• २०८१ बैशाख १५ शनिबार

विप्लवको बन्दको आंशिक प्रभाव : शंकास्पद बस्तुले जनजीवन त्रसिद

kharibot

फाइल तस्बीर

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दका कारण देशभरको जनजीवन आंशिक प्रभावमा परेको छ ।

देश भरका प्राय: शिक्षण संस्थाहरु बन्द छन भने सार्वजनिक यातायात समेत आंशिक रुपमा चलेका छन् । निजी सवारी साधन भने अलि अबधि चलेको देखिएको छ ।

यसै बीच बिभिन्न जिल्लामा सोमबार साँझ र मंगलबार बिहान शंकास्पद वस्तु सहित प्रेसर कुकर बम लगायतका विष्फोटक पदार्थ भेटिदा जनजीवन आतंकित बनेको छ ।

बर्दियामा दुई प्रेसर कुकर बम : 

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका दिन बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कर्तनिया चोक र सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्तरगत डिभिजन वन कार्यालयनजिक  प्रेसर कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बम भेटिएका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पार्ने काम गरिरहेको प्रहरीले जनाएको छ । 

विदुर नगरपालिकाका मेयर पण्डितको घरमा प्रेस कुकर बम

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा प्रेस कुकर बम भेटिएको छ । मेयर पण्डितको विदुर नगरपालिका–९ विजुरामा रहेको घरमा सोमबार राति प्रेसर कुकर बम फेला परेको हो । 

बम मंगलवार बिहान नेपाली सेनाको जवरजंग गणको वम डिस्पोजल टोलीले निस्क्रिय पारेका छन् । राति १२ बजे मेयर पण्डितको घरको मुल ढोका अगाडी झुण्ड्याइएको अवस्थामा वम फेला परेको थियो । रातिको भएकाले बिहान मात्रै बम डिस्पामेजल गरिएको जवरजंग गणका गणपति प्रमुख सेनानी अच्युत शाहले जानकारी दिए । मेयरको घरमा बम राखेको जानकारी पाएपछि स्थानीयमा त्रास बढेको थियो । 

वम फेला परेको ६ घण्टापछि सेनाले बम डिस्पोज गरेको र बम राख्नेको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले जानकारी दिए ।

काभ्रेमा बम आतंक :

विप्लव समूहले आह्वान गरेको नेपाल बन्द सफल पार्न काभ्रेका विभिन्न ठाउँमा बम राखेर जनजीवन प्रभावित पार्ने काम भएको छ ।  बन्दको प्रभाव देखाउन विभिन्न ठाउँमा बमजस्तै देखिने शंकास्पदवस्तु राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ । पनौती र धुलिखेलमा शंकास्पद राखिएको र नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरिसकेको छ ।

तर्साउनको लागि मात्र बियरको बोतलमा बालुवा भरेर कतै कुकरमा भुस भरेर राखेको पाइएको छ ।

धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम  फेला परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएका छन् ।

धुलिखेलमा मंगलबार बिहान ३ बजे, पनौतीमा बसपार्कमा पौने ५ बजे र खोपासी जानेपुलमा ४:५१ बजे मा नेपाली सेनाले बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले भने ठूलो आवाजले पड्किएकाले पड्काएको भन्ने आशंका गरे पनि प्रहरीले होक्स बम भनेको छ । काभ्रेमा बन्दका असर देखिएको छ । पसल खुलेपनि लामो दूरीका गाडी चलेका छैनन् धुलिखेल-बनेपा-काठमाडौं चल्ने सार्वजनिक बसहरु भने पातलो चलेका छन् ।

विप्लव समूहका लमजुङ सेक्रेटरी पक्राउ 

विप्लव समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यसैबीच आज बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ । हिजो साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शङ्कास्पद वस्तु फेला परेको थियो ।

वैतडीको धरमघरमा राखेको बम निष्क्रिय 

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा राखिएको बम निष्क्रिय पारिएको छ ।

सडकको बीचमा राखेको बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । 

सडकमा बम राखेको खबर पाएपछि मंगलबार  बिहानै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली धरमघर पुगेको थियो । मंगलबार बिहान दुई बजेतिर सडकमा बम राखेको खबर प्रहरीलाई प्राप्त भएको थियो ।

राति हिडेका यात्रुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडकमा बम भएका कारण रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइने काम भइरहेको प्रहरी निरीक्षक पातलीले बताए ।

बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम राखेको प्रहरीको भनाइ छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै