दार्जिलिङ । पहाडकी रानी भनेर परिचित दार्जिलिङबाट प्रकाशित हुने पत्रिका साहित्य तृष्णाको बाल परिशिष्टाङ्क विमोचनको अवसरमा आइतबार नेपाली साहित्यमा योगदान गरिरहेका दुई साहित्यकारहरुलाई सम्मान गरिएको छ ।
साहित्यकार एम पथिकलाई साहित्य तृष्णा सम्मान र कवि पवित्र लामालाई स्व. सुमिता राई स्मृति पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा नेपालबाट आमन्त्रित कवि बच्चु हिमांशुले आफ्ना तीनवटा कविता प्रस्तुत गरेका थिए ।
उनलाई कार्यक्रमका संयोजक कवि नरेश कटुवालले सम्मानसहित मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, स्थानीय कविहरु निमेष सुब्बा सिकारु, प्रविन्ता भुजेल र योगिता राईलेपनि आआफ्ना कविता प्रस्तुत गरेका थिए ।
डा. गोकुल सिन्हाले अध्यक्षता ग्रहण गरेको उक्त कार्यक्रममा डा. कविता लामा प्रमुख अतिथीको रुपमा उपस्थित थिइन् । पत्रिकाको विशेषाङ्क विमोचनकै अवसर पारेर साहित्य तृष्णा पत्रिकाको अङ्ग्रेजी संस्करण र कवि नरेश कटुवालको कविताकृतिको अङ्ग्रेजी अनुवाद 'ब्रुजेज अफ भिलेज'पनि लोकार्पण गरिएको थियो । बाल परिशिष्टाङ्कको सम्पादन कवि रोशन राई चोटले गरेका हुन् । पत्रिकाको अनुवाद रसिक क्षेत्रीले सचिना तामाङको सहयोगमा गरेका हुन् भने लेखक तथा पत्रकार निशा वर्निका क्षेत्रीले नरेशको कविताकृति अनुवाद गरेकी हुन् ।
दार्जिलिङस्थित नेपाली साहित्य सम्मेलनको सभाकक्षमा आयोजित कार्यक्रममा साहित्य तृष्णा पत्रिकाद्वारा आयोजित बाल साहित्य प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको थियो ।
कवि रोशन राईकी दिवङ्गत आमा सुमिता राईको स्मृतिमा स्व. सुमिता राई स्मृति पुरस्कार स्थापना गरिएको हो ।