• २०८१ बैशाख १६ आइतबार

नष्ट भएको हिमनदीप्रति श्रद्धाञ्जली, ४ सय हिमनदी नष्ट हुने अवस्थामा 

kharibot

आइसल्यान्ड । आइसल्यान्डका निवासीहरुले आफ्नो हिमनदी सुकेर गएकोमा शोक मनाइरहेका छन् । गत आइतवार त्यहाँका प्रधानमन्त्री क्याट्रिन जेकोबस्दोतिरको नेतृत्वमा मन्त्रीहरुको समूहले ओकजोकुल हिमनदीलाई श्रद्धाञ्जली दियो । जलवायु परिवर्तनका कारण अस्तित्व नै समाप्त भएको घोषणा गरिएको पहिलो ग्लासियर अथवा हिमनदी हो ओकजोकुल । 

श्रद्धाञ्जली कार्यक्रममा आगामी २०० वर्षमा विश्वका सबै प्रमुख हिमनदीको अवस्था यस्तै हुने आशंका व्यक्त गरियो । प्रधानमन्त्री जेकोबस्दोतिरले मानिसकै कारण प्रकृतिको विनाश भइरहेको स्वीकार गर्नुपर्ने बेला आइसकेको भन्दै यस्तो अवस्थालाई रोक्न अब कडाभन्दा कडा कदम चालिनेमा जोड दिइन् । 

हिमनदीको शोकमा एक कांस्यपत्र अनावरण गरियो । यसमा ओकजोकुलको वर्तमान अवस्था र समग्र हिमनदीको भविष्यप्रति सचेतना दिइएको छ । 

शोकसभामा राइस विश्वविद्यालयका प्राध्यापकले भने, ‘विश्वमा जलवायु परिवर्तनका कारण आफ्नो पहिचान तथा अस्तित्व गुमाउने यो पहिलो हिमनदी हुनेछ ।’

ओकजोकुल आइसल्यान्डको पश्चिमी सब–आर्कटिक क्षेत्रमा ओक ज्वालामुखीमा स्थित छ । पछिल्ला केही वर्षदेखि यो हिमनदी लगातार पग्लिरहेको थियो । र यो नष्ट हुने आशंका व्यक्त गरिएको थियो । सन् १९०१ मा ३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ओकजोकुल हाल घटेर १ वर्ग किलोमिटरमा सीमित भएको छ । 

वैज्ञानिकहरुका अनुसार यो भविष्यमा आउने खतराको संकेत मात्रै हो । आगामी दिनहरुमा अवस्था झनै भयानक हुने वैज्ञानिकहरुको चेतावनी छ । भविष्यमा ४०० ओटा हिमताल तथा हिमनदीहरु यसरी नै नष्ट हुने उनीहरुको भनाइ छ । 

हाल हरेक वर्ष आइसल्यान्डमा मात्रै करीब ११ अर्ब टन बरफ पग्लिरहेको छ । इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचरका अनुसार हरितगृह ग्यास उत्सर्जन यही गतिमा बढिरहेमा सन् २१०० सम्म विश्वका आधाभन्दा बढी हिमताल तथा हिमनदी नष्ट हुनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै