मिल्की वेको ब्ल्याकहोल किन शान्त छ ?

खरीबोट

काठमाडौं । अधिकांश ग्यालेक्सीको बीचमा विशाल ब्ल्याकहोल अवस्थित छ । र सौर्यमण्डल भएको मिल्की वे ग्यालेक्सीको केन्द्रमा पनि विशाल ब्ल्याकहोल छ । अन्य ग्यालेक्सीहरुमा ब्ल्याकहोल अतिसक्रिय अवस्थामा छन् जसमा अतिशक्तिशाली रेडिएसन भएका धेरै पदार्थ खसेर त्यसैमा समाहित भइरहेका छन् ।   

तर, मिल्की वेको बीचमा स्थित ब्ल्याकहोल भने शान्तप्रायः छ । यसको मुख्य कारण यो ग्यालेक्सीको बीचमा रहेको अत्यन्त बलियो चुम्बकीय क्षेत्र हो । चुम्बकीय क्षेत्र भनेको विभिन्न पदार्थको मार्ग निर्धारित गर्ने एक अदृश्य शक्ति हो ।

ब्रह्माण्डको गति र विकासमा चुम्बकीय शक्तिको महत्त्वपूर्ण असर रहन्छ । तर, हालसम्म चुम्बकीय क्षेत्रको स्पष्ट मानचित्र भने बनाउन सकिएको छैन । त्यसैले यसको भूमिकाबारे अझै स्पष्ट छैन ।

तर, नयाँ अन्वेषणले भने यसबारे धेरै रहस्य उजागर गर्ने देखाएको छ । 

नासाको स्ट्राटोस्फेरिक अब्जरभेटोरी फर इन्फ्रारेड अस्ट्रोनोमी (सोफिया) ले मिल्कीवेको शान्तप्रायः ब्ल्याकहोलबारे जानकारी दिएको हो । सोफिया बोइङ ७४७ एसपी जेटलाइनर मोडलको विमान हो जसमा १७ टनको ८ फूट लामो र १०६ इन्च डायामिटरको टेलिस्कोप छ । यसमा मापनका लागि हाइरिजोलुसन एयरबोर्न वाइडब्यान्ड क्यामरा प्लस, (एचएडब्ल्यूसी+) नामक क्यामरा छ । यो नासा र जर्मन एरोस्पेस सेन्टरको संयुक्त परियोजना हो । एचएडब्ल्यूसी+ उपकरणले आकाशीय धूलीकणको पुञ्जबाट निस्किने अतिसूक्ष्म प्रकाशलाई पनि पत्ता लगाउन सक्छ जुन मानिसको आँखाले ठम्याउन सक्दैन । 

चुम्बकीय क्षेत्रको ठीक सीधा धूलीकणको पुञ्ज छ । सोफियाको यस नतिजाअनुसार वैज्ञानिकहरुले अदृश्य रहेको चुम्बकीय क्षेत्रको म्याप बनाउन र शक्ति मापन गर्न पनि सहयोग पुग्ने बताएका छन् । यसले प्रकृतिको आधारभूत शक्तिलाई बुझ्न निकै मद्दत गर्ने उनीहरूको भनाइ छ । 

‘हामीले ग्यालेक्सीको बीचमा रहेको चुम्बकीय क्षेत्र र त्यसअन्तर्गतका वस्तुहरु कसरी एकआपसमा सम्बन्धित छन् भन्ने वास्तवमै देख्न सक्छौं । अहिलेसम्म यस्तो नतिजा हामीले पाएका थिएनौं, यो अभूतपूर्व हो,’ नासाका अस्ट्रोफिजिसिस्ट जोन स्क्मेल्जले बताए । एचएडब्ल्यूसी+ ले पूरै खेल परिवर्तन गरिदिएको उनी बताउँछन् । 

सोफियाको पूर्व अन्वेषणले ग्यासका चलायमान रिङ र अनगिन्ती धूलीकणले मिल्की वेको ब्ल्याक होललाई घुमिरहेको देखाएको थियो । जसलाई स्याजिटेरियस ए स्टार भनिन्छ । तर, नयाँ एचएडब्ल्यूसी+ ले यस क्षेत्रको चुम्बकीय शक्तिको नवीनतम धारणा प्रस्तुत गरेको छ । यसबाट यो क्षेत्रको १ लाख वर्षअघिको इतिहास ट्रेस गर्न सकिने जोनको भनाइ छ ।

 

ब्ल्याकहोलको गुरुत्वाकर्षणले मिल्की वेको केन्द्रको गतिलाई नियन्त्रण गर्छ । तर, केन्द्रको चुम्बकीय क्षेत्रको भूमिका एक रहस्य बनेको छ । एचएडब्ल्यूसी+ को अन्वेषणले चुम्बकीय क्षेत्रको शक्ति त्यस क्षेत्रमा फैलिएको ग्यासको चलायमान गति रोक्न समर्थ भएको देखाएको छ । 

