• २०८१ बैशाख १४ शुक्रबार

रेडक्रस ऐनको मस्यौदा, आन्तरिक अध्ययन र समीक्षाको लागि समिति गठन 

kharibot

काठमाडौँ । २०७६ साल साउन मसान्तभित्र रेडक्रस ऐनको मस्यौदा तयार गर्न समाजसेवी डा. गौरीशंकर लालदासको संयोजकत्वमा रेडक्रस ऐन मस्यौदा तयारी समिति गठन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्यहरु प्रा. सुदर्शनप्रसाद नेपाल, सुरेन्द्रसिं ऐर, मनोजकुमार थापा,सूर्यचन्द्र न्यौपाने, केन्द्रीय सदस्य, श्री राजदेव यादव सो समितिका सदस्यहरु रहेका छन् ।

त्यस्तै, कास्की रेडक्रस सभापति डोलराज पाण्डे, नेरेसोका पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त र केन्द्रीय सभासद् लुना सुबेदी ढुङ्गाना पनि समितिमा सदस्य रहेका छन् । समितिको सचिवको जिम्मेवारी नेरेसोका कानुन संयोजक विजय दाहाललाई दिइएको छ  ।

यही असार ६ गते शुक्रबार बसेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको २७६ औँ बैठकले संस्थाको कानुनी आधार बलियो बनाउन सो निर्णय गरेको हो । २७६ औँ बैठकका निर्णयहरु आज बुधबार सार्वजनिक गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट गठन गरिएको तदर्थ केन्द्रीय कार्यसमितिबाट यस अघि गठित समितिमा पनि डा. दास संयोजकको रुपमा थिए । सदस्यहरुमा भने केही हेरफेर भएको छ । 

तर, यस अघि तदर्थ केन्द्रीय कार्यसमितिबाट गठन भएका अन्य सवै समितिहरु र नियमावलीहरुमा गरिएका हेरफेरलाई भने बर्तमान समितिले निरन्तरता दिइएको छैन । नेरेसोका अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, “वि.सं.२०७१/१२/३० गते निर्वाचित यस कार्यसमितिले गठन गरेकै विभिन्न समिति तथा सञ्चालक समितिहरू, नीति, नियमावली र निर्णयहरूलाई यथावत् कायम राखी परिचालन, कार्यान्वयन र मान्यता दिने बैठकले निर्णय गर्यो ।” 

अदालत प्रति सम्मान : 

संस्थाको वर्तमान केन्द्रीय कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिति २०७६ /२/६ गतेको पत्रद्वारा विघटन गरी तदर्थ समिति गठन गरेको विरूद्ध सर्वोच्च अदालतमा गरिएको  रिट निवेदन उपर सर्वोच्च अदालतबाट सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय “कार्यान्वयन नगर्नु नगराउनु” भनी गरेको अन्तरिम आदेशलाई नेरेसोको बैठकले सम्मान व्यक्त गरेको छ । सर्वोच्च अदालतमा रिट निबेदन दर्ता गरी कानुनी प्रकृयामार्फत् वर्तमान केन्द्रीय कार्यसमितिको पुनर्बहाली गराउन कार्य समिति अध्यक्षको हैसियतले संजीव थापाले पहल गरेका थिए । उनको पहल र समन्वयकारी भूमिकालाई बैठकले धन्यबाद दिएको छ । 

आन्तरिक अध्ययन र समीक्षाको लागि समिति गठन : 

संस्थाको लागि जग्गा खरिद र रक्तसञ्चार सेवाको भवन निर्माण सम्बन्धमा भएका निर्णयहरुका बारेमा उठाइएका केही विषयहरुमा आन्तरिक अध्ययन र समीक्षा गरी केन्द्रीय कार्यसमिति प्रष्ट हुन केन्द्रीय सदस्य ललितजंग शाहीको संयोजकत्वमा एक समिति पनि नेरेसोले गठन गरेको छ  । केन्द्रीय सदस्यद्य भूपतिलाल श्रेष्ठ र बिनोदकुमार बस्नेत सो समितिका सदस्य हुनुहुन्छ । समितिले साउन मसान्तभित्र प्रतिबेदन दिनेछ ।

संस्थाको बैँक खाता सञ्चालन अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा विधान बमोजिम हुने र पाँचलाख सम्मको चेक हस्ताक्षर गर्न अख्तियार प्रत्यायोजन गर्ने निर्णयपनि यसै बैठकले गरेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । पौडेलले भने,'यसका साथै अध्यक्ष र कोषाध्यक्षको अनुपस्थितिमा खाता सञ्चालनको वैकल्पिक व्यवस्था पनि गरिएको छ ।' 

बैठकले  मिति २०७६ वैशाख २३ गतेदेखि २५ गतेसम्म धरानमा सम्पन्न गर्न आह्वान गरिएको केन्द्रीय सभाको ४८औं महाधिवेशनको लागि नेरेसो सुनसरी जिल्ला शाखाले आतिथ्य स्वरुप गरेको आवश्यक सम्पूर्ण तयारी व्यवस्थित एवम् प्रशंसनीय देखिएकाले सुनसरी जिल्ला शाखाप्रति बैठकले धन्यवाद पनि ज्ञापन गरेको छ । 

तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पत्रको निर्देशन बमोजिम अन्तिम क्षणमा अधिवेशन स्थगित गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै