• २०८१ बैशाख १६ आइतबार

एपोलो–११ का रोचक तथ्य

kharibot

अमेरिका । एपोलो–११ ले मानिसलाई पहिलोपटक चन्द्रमामा पुर्याएको तथ्य त धेरैलाई थाहा छ । इतिहासमै पहिलोपटक मानिस एपोलो–११ को सहायताले सन् १९६९ मा चन्द्रमामा पुगेको थियो ।

नील आर्मस्ट्रङ, बज एल्ड्रिन र माइकल कलिङ्स सन् १९६९ जुलाई १६ मा विशाल रकेट स्याटर्न–भीमाथि रहेको एपोलो अन्तरिक्षयानको कक्षमा करीब ११ मिनेट मात्रै बसेका थिए ।

त्यसको ४ दिनमा नै आर्मस्ट्रङ र एल्ड्रिनले चन्द्रमाको सतहमा पाउ राखेका थिए । यस चन्द्र अभियान अन्तर्गत केही यस्ता तथ्य छन् जुन सायद कमैलाई थाहा छ ।

त्यसैको बारेमा यहाँ जानकारी दिइएको छ । 

स्याटर्न–भी हालसम्मकै ठूलो र शक्तिशाली रकेट 


यसको उचाइ १०० मिटर अथवा ३६३ फिटभन्दा धेरै थियो । स्याटर्न–भी लन्च हुँदा १ सेकेन्डमा त्यसबाट करीब २० टन इन्धनको खपत भएको थियो । यसको कुल तौलको करीब ८५ प्रतिशत लिक्विड प्रोपेल्लेन्ट अथवा तरल इन्धन थियो । 

एपोलो ८ का अन्तरिक्षयात्री फ्रांक बोरम्यानले सन् २०११ मा भनेका थिए, ‘यो यति बलियो थियो कि, हामी सबै आश्चर्यचकित भएका थियौं ।’ 

त्यस्तै, अन्तरिक्षयात्री चार्ली ड्युक पनि उक्त अन्तरिक्षयानबाट मोड्युल छुट्टिँदा दुई रेल ठोक्किएको आभास भएको बताउँछन् । 

स्याटर्न–भीको तौल २८०० टन थियो र यो लन्च गर्दा यसले ३५ दशमलव ५ मिटर न्युटन बल उत्पादन गरेको थियो । यो बल यानलाई १३० टन तौल पृथ्वीको कक्षमा स्थापित गर्न र ४३ टन तौल चन्द्रमामा लैजान पर्याप्त थियो । 

एक ठूलो कार जत्रो एपोलोको क्र्यु कम्पार्टमेन्ट 

आर्मस्ट्रङ, एल्ड्रिन र कलिन्सले चन्द्रमामा जाँदा र फर्किंदा करीब १० लाख माइलको दूरी एक ठूलो कारजत्रो कम्पार्टमेन्टमा सँगै बसेर बिताए । 

कमान्ड मोडलमा लन्च र ल्यान्डिङ गर्दा अन्तरिक्षयात्रीहरुलाई बेन्च जस्तै काउचमा बाँधिएको थियो । यसको आकार करबि ३.९ मिटर थियो । यहाँ अन्तरिक्षयात्रीका लागि अरु खुला ठाउँ नै थिएन । कमान्ड मोडलको पछाडि सर्भिस मोडल थियो । यसमा इन्धनको ट्यांकी र इन्जिन थियो । 

लुनार मोडललाई कमान्ड र सर्भिस मोडलको पछाडि एक कम्पार्टमेन्टमा राखिएको थियो । 

पृथ्वीलाई छोडेपछि एपोलोले लुनार मोडलसँग डक गर्न अथवा जोड्न उडान भर्यो । त्यसपछि यसलाई कमान्ड मोडलको पछाडि अन्तरिक्षमा लगियो । त्यसपछि यसलाई चन्द्रमातर्फ मोडियो । 

गणितमा कुशल अफ्रिकी अमेरिकी महिला जसले चन्द्रमाको बाटोका लागि खाका तयार पारे 


डिजिटलको युग नआएको उक्त समयमा नासाले धेरै महिला गणितज्ञलाई मानव कम्प्युटरको रूपमा नियुक्त गरेको थियो । महिला गणितज्ञको समूहमा अधिकांश अफ्रिकी मुलका अमेरिकी महिला थिए । 