यदि चुम्बकीय क्षेत्रमा रहेको ग्यास आफै ब्ल्याकहोलतर्फ बग्न थाल्यो भने ब्ल्याक होल सक्रिय छ भन्ने बुझ्नुपर्छ, किनकि यसले धेरै ग्यास सोसिरहेको हुन्छ । त्यस्तै, यदि चुम्बकीय क्षेत्रमा रहेको ग्यास ब्ल्याक होलतिर नगई त्यसको वरिपरि घुम्छ भने ब्ल्याक होल शान्त रहेको बुझ्नुपर्छ । किनकि त्यसले कुनै पनि नयाँ ताराबाट निस्केको ग्यासलाई ग्रहण गरिरहेको छैन । 

अध्येताहरुले मध्य र दूरवर्ती सूक्ष्मप्रकाशको तस्वीर सोफियाको क्यामराको सहायताले लिएका छन् । यसले चुम्बकीय क्षेत्रको दिशाको संकेत गरेको छ । नीलो वाई आकारको चम्किलो वस्तु ब्ल्याक होलतिर गइरहेको चित्रमा देख्न सकिन्छ । चुम्बकीय क्षेत्रको लेयरको बनावटले चुम्बकीय क्षेत्रले धूलीकण पुञ्जको बनावटलाई आकार दिइरहेको स्पष्ट पार्दछ । नीलो आकृतिको हरेक भुजाको आफ्नै क्षेत्र छ जुन अन्य ब्ल्याकहोलको रिङभन्दा भिन्न छ । त्यहाँ यस्तो क्षेत्र पनि छ जहाँ मुख्य धूलीकण पुञ्जले चुम्बकीय क्षेत्रबाट दिशा परिवर्तन गरिरहेको पनि देखिन्छ । मुख्यगरी यस ग्यालेक्सीको केन्द्रमा स्थित ब्ल्याकहोलको रिङको सुरु र अन्त्य विन्दुमा यस्तो देख्न सकिन्छ । 

चुम्बकीय क्षेत्रको घुमाउरो आकृतिले ग्यासलाई ब्ल्याकहोलको वरिपरि घुमाइरहेको छ भन्छन् नासाका वैज्ञानिक डारेन डोवेल । अन्य ब्ल्याक होल सक्रिय भइरहँदा हाम्रो ब्ल्याक होल किन निष्क्रिय छ भन्ने यसले बताउन सक्ने उनको भनाइ छ । 

सोफिया र एचएडब्ल्यूसी+ दुवैको अनुसन्धानले विशाल ब्ल्याक होलले पदार्थहरुलाई खास वातावरणमा मात्रै आकर्षित गर्न सक्ने देखाएको छ । यसले एक अर्को प्रश्न उजागर गर्छ कि किन मिल्की वेको केन्द्रीय ब्ल्याक होल करीब निस्तेज छ जब अन्य ग्यालेक्सीहरु अत्यन्त सक्रिय छन् ।

(एजेन्सीहरुको सहयोगमा)

सम्बन्धित समाचार

आर्कटिकमा बरफ पग्लिने क्रम बढेसँगै मानव जीवनमा थपिँदै नयाँ संकट 

जलवायु परिवर्तनका कारण पृथ्वी तातिरहेको छ । यस्तोमा ध्रुवीय क्षेत्रमा जमेको बरफ पग्लिरहेको छ । समुद्रको सतह बढिरहेको छ । तर, खतरा यतिमा मात्र सीमित छैन । बरफ पग्लेसँगै अन्य

मंगलमा फेला पर्यो मिथेनको सबैभन्दा ठूलो भण्डार 

काठमाडौँ । मंगल ग्रहमा खोजी अभियानमा रहेको नासाको क्युरियोसिटी मार्स रोभरले यो रातो ग्रहमा मिथेन ग्यासको अहिलेसम्मकै ठूलो भण्डार पत्ता लगाएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तो जानकारी दिएको छ । नासाले

नयाँ सौर्यमण्डल जहाँका तीन ग्रहमा छ जीवनको सम्भावना 

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गहन खोजपछि वैज्ञानिकहरुले नयाँ सौर्यमण्डल अस्तित्वमा रहेको पत्ता लगाएको बताएको छ । हाम्रो सौर्यमण्डलभन्दा बाहिर एक ताराको वरिपरि पृथ्वीजत्रै सातओटा ग्रह फेला परेको नासाको भनाइ

चन्द्रमामा सूर्यको इतिहास लुकेको नासाको दाबी 

काठमाडौँ । नासाका वैज्ञानिकहरुका अनुसार चन्द्रमामा सूर्यका प्राचीन रहस्यको संकेत विद्यमान छ । यो जीवनको विकासक्रमलाई बुझ्न महत्त्वपूर्ण हुने उनीहरुको धारणा छ । करीब ४ अर्ब वर्षपहिले सौर्य मण्डलमा तीव्र


z