसम्बन्ध कस्तो हुँदो रहेछ? तपाईं नेपाली काँग्रेसबाट राजनीतिमा पनि सक्रिय रहनु भएकाले साहित्य लेख्दा एउटा लेखकलाई आफ्नो राजनीतिक आस्थाले कतिको गाइड गर्दो रहेछ?

अघि नै कुरा भए जस्तै साहित्य क्षेत्रमा मेरो लामो ग्याप भएको नै हो । यसबीचमा राम्रा शक्तिशाली युवा पुस्ताहरू आएका छन् । मेरो समकालीन पुस्ता त नेपाली साहित्यको लागि दह्रो पुस्ता हो । साथीहरूले ठूलो मेहनत, लगानीका साथ उन्नति प्रगति गरेका छन् । यो नेपाली साहित्यको लागि राम्रो कुरा हो । मलाई लाग्छ, राजनीतिले लेखनमा गाइड गर्दछ । तर म लोकतन्त्रले दिने स्वतन्त्रता भन्दा बेसी स्वतन्त्रताको उपभोग गर्दछु । बेहद, उदाम स्वतन्त्रताको मैदानबाट खेल्दछु । म यस कुराको पक्षपाति छु जस्तो लाग्छ । कि एकतिर फर्केको हजारौं हजारको भीडले नदेखेको कुरा कुनै अर्कोतिर फर्केको एकजनाले देख्दछ । अथवा हजारौंको देखाईभन्दा फरक हुन्छ तिनै एकको देखाई । यसमा हजारौंको देखाई मात्रै सत्य भन्ने कुरो छैन भन्ने लाग्छ ।


कवि स्वप्निल स्मृति, कवि चन्द्रबीर तुम्वापो र तपाईं ६० को दशकमा रंगवाद/बहुरंगवादको साहित्यिक आन्दोलनमा हुनुहुन्थ्यो यसैबीच तपाईंको ‘बहुरंगवाद एउटा ट्राभेलिङ फिलसफिको परिकल्पना(साहित्य सिद्दान्त)’ पुस्तक पनि आएको छ खासमा के हो बहुरंगवाद? ७० को दशकमा यो आन्दोलन किन सेलाएर गयो?

बहुरंगवाद भनेको नेपाली दर्शन निर्माणको प्रयत्न हो । जीवन र जगतलाई रंगमा पुर्याएर हेर्ने दृष्टिकोण हो । मेरो भर्खरै प्रकाशित पुस्तकले यही कुरा बोकेको छ ।

बहुरंगवादले सर्बांग क्रान्तिको कुरो गरेको छ । यो भनेको एउटा व्यक्ति स्वस्थ हुनको लागि मुटु मात्रै स्वस्थ भएर हुँदैन । शरीरको प्रत्येक अंग स्वस्थ हुनुपर्छ । कान, हात, खुट्टा, यावत अंगहरू अस्वस्थ भए शरीर अस्वस्थ हुने भए जस्तै एउटा समाज, एउटा देश स्वस्थ हुनको लागि प्रत्येक व्यक्ति स्वस्थ हुनुपर्छ भन्ने अवधारणा हो । यो एक अकेन्द्रिय मत हो । समाजको सवै अवयवहरू स्वस्थ तन्दुरुस्त बनाउनु पर्छ । यो एक संस्कृतिक क्रान्ति पनि हो । सर्बांग संस्कृतिक क्रान्ति पनि भन्न सकिन्छ यसलाई । हाल हामी वस्तुगत र आत्मगत दर्शनलाई रंगगत दर्शनमा जोड्ने प्रयत्न गर्दैछौं । विश्वमा दर्शनहरूले आआफ्नो भाग लिएर हिंडेका छन् । त्यसैलाई एक ठाउँमा उभ्याउदैछौं । यो सम्पूर्ण मानव, प्राणी वनस्पति जगतको लागि । यो एक प्रकारले स्टेफेन हकिंगले युनिफाइड फिल्ड थ्योरीमा प्रकृतिका विपरित विद्युतीय शक्तिहरूलाई मिलाउन खोजे जस्तै हो ।


तपाईं साहित्य र दर्शनमा कसरी आकर्षित हुनुभएको थियो? निरन्तर रुपमा यसैमा लागिरहन तपाईंलाई के-ले बाँध्यो?

मलाई आफू दर्शन र साहित्यको आन्दोलनमा अपर्झट बाँधिए जस्तो लाग्छ । म जीवनको, समाजको, देशको अमिल्दोपनले आन्दोलित चाहिँ शुरुदेखि नै थिएँ । काम गर्दा चाहिँ सम्पूर्ण मानव जीवनको लागि आमूल परिवर्तनको लागि काम गर्नुपर्छ । त्यो मैले नगरे अरु कसले गर्छ र भन्ने लाग्छ । यही क्षेत्रमा काम गरेको मलाई विगत सम्झदा ठीकै लाग्छ ।

मलाई आफू दर्शन र साहित्यको आन्दोलनमा अपर्झट बाँधिए जस्तो लाग्छ ।


तपाईं लेखनका साथै पठनमा पनि उस्तै रुचि राख्नुहुन्छ तपाईंको रोजाईमा कस्ता पुस्तकहरू रहने गर्छन्?

प्राय: म भेटेसम्मको पुस्तकहरू पढ्थें । खासै यही पुस्तक चाहिँ महत्वपूर्ण भन्ने त रहेन । समयक्रममा सबै पुस्तकहरूले सहयोग गरेका छन् । अहिले चाहिँ म थिक नाह हानले बुद्ध सम्बन्धि लेखेको पुस्तक ‘ओल्ड पथ ह्वाइट क्लाउडस’ पुस्तक पढदैछु ।


पछिल्लो हप्ता मात्रै तपाईंको कवितासंग्रह बजारमा आएको छ यसबाट तपाईंका के-कस्ता अपेक्षाहरू छन्? आगामी दिनमा कसरी साहित्यमा अगाडि बढ्नुहुन्छ? अन्य पुस्तकको पनि तयारीमा हुनुहुन्छ कि?

यो मेरो पुस्तकले पाठकलाई मनोरञ्जन दिंदै विचारको बहस, छलफल, संवाद होस् भन्ने अपेक्षा छ । आगामी पुस्तकको योजना खास छैन । आगामी साहित्यको पनि खासै योजना छैन । आकस्मिक नियमितताले के के गराउला ।

सम्बन्धित समाचार

चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि

काठमाडौँ । दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने उक्त सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत

पोलिस र अस्ट्रियाली लेखकलाई साहित्यतर्फको नोबेल पुरस्कार

स्टकहोम ।  सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ । सन् २०१८ मा एक

तीन गजलकारको संयुक्त गजल वाचन सम्पन्न  

दमक । तीन गजलकारहरु टीका आत्रेय, शिशिर भट्टराई र मधु केरुङ गजलवाचनका लागि संयुक्त रुपमा प्रस्तुत भएका छन् । गजल घर नेपाल, प्रदेश नं १ ले बिहिबार आयोजना गरेको कार्यक्रममा गजलकारहरुले

साहित्य र पर्यटन सँगसँगै लगिने

काठमाडौँ । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शारदीय काव्योत्सवमा करीब २५ कविले आआफ्ना सिर्जना वाचन गरेका छन् । संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रममा कविता वाचन गर्नेमा बलराम दाहाल, प्रकाश


z