उनीहरुको डेटा प्रोसेसिङ कार्य र जटिलतम गणना यस अभियानलाई सफल बनाउन निकै महत्त्वपूर्ण थियो । पहिलोपटक कम्प्युटर आउँदा पनि सुरुवाती अवस्थामा नासाले प्रोग्रामिङ तथा कोडिङका लागि यिनै महिलालाई नियुक्त गरेको थियो । 

सन् २०१६ मा रिलिज भएको चलचित्र ‘हिडन फिगर्स’ ले पनि यिनै महान् गणित महिलाको कथालाई दर्शकसामु प्रस्तुत गरेको थियो । 

विशेषतः नासाका प्रथम अन्तरिक्षयात्रीद्वय एलन सेफर्ड र जोन ग्लेनलाई अन्तरिक्षमा पठाउँदा क्याथरिन जोन्सन नामकी एक महिलाको निकै चर्चा भएको थियो ।

उनले अमेरिकी यानलाई प्रक्षेपणका लागि मार्गको गणना गरेकी थिइन् । त्यस्तै, एपोलोको लुनार मोडल र कमान्ड मोडलका लागि पनि उनले नै गणना गरेकी थिइन् । 

एपोलो–११ लन्च गरेको ११ मिनेट पछि उडानपथले रकेटलाई पृथ्वीको कक्षमा पुर्यायो । त्यसको दुई घण्टापछि मात्रै दोस्रो कक्षमा जान रकेटको तेस्रो चरणको इन्धनको प्रयोग गरियो । यसले एपोलोलाई चन्द्रमाको दिशामा लैजान सहयोग पुग्यो । यो प्रक्रियालाई ट्रान्स लुनार इन्सर्सन (टीएलआई) भनिन्छ ।  

यो अन्तरिक्ष पथ रकेटको इन्धन प्रयोग नगरी नै यानलाई चन्द्रमाको गुरुत्वाकर्षबाट बाहिर पृथ्वीतर्फ फर्किन सहायक हुन्छ । 

यद्यपि, जब एपोलो–११ आफ्नो गन्तव्यको नजिक पुग्यो, तब अन्तरिक्ष यात्रीले यानको गति कम गर्न लुनार अर्बिट इन्सर्सन नामक प्रक्रिया अपनाएका थिए । यसले यानलाई चन्द्रमाको कक्षमा घुमाउन सहयोग पुर्यायो । 

एपोलो–११ मोडल हाल कहाँ छ भनी कसैलाई थाहा नभएको 

हालसम्म जम्मा १० ओटा लुनार मोडल अन्तरिक्षमा पठाइएका छन् । यसमध्ये ६ ओटामात्रै चन्द्रमामा उत्रिएका छन् । 

एकपटक प्रयोग भइसकेपछि क्याप्सुललाई छोडिन्थ्यो । ती या त चन्द्रमाको सतहमा नै खसे, कि त पृथ्वीको वायुमण्डलमा जलेर नष्ट भए, अथवा सूर्यको कक्षमा चक्कर लगाउन पनि थाले । तर, एपोलो–११ को अवस्था भने हालसम्म थाहा पाउन सकिएको छैन । 

पहिलो दुई लुनार मोडलको प्रयोग परीक्षण उडानमा गरिएको थियो जुन पृथ्वीको वायुमण्डलमा जलेर नष्ट भएका थिए । 

चन्द्रमामा लगिएको एपोलो–१० को लुनार मोडललाई चन्द्रमामा ओरालिएको थिएन । यसलाई अन्तरिक्षमा नै छोडियो । यो सूर्यको कक्षतर्फ गएको थियो । 

यसलाई देखिएको करीब ५० वर्षपछि केही खगोलविद्ले एक क्याप्सुल पत्ता लागेको बताएका छन् । यो त्यही एपोलो–१० को लुनार मोडल भएको उनीहरुको अनुमान छ । हाल यसलाई स्नुपी नाम राखिएको छ । 

एपोलो १३ को लुनार मोडलले उक्त अभियानका लागि लाइफ बोटको भूमिका निभाएको बताइन्छ । तर, विस्फोट भएका कारण त्यसलाई बीचमै नष्ट गरिएको थियो । 

अन्य मोडललाई पृथ्वीकै सतहमा क्र्यासल्यान्ड गर्न पठाइयो । यसरी अधिकांश मोडलको क्र्यास साइट अथवा नष्ट भएको क्षेत्रबारे थाहा भए पनि एपोलो–११ को

मोडल इगल र एपोलो–१६ को मोडल ओरियन कहाँ नष्ट भए भन्नेबारे हालसम्म थाहा हुन सकेको छैन । एजेन्सीको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै