काठमाडौँ । ब्राजिलका फरवार्ड गाब्रियल जिससलाई कोपा अमेरिका फुटबल फेडेरेशनले दुई महिनाको प्रतिबन्ध लगाएको छ ।
म्यानचेस्टर सिटीबाट खेल्ने स्टार खेलाडी जिससलाई फाइनल खेलमा रातो कार्ड पाएपछि गरेको व्यवहारका कारण फेडेरेशनले दुई महिनाको प्रतिबन्ध लगाएको जनाएको छ ।
२२ बर्षिय जिससले पेरुविरुद्धको फाइनल खेलमा एक गोल गरेका थिए भने एक गोल असिस्ट समेत गरेका थिए । उनी खेलमा दोस्रो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए ।
उनी बाहिर आउने क्रममा भिएआर मेशिनमा धक्का दिदै र रुदै मैदान छोडेका थिए ।
फेडेरेशनले जिससले ब्राजिलका अन्तर्राष्ट्रिय खेल तथा मैत्रीपूर्ण खेल खेल्न नपाउने गरि दुई महिनाको प्रतिबन्ध लगाएको जनाएको छ ।
त्यस्तै जिससलाई ३० हजार डलर जरिवाना समेत लगाईएको छ । फेडेरेशनले उनलाई सात दिन भित्र अपिल गर्न समय दिएको छ ।
यो प्रतिबन्ध सँगै जिससले ब्राजिलको कोलोम्बिया र पेरुविरुद्धको मैत्री पूर्ण खेल गुमाउने भएका छन् ।
त्यस्तै फेडेरेशनले ब्राजिललाई ब्राजिलका फ्यानले कोपा खेलको क्रममा नराम्रो व्यवहार गरेको भन्दै १५ हजार डलर जरिवाना गरेको छ ।
यस अघि फेडेरेशनले कोपा प्रतियोगितामा अनियमितता भएको भन्दै कमेन्ट गर्ने अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई तीन महिनाको प्रतिबन्ध र ५० हजार डलर जरिवाना लगाएको थियो ।