• २०८१ बैशाख २२ शनिबार

सी भ्रमणको सन्देश – इमान्दार र अनुशासन  

kharibot

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीनपीङले २३ वर्षपछि गरेको नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको चर्चा चलिरहदा नेपालको हालको काम गर्ने तरिका बदलिएला त भन्ने प्रश्न उठिरहेको छ ।

अनेकौ काण्ड र प्रकरणपछि सरकारको खासै आलोचना नभएको विषय बन्यो राष्ट्रपति सीको नेपाल भ्रमण । प्राय: सबै दल र नेताहरुले सी भ्रमणको समर्थन र खुशी व्यक्त गरे, जुन हरेक राष्ट्रप्रेमीले गर्नै पर्ने पनि थियो ।

चीनमा भएको विकास र समृद्धिका अहिलेका प्रमुख सूत्राधार सीको नेपाल भ्रमणको सन्देश के हो त ? सधै बोल्ने एउटा र गर्ने अर्को हाम्रा राजनीतिक दल र तिनका नेताहरुले राष्ट्रपति सीको भ्रमण पछि के सन्देश पाए त ? आम जनताका लागि यो नै महत्वपूर्ण कुरा हो । आम जनतालाई त यस्ता भ्रमणको अन्य खासै महत्व र अर्थ छैन । देश बनाउने जिम्मा लिएर सत्तामा बसेकाले के सिके र अब आउदा दिनमा के के गर्छन भन्ने नै आम जनताको चासो हुन्छ ।

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति सीको भ्रमण पछि प्रतिक्रिया दिदै भनेका छन् –'छिमेकी मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण सम्पन्न भएको छ । यो अत्यन्तै महत्वपूर्ण भ्रमण थियो । यसको निम्ति म चिनियाँ सरकार र नेपाल सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । बधाई दिन चाहन्छु । यो भ्रमण मूलतः सफल नै रह्यो । तर, सफलताको परिभाषा हामीले कसरी गर्नुपर्छ भने हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीमा मामाले के ल्याईदिए ? के/कति मिठाई दिए ? कति दक्षिणा दिए ? भन्नेजस्ता सोच हामीले राख्नुहुँदैन् । मित्रराष्ट्रहरुसँग सम्बन्ध भनेको एउटा राजनीति र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ । चीन सदैव हाम्रो मित्रराष्ट्र रहँदै आएको छ । खास समस्या छैनन् । त्यसअर्थमा यो भ्रमण राम्रो रह्यो । सुखद रह्यो भन्ने मलाई लाग्छ ।'

डा.भट्टराईकै भनाईलाई आधार मान्ने हो भने सी भ्रमणबाट सबै कुरा अब भयो भन्ने मानसिकता गलत हो । चीनले के के दियो या दिने छ भन्ने भन्दा पनि हामिले चीनसँग के के सिक्यौ र कति गर्न सक्यौ भन्ने महत्वपूर्ण कुरा हो ।

यसै प्रसँगमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीसँगको भेटपछि सामाजिक संजालमा सीको सन्देश भन्दै लेखे – 'सी ले भेटमा भन्नुभएका २ महत्वपुर्ण कुरा:१) शासन  सञ्चालन गर्न कम्युनिष्ट पार्टीले पहिले आफुभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ । यो हाम्रो अनुभव हो । २) चीकपाले चीनमा शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन,निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकाले हो ।'

अहिले सबै कुरा सत्तामा देख्ने र भोग विलासमा लिप्त हाम्रो नेतृत्वलाई श्रेष्ठले उल्लेख गरेका यी विषय महत्वपूर्ण छन् । राजनीतिको छोटो समयमै सत्ता र त्यसपछि कायापलट भएको जीवनशैलीले राजनीति व्यापार बनेको सबैका आखा अगाडी छ । यस्तो अवस्थामा सीले नेकपाका नेताहरुलाई संयुक्त भेटमा गुरु मन्त्र दिए । कम्युनिष्ट पार्टीको अर्थ सम्झाए र लामो समय सत्तामा बस्ने तरिका सिकाए । अब सिक्ने पालो र जिम्मा भने यताकाको नै हो ।

यी त प्रतिनिधि विचार भए । दुई देशको सम्बन्ध एक भ्रमण र एक भेटले तय अवश्य गर्दैन । नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण लामो समयदेखिको तयारी र प्रयास पछि भएको हो ।

यसलाई सरकारको एउटा सफलताको कडीको रुपमा मान्नै पर्ने हुन्छ । राम्रो काम राम्रो नै हो । तर सीको भ्रमणपछि अब सबै कुरा हुन्छ । देश समृद्ध भयो भने जस्तो गरि प्रचार गर्नु भने गलत हो । हामिले सीको स्वागतमा देखेको जस्तो नक्कली विकासको मोडलले देशमा समृद्धि आउदैन । यो कुरा सत्तामा बस्नेले बुझ्न जरुरी छ ।

सी भ्रमणपछिको प्रमुख सन्देश इमान्दार भएर मात्र देशको विकास हुन्छ भन्ने नै हो । सी व्यक्ति नभएर अब विकासको पर्याय बनिसकेको अवस्थामा उनको यस भ्रमणले हाम्रा नेतृत्वलाई कति प्रेरित गर्छ त्यो त समयले नै बताउने छ तर अब हाम्रो काम गर्ने तरिकामा के परिवर्तन आउछ ? के प्रकरण र काण्डले रुमलिएको सरकार यसबाट बाहिर निस्किन सक्छ त ?

सरकार बनेको डेढ बर्षमा भएका काण्डहरु गन्ने हो भने सरकारको इमान्दारितामा धेरै प्रश्न उठेका छन् र सरकार अनुत्तरित नै छ । तसर्थ सी भ्रमणको सन्देश इमान्दार भएर काम गर खोक्रा भाषण र गफ नगर भन्ने हो । अब सरकार फेरी अर्को प्रकरणमा मुछिन्छकी आम जनतामा आफुहरु इमान्दार रहेको सन्देश दिने काम गर्छ त्यो आगामी दिनमा नै थाहा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै