काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा ब्राजिलले होन्डुरसलाई ७-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा जब्रियल जिससले २ गोल गरे भने फिलिप कोटिन्हो, थियागो सिल्भा, डेभिड नेरेज, रोबेर्टो फिर्मिनो र रिचार्लिसनले एक एक गोल गरेका थिए ।
नेइमारको ठाउमा खेलेका युवा खेलाडी डेभिड नेरेजले ब्राजिलका लागि आफ्नो पहिलो गोल गरेका छन् । ब्राजिलका अर्थर यस खेलमा घाइते भएपछि खेलको ३२औ मिनेटमा नै मैदानबाट बाहिरिएका थिए ।
नेइमार घाइते भएर कोपाबाट बाहिरिएपछि अर्थरको इन्जुरीले ब्राजिलको कोपा सुरु हुनु अघि चिन्ता बढाएको छ ।
खेलको २९औ मिनेटमा होन्डुरसका क्वेटोले रातो कार्ड खाएर बाहिरिएपछि होन्डुरस १० खेलाडीमा सिमित भएको थियो ।
ब्राजिलले १५ जुनमा कोपा अमेरिका अन्तर्गतको पहिलो खेल बोलिभियाविरुद्ध खेल्दै छ ।