• २०८१ बैशाख २१ शुक्रबार

पृथ्वीको त्यो अनौठो क्षेत्र जहाँ प्रशिक्षणका लागि पुग्छन् अन्तरिक्षयात्री

kharibot

आइसल्याण्ड । सन् १९६९ जुलाई २० मा अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ एपोलो–११ को यान इगलबाट बाहिर निस्के र चन्द्रमामा पाइला राख्ने पहिलो मानिस बने ।

उनले घोषणा गरे, ‘उनको त्यो सानो कदम मानवताको ठूलो छलाङ हो ।’ चन्द्रमामा अमेरिका झण्डा फहराएको ५० वर्षपछि हाल त्यो बेलाको अमेरिकाको त्यो सफलतालाई विश्वले सम्झिरहेको छ ।

थोरै व्यक्तिलाई मात्र थाहा हुन सक्छ, त्यो सफलताको पछाडि आइसल्यान्डको पनि हात थियो । एपोलो–११ मिशनभन्दा पहिला नासाले अन्तरिक्षयात्रीहरुलाई यस्तो स्थानमा प्रशिक्षण दिन चाहन्थ्यो, जहाँ पृथ्वी चन्द्रमाको सतहसँग मिल्दोजुल्दो होस् ।

यसको लागि आइसल्यान्डको उत्तरी किनारमा स्थित हुसाविकलाई छानियो । त्यस बेला यो २३०० माझीको एक सानो सहर थियो । नासाले सन् १९६५ देखि १९६७ को बीचमा प्रशिक्षणका लागि ३२ अन्तरिक्षयात्रीलाई त्यहाँ पठायो ।

अहिलेसम्म १२ मानिसले चन्द्रमामा पाइला टेकेकोमध्ये ९ जना हुसाविक आएका थिए । तीमध्ये निल आर्मस्ट्रङ पनि एक हुन् । चन्द्रमामा पाइला राखेको ५० वर्ष पूरा भएको उपलक्ष्यमा यहाँ उत्सव मनाउने तयारी भइरहेको छ ।

आइसल्यान्डको छनोट किन ?

आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेको २२ मिनेटपछि एपोलो ११का अर्का अन्तरिक्षयात्री एल्ड्रिन बाहिर निस्केका थिए । चन्द्रमाको विशाल र निर्जन क्षेत्रलाई हेरेर उनले त्यसलाई सुन्दर एकान्त भनेका थिए । आइसल्यान्ड पनि ठीक त्यस्तै रहेको बताइन्छ ।

आर्कटिक समुद्रको विश्वकै सबैभन्दा अस्थिर टेक्नोटिक प्लेटमा आधारित रहेको आइसल्यान्ड एक विशाल प्रयोगशाला जस्तै छ । तातो पानी, प्राकृतिक गिजर, झरना र नर्थन लाइटले मानिस ब्रह्माण्डमा कति महत्त्वहीन छ भन्ने याद दिलाउँछ ।

ओर्लिग्योर नेफिल ओर्लिग्सन हुसाविक सहरका द एक्सप्लोरेशन म्युजियमका निर्देशक हुन् । उनी भन्छन्, ‘आइसल्यान्ड साँच्चै नै चन्द्रमाजस्तै देखिन्छ, यहाँ अन्य संसारको जस्तै दृश्य देखिन्छ । विशेषगरी, गर्मीमा जब उत्तरी आर्कटिक मरुभूमिमा बर्फ कम पर्न थाल्छ, त्यो बेला साँच्चै यो क्षेत्र चन्द्रमाजस्तै देखिन्छ ।’

अन्तरिक्षयात्रीहरुलाई यहाँ पठाउनुको कारण यहाँको भूविज्ञान नै हो ।

नासाले अन्तरिक्षयात्रीहरु चन्द्रमामा गएर ढुंगाको सबैभन्दा राम्रो नमूना ल्याऊन् भन्ने उद्देश्यले  उनीहरुलाई चन्द्रमाको जस्तै संरचना भएको यो क्षेत्रमा पठाएको हो ।

