• २०८१ बैशाख १५ शनिबार

निश्चल-स्वस्तिमाको अनस्क्रिन रोमान्स, यस्तो छ ‘घामड शेरे’ को ट्रेलर

kharibot

काठमाडौँ ।  रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘घामड शेरे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हेमराज विसी निर्देशित फिल्ममा अभिनेता निश्चल वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवकको भूमिकामा छन् । उनी विदेशमा कमाएको पैसाले