• २०८१ बैशाख १४ शुक्रबार

घाँसबाट बनाइन्छ ६ सय वर्ष पुरानो पुल 

kharibot

पेरु ।  दक्षिण अमेरिकाको पेरुस्थित कुस्को क्षेत्रमा अपुरिमेक नदीमाथि एक यस्तो पुल छ जसको हरेक वर्ष मर्मतसम्भार गरिन्छ । रोचक कुरा त के भने हरेक वर्ष घाँसलाई बाटेर बनाइएको डोरीले पुरानो पुल हटाएर नयाँ पुल निर्माण गरिन्छ । 

यसलाई इंका रोप ब्रिज भनिन्छ । पेरुमा इंका साम्राज्य रहँदा बाटो र पुल बनाउन विशेष तरिकाको प्रयोग गरिन्थ्यो । मोटो डोरीको सहायताले हावामा झुल्ने यो पुल हातले बाटिन्छ । पछिल्लो ६ सय वर्षदेखि यहाँका मानिस नदी वारपार गर्न यसैको सहारा लिँदै आएका छन् । 

यो पुल हुँदै जाने इंका मार्गले इंका साम्राज्यका शहर र गाउँहरुलाई जोड्छ । पुरानो पुलको स्थानमा नयाँ पुल बनाउने परम्परा वर्षौंदेखि चलिआएको हो । 

नदीको दुवै भेगमा बसोबास गर्ने युवाहरु जम्मा भएर घाँसको डोरी बनाउँछन् र पुल बनाउन जुट्छन् । परम्पराका अनुसार पुल बनाउन पुरुषमात्र भाग लिन्छन् । महिलाहरु नदीको दुवैतिर अग्लो स्थानमा बसेर साना साना डोरी बाट्दछन् ।

 

कामको पहिलो दिन सबै पुरुष पुरानो पुलनजीक जम्मा भएर छोटोछोटो डोरी जोडेर ठूलो डोरी बनाउँछन् । मुख्य पुल ६ ओटा ठूलो डोरीले बन्दछ । एक फुटसम्म मोटाइ हुने यी ठूला डोरी ससाना १२० ओटा डोरीलाई मिलाएर बनाइन्छ ।

 

डोरी बाट्न त्यहीँको कोया इचु नामक स्थानीय घाँसको प्रयोग गरिन्छ । डोरी बाट्न सजिलो होस् भनी घाँसलाई पहिला ढुंगाले थिचेर पानीले भिजाइन्छ । 

काममा लागेका मानिसहरुलाई त्यहीँ खानाको जोरजाम गरिन्छ । कुखुरा, सुँगुर आदिको मासु, नदीको ट्राउट माछा आदिबाट मीठा परिकार तयार गरी सबै एकै ठाउँमा जमघट भएर खाने गर्दछन् ।

 

नयाँ पुल बनेपछि पुरानो पुलको डोरी काटिन्छ र नदीमा खसालिन्छ । खसाइएको पुरानो पुल त्यहीँ आफै नष्ट हुन्छ ।

 

६ ओटा ठूला डोरीमध्ये चारओटा डोरीले पुलको भुइँको काम गर्छ भने अन्य दुईओटा हातको सहाराको लागि राखिन्छ । यी सबै डोरीलाई नदीको दुवैतिर ठूला ढुंगामा बलियो गरी बाँधिन्छ । डोरी बाँध्दा नै पूरै दिन जान्छ ।

 

तेस्रो दिन मुख्य डोरीमा साना पातला डोरीले बुन्ने काम हुन्छ । यस काममा उचाइको डर नलाग्ने सिपालु गाउँलेहरु अघि लाग्दछन् । यसरी आवतजावतका लागि सुरक्षित हुने गरी साना डोरीको प्रयोग गरी ठूला ६ ओटै डोरीलाई कसेर बुनिन्छ ।

पुल बनाउने सम्पूर्ण प्रक्रियामा कुनै पनि आधुनि सामान, औजार अथवा मेसिनको प्रयोग हुँदैन । पुल बनाउन केवल घाँस र मानिसको तागतको प्रयोग हुन्छ ।

 

वर्षमा एकपटकमात्र केस्वाचाकाको पुल बनाइन्छ । पुल निर्माण भइसकेपछि चौथो दिन खानपिन र संगीतका साथै उत्सव मनाइन्छ । उत्सव प्रायः जुनको आइतवार पर्ने गर्दछ ।

 

युनेस्कोले यस पुललाई सन् २०१३ मा विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ ।

बीबीसी हिन्दीबाट भावानुवाद  (तस्बीर : जोर्डी बसक्यू)  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै