चीन । एक एप हाल निकै भाइरल भएको छ । मानिसलाई हिरो बनाउने जाओ नामक एप चीनको आईओएस एप स्टोरमा अपलोड भएपछि तीव्र गतिले भाइरल भयो । जाओ एपको माध्यमले प्रयोगकर्ताले कुनै पनि तस्वीर अथवा भिडियो क्लिपमा सिलेब्रिटीको स्थाना आफ्नो मुहार लगाउन सक्छन् । यो एपबाट तस्वीर अथवा भिडियो फेक भएको पटक्कै पत्ता नलाग्ने बताइएको छ । अर्थात् तस्वीर र भिडियो पूर्णरुपमा सत्य रहेको जस्तै देखिन्छ । हिरो हिरोइनको गेटअपमा आफ्नो मुहार देख्न पाउँदा कसलाई खुसी नलाग्ला र ? त्यसैले नै यो एप यति छिटो भाइरल भएको बताइएको छ ।
यद्यपि, केही विशेषज्ञले भने यस एपलाई लिएर चिन्ता व्यक्त गरेका छन् । कृत्रिम बौद्धिकताको सहायताले हाल निकै भ्रम फैलिरहेको र यसले मानिसको जीवनमा नै हानि पुर्याउन सक्ने उनीहरुको मान्यता छ । त्यस्तै, गोपनीयतालाई लिएर पनि प्रयोगकर्ताहरु निकै चिन्तित छन् । जसरी फेसएपको माध्यमले प्रयोगकर्ताको व्यक्तिगत डाटाहरु लिक भए, यसमा पनि कतै त्यस्तै खतरा पो छ कि भनी उनीहरु चिन्तित बनेका हुन् ।
जाओ प चीनको आईओएस एप स्टोरमा शुक्रवार मात्रै अपलोड गरिएको हो । यो निकै छिटो भाइरल भयो । एप निर्माता कम्पनीले चिनियाँ सञ्चार माध्यम वेइपोमा पोस्ट गर्दै एपमा ट्राफिक बढेर सर्भर नै पूरै क्र्यास भएको बताएको थियो ।
विश्वभरको एप डाउनलोडलाई ट्र्याक गर्ने एक विभाग एप एन्नीका अनुसार सेप्टेम्बर १ मा जाओ चीनमा आईओएस एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने फ्री एप बनेको थियो ।
प्रयोगकर्ताले यो एप डाउनलोड गरेपछि साइनअप गरेर स्मार्टफोनबाट खिचिएको आफ्नो अनुहार अपलोड गर्नुपर्छ ।
सिलेब्रिटीको स्थानमा आफ्नो मुहार
प्रयोगकर्ताले एपमा रहेको सिलेब्रिटीका कुनै पनि भिडियोमध्ये एकलाई चयन गरेर उक्त सिलेब्रिटीको मुहारको स्थानमा आफ्नो मुहार लगाउन सक्छन् ।
त्यसपछि प्रयोगकर्ताले आफ्नो मुहार भएको भिडियो अन्य प्रयोगकर्ता र प्लेटफर्ममा सेयर गर्न सक्छन् । चिनियाँ सिलेब्रिटीको मुहारबाहेक एपमा लियोनार्डो डिक्याप्रियो र मर्लिन मुनरो जस्ता प्रसिद्ध मुहार पनि संलग्न छन् ।
सिलेब्रिटीको जस्तो हेयरस्टाइल, क्लोदिङ सर्वसाधारणलाई सम्भव नभए पनि यसले साधारण व्यक्तिलाई पनि सिलेब्रिटी बनाइदिएको एक प्रयोगकर्ताको भनाइ छ ।
यद्यपि, गोपनीयताको भने धेरैलाई डर छ । किनकि एप प्रयोग गर्नुभन्दा पहिला युजर एग्रिमेन्टमा एपमा आफ्नो फोटो अपलोड गरेपछि जाओसँग उक्त मुहारको इन्टेलेक्चुअल प्रोपर्टी राइट्स हुने र जाओले उक्त तस्वीर मार्केटिङको लागि प्रयोग गर्न सक्ने बताइएको छ । यही समस्या पहिला फेसएपमा पनि थियो ।
एपले यसरी काम गर्छ
जाओ एपलाई मोमो नामक डेटिङ एप निर्माता कम्पनीले बनाएको हो । यो कम्पनी पछि लाइभस्ट्रीमिङ सेवाप्रदायकमा परिवर्तन भयो । जाओ एपले कृत्रिम बौद्धिकताको आधारमा काम गर्छ ।
यस एपले प्रयोगकर्ताको मुहारको केही भाग जस्तै, आँखा, नाक र ओठलाई ट्र्याक गरेपछि भिडियोमा देखिएको मुहारसँग म्याच गर्छ । त्यसपछि भिडियोमा प्रयोगकर्ताको मुहार त्यही भागको आधारमा नै सेट गरिदिन्छ । त्यसपछि भिडियो रेन्डरिङ हुन्छ र देखिएको मुहारको फिचर बदलिन्छ । यसको सहयोगले भिडियो क्लिपमा देखिएको मुहारको स्थानमा दोस्रो मुहार फिट गरिन्छ । यस प्रविधिको दुरुपयोगलाई लिएर पनि विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।