मिशन आइसल्यान्ड

एपोलो मिशनको उपकरणको परीक्षणका लागि नासाले अन्तरिक्षयात्रीलाई पृथ्वीभन्दा भिन्न परिवेश भएको क्षेत्रमा पठाउन चाहन्थ्यो । त्यसैले नै नासाले यस क्षेत्रलाई छनोट गरेको बताइन्छ ।

नासाले अन्तरिक्षयात्रीहरुलाई हवाई र एरिजोनाको मेच्योर क्रेटरमा पनि पठाएको थियो । तर, आइसल्यान्डको बिरानो पहाडी क्षेत्रको चट्टानी भूभाग र ज्वालामुखीय परिवेश चन्द्रमाको जस्तो स्थितिमा प्रशिक्षणका लागि सबैभन्दा उपयुक्त थियो ।

सन् १९६५ को जुलाईमा एक हप्ताका लागि र सन् १९६७ जुलाईमा १० दिनका लागि ३२ अन्तरिक्षयात्रीलाई हुसाविकको नजिकै चन्द्रमाबाट कसरी ढुंगाको नमूना संकलन गर्ने भनी प्रशिक्षण दिइएको थियो ।

उनीहरुलाई अस्कजा ज्वालामुखी, रासबोर्ग क्रेटर र ड्रेकगिलको लाभा मैदान अथवा ड्र्यागन गलीमा प्रशिक्षण दिइएको थियो ।

सन् १९७१ मा एपोलो १५ मिशनमा चन्द्रमामा जाने कमान्ड मोड्युलका पाइलट अल वार्डेन भन्छन्, ‘मैले आयसल्यान्डको सक्रिय ज्वालामुखी क्षेत्रमा १० दिन बिताएँ । त्यहाँको स्थान यति अनौठो थियो, मलाई पहिला नै चन्द्रमामा पुगेको भान भइरहेको थियो ।

‘हामी गर्मीको बेला त्यहाँ थियौं । यहाँ घाम कहिल्यै अस्ताउँदैन जस्तो लाग्थ्यो । रातको ३ बजे पनि मानिसहरु गल्लीमा घुमिरहन्थे र पसलहरु खुला हुन्थे ।

सर्वसाधारण के भन्छन् ?

सन् १९६७ मा एक भूगर्भवैज्ञानिकले १९ वर्षीय गाइड इन्गोल्फर जोनासनलाई एपोलो मिशनका दुई अन्तरिक्षयात्री निल आर्मस्ट्रङ र बिल एन्डर्स माछा मार्न जान चाहेको र उनी पनि सँगै जान्छन् कि भनी सोधे ।

जोनासनले भने, ‘ती दुवै मेरो घर आएपछि मैले उनीहरुलाई नदीसम्म लगें । आर्मस्ट्रङ निकै दयालु थिए । उनको ठूलो नाम थियो । तर, माछा मार्न उनी त्यति राम्रो थिएनन् ।

दुवै अन्तरिक्षयात्री साँझ सहरको बीच भागमा नाचगानका लागि गए । जोनासन उनीहरुसँगै थिए ।

जोनासनले भने, ‘सबैले उनीहरुको सम्मान गरे, उनीहरु अन्तरिक्षयात्री थिए र प्रशिक्षणका लागि आइसल्यान्ड आएका थिए । उनीहरुले स्थानीय नर्तकीहरुसँग नृत्य पनि गरे ।’

दुई वर्षपनि निलआर्मस्ट्रङले चन्द्रमामा पाइला राखेको सुनेर जोनासन गौरवान्वित भए ।

उनले भने, ‘त्यो क्षणलाई म भुल्न सक्दिनँ, त्यो मेरो लागि निकै खास थियो । त्यो थोरै क्षणमा नै मैले त्यस व्यक्तिलाई चिनेको थिएँ जसले चन्द्रमामा पाइला टेकेका थिए ।’

संग्रहालयको स्थापना

हाल हुसाविकको पहिचान ह्वेलसँग जोडिएको छ । यहाँ गर्मीको समयमा धेरै पर्यटक ब्लू, हम्पब्याक र मिंकी ह्वेल हेर्न आउँछन । मानवलाई चन्द्रमामा पुर्याउन यो क्षेत्रको पनि विशेष हात छ भन्ने कमैलाई मात्र थाहा छ । ‘यी कुरा स्कलको किताबमा हुँदैन नि,’ ओर्लिग्सनले भने ।

सन् २०१४ मा ओर्लिग्सनले एक्सप्लोरेशन म्युजियम खोले । यहाँ ऐतिहासिक तस्वीर, कलाकृति, चन्द्रमाबाट ल्याइएको पत्थर (जसलाई अन्तरिक्षयात्रीले उपहारको रुपमा दिएका थिए), नासाको स्पेससुटको नमूना र आर्मस्ट्रङले प्रयोग गरेको बल्छीो काँटा पनि राखिएको छ । आर्मस्ट्रङको परिवारले हालसालै यस संग्रहालयलाई एपोलो मिशनमा निल आर्मस्ट्रङले प्रयोग गरेको क्र्यूको ब्याज दान गरेका थिए ।

चन्द्र खेल

चन्द्रमामा पुगेको ५० वर्षको उपलक्ष्यमा यो वर्ष जुलाई देखि सेप्टेम्बरको बीचमा पर्यटकलाई आइसल्यान्डका ती क्षेत्रमा जाने अवसर दिइनेछ, जहाँ एपोलोका अन्तरिक्षयात्रीलाई प्रशिक्षण दिइएको थियो । यहाँ अन्तरिक्षयात्रीहरुले चन्द्र खेल खेलेका थिए । यो प्रतियोगिता दुई स्थानीय भूवैज्ञानिक सिगुरुर रोरिन्सन र गुअमुन्डुर सिगवाल्ड्सनले एपोलो अन्तरिक्षयात्रीको भूविज्ञानको जानकारी बढाउन तयार गरेका थिए ।

नासाले चन्द्र खेलमा अन्तरिक्षयात्रीलाई जोडीमा चन्द्रमामा कदम राख्न र पत्थरको नमूना चयन गर्न अह्राएको थियो । त्यस्तै, पत्थर छान्नुको कारण पनि बताउँदै टेप रेकर्डमा रेकर्ड गर्नुपर्ने थियो । नासाका भूवैज्ञानिकले ती पत्थरको परीक्षण गरी त्यसलाई छान्नुको कारणमाथि विचार गर्दथे । नमूनाको विविधताको आधारमा सबै समूहलाई अंक दिइन्थ्यो ।

हुसाविकको नयाँ चन्द्रयान

एक्सप्लोरेशन म्युजियमले एपोलो ११ को चन्द्रयान इगलको एक नमूना बनाइरहेको छ । यसको अगाडिको भागको अनावरण यही वर्ष अक्टुबरको १७ देखि २० को बीचमा म्युजियमको वार्षिकोत्सवमा हुने बताइएको छ ।

हाल यहाँ इगलको एक सानो नमूना राखिएको छ । नयाँ नमूना भने ७.०४ मिटर अग्लो, ९.४ मिटर चौडा र ९.४ मिटर नै गहिरो हुने बताइएको छ । यो विशाल नमूनाका लागि एक नयाँ भवन बनाइने बताइएको छ ।

ओर्लिग्सन भन्छन्, ‘यहाँ आउने पर्यटकले यहाँ निल आर्मस्ट्रङ र बज एल्ड्रिन (एड्विन युजिन एल्ड्रिन जुनियर) चन्द्रमासम्म पुर्याउने यान कस्तो र कति ठूलो थियो भन्ने देख्नेछन् ।’

अबको योजना मंगल

नासाले धेरै वर्षदेखि सन् २०२० मा मंगलमा रोभर पठाउने महत्त्वाकांक्षी योजना तयार गरेको थियो । यसको लागि उसले आइसल्यान्डको स्थलगत अध्ययन गरेको छ । वैज्ञानिकहरुका अनुासर आइसल्यान्डको बरफिलो क्षेत्र, ज्वालामुखी र तातो झरना ठीक त्यस्तै छ, जुन वर्षौं पहिले मंगलमा थियो । आइसल्यान्डको आइरनले युक्त चट्टानको अध्ययन गरेर वैज्ञानिकहरुले यहाँ पहिला पानी कहाँ बग्थ्यो भनी पत्ता लगाउन सफल भएका हुन् ।

ओर्लिग्सन भन्छन्, ‘एपोलो अन्तरिक्षयात्रीले मंगल ग्रहमा जाने अन्तरिक्षयात्रीलाई प्रशिक्षण दिन पनि आइसल्यान्ड उपयुक्त स्थल भएका बताएका छन् ।’

हामीले मंगलको भूविज्ञानको बारेमा त धेरै कुरा थाहा पाइसकेका छौं, पछिल्लो केही वर्षयता रोभर्सले त्यहाँको सतहको अध्ययन गरिरहेको छ । त्यहाँ आइसल्यान्ड र मंगलको भूविज्ञानमा धेरै समानता रहेको वैज्ञानिकहरुले बताएका छन् ।

मंगल मिशनको लागि यहाँको लाभा ट्युब्स र गुफाहरुले ठूलो योगदान दिन सक्छ । मंगलमा जान अन्तरिक्षयानको तौल घटाउनु जरुरी छ ।

‘यदि हामीले मंगलमा जान यहाँको लाभाट्युब र गुफाको संरचनाको प्रयोग गर्ने हो भने हामीले सबै उपकरण लैजान आवश्यक हुँदैन,’ ओर्लिग्सनले भने ।

त्यसैले स्पेस एजेन्सीहरुले मंगलका गुफालाई मानिस बस्न योग्न बनाउन आइसल्यान्डमा हावाले फुलाउन सकिने उपकरणको परीक्षण गरिरहेका छन् ।

महिलाको लागि पनि ठूलो छलाङ

गत सेप्टेम्बरमा विज्ञान र प्रविधिकी छात्रा गनहिल्डर फ्रिओ होलग्रिम्सडोटिरलाई आइसल्यान्डमा त्यही प्रशिक्षण दिइयो जुन सन् १९६५ र १९६७को बीचमा अन्तरिक्षयात्रीहरुलाई दिइएको थियो । उनी प्रशिक्षण पाउने पहिलो महिला हुन् ।

साथै अमेकिरी किशोरी एलिशा कार्सनलाई पनि मंगलमा जाने अन्तरिक्षयात्री बन्नको लागि प्रशिक्षण दिइँदै छ ।

होलग्रिरसडोटिर भन्छिन्, ‘हामी पृथ्वीमा ती अधिकांश क्षेत्रमा पुग्यौं, जहाँको परिवेश मंगलको जस्तो थियो । आइसल्यान्डले कसरी मानिसलाई चन्द्रमामा पठाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो, त्यो मैले जान्नु जरुरी छ । यसले मेरो इच्छाशक्तिलाई बढाएको छ ।

नासाले एपोलो मिशनमा महिला अन्तरिक्षयात्रीलाई समावेश नगरेर ठूलो मौका गुमाएको उनको भनाइ छ ।

मंगलको मिशनको लागि पनि सबैभन्दा योग्य व्यक्तिलाई छनोट गरिने र उक्त व्यक्ति महिला नै हुने होलग्रिम्सडोटिरको विश्वास छ । उनी भन्छिन्, ‘मंगलमा जाने मेरो सपना हो, आइसल्यान्डको सरकार पनि युरोपेली स्पेस एजेन्सीसँग जोडिने निर्णय गरिसकेको छ । यी सबै कुराले महिलालाई पनि यदि अन्तरिक्षयात्री बन्ने दृढ चाहना छ भने अब यो सम्भव छ ।’

बीबीसी ट्राभलबाट भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै