• २०८१ बैशाख १४ शुक्रबार

त्रिविको चितवन इञ्जिनियरिङ क्याम्पस शुभारम्भ

kharibot

चितवन । त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनियरिङ क्याम्पस शुभारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा तीर्थ खनियाँ र भरतपुर महानगरप्रमुख रेनु दाहालले क्याम्पसको संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

मङ्सिरदेखि कम्प्युटर इञ्जिनीयरिङको पठनपाठन शुरु गर्न चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरको शुभारम्भ गरिएको हो ।  विश्वविद्यालयले हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको स्थानमा क्याम्पस शुभारम्भ गरेको हो । विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायको यो पाँचौँ आङ्गिक क्याम्पस हो । 

विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायका डिन प्रा रामचन्द्र सापकोटाले पुल्चोक, थापाथली, धरान र पोखरापछि चितवनमा क्याम्पस शुरु गरिएको बताए । यो शैक्षिक सत्रका लागि ४८ जना विद्यार्थी पठनपाठन गर्नेछन् । सोमबारदेखि शुरु हुन लागेको प्रवेश परीक्षालाई मध्यनजर राख्दै क्याम्पसको शुभारम्भ गरिएको सापकोटाले जानकारी दिए । 

हाल रामपुरमा रहेको कभर्डहललाई व्यवस्थापन गरी प्रयोग गरिनेछ । क्याम्पसको शुभारम्भ गर्दै विश्वविद्यालयका उपकुलपति खनियाँले त्रिवि इञ्जिनीयरिङ ३० वर्षपछि सरकारी तवरबाट खुलेको बताए । यो क्याम्पसलाई नमूना क्याम्पसका रुपमा विकास गरिने उनले जानकारी दिए । 

स्थानीय तहसँगको सहकार्यबाट नेपालमा नै पहिलोपटक क्याम्पस सञ्चालन गर्न लागिएको भन्दै उनले यो आफैमा नमूना भएको बताए । अबको समय प्राविधिक शिक्षालाई ध्यान दिनुपर्ने समय रहेको बताउँदै उनले स्थानीय रुचिलाई ध्यानमा राख्दै विश्वविद्यालयले काम गर्नु आवश्यक रहेको बताए । 

भरतपुर महानगरपालिकाप्रमुख रेनु दाहालले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि महानगर समन्वय गर्न तयार रहेको बताईन । महानगरको समन्वय आवश्यक परे जुनसुकै समस्यामा पनि सहकार्य गर्न तयार रहेको बताउँदै उनले भनिन्, “जनताको आवश्यकता र चाहनाअनुसार यस क्याम्पस ल्याइएको हो । यसमा विवाद नगरौँ ।”

कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी लगायतले बोलेका थिए ।

त्रिभुवन विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई उपलब्ध गराएर बाँकी रहेको ४० बिगाह जमीनमा इञ्जिनीयरिङ क्याम्पस शुभारम्भ गरिएको हो । यस क्याम्पसमा सातवटा कार्यक्रम सञ्चालन गर्ने तयारी विश्वविद्यालयको रहेको छ । 

सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न १९१ जना प्राध्यापक र १२८ जना कर्मचारी आवश्यक पर्ने विश्वविद्यालयले जनाएको छ । जसका लागि रु १६ अर्ब हाराहारी खर्च हुने विश्वविद्यालयको अनुमान छ । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका १० निजी क्याम्पस रहेका छन् । विश्वविद्यालयले यसै वर्ष केमिकल इञ्जिनीयरिङ विषयसमेत पढाउने तयारी गरेको छ । यो सँगै इञ्जिनीयरिङ सङ्कायमा १२ विषयको पढाइ हुने भएको छ । विद्यार्थीहरुको पहिलो रोजाइमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक इञ्जिनीयरिङ क्याम्पस पर्ने गर्दछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै