काठमाडौँ । जर्मनीको बुनडेसलिगा च्याम्पियन बायर्न म्युनिखले दोस्रो खेलमा जित हासिल गरेको छ ।
पहिलो खेलमा बराबरीमा रोकिएको बायर्न दोस्रो खेलमा शाल्केविरुद्ध ३-० को जित निकालेको हो । बायर्नको जितमा पोल्याण्डका स्ट्राइकर रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए ।
लेवानडोस्कीले पहिलो गोल २०औ मिनेटमा पेनाल्टीबाट हाने पनि बाँकी दुई गोल दोस्रो हाफमा गरेका थिए ।
यो सँगै नयाँ सिजनमा बायर्न विजयी लयमा फर्किएको छ ।
साथै अघिल्लो साता बार्सिलोनाबाट लोनमा बायर्न पुगेका ब्राजिलियन खेलाडी फिलिप कोटिन्होले पनि बुनडेसलिगामा डेभ्यु गरेका छन् । फस्ट टिममा नपरेका कोटिन्हो दोस्रो हाफको ५७औ मिनेटमा मैदान प्रवेश गरेका थिए ।
बायर्नले अब अर्को खेल आगामी शनिबार मैन्जविरुद्ध खेल्ने छ भने शाल्केले हेर्थविरुद्ध खेल्ने छ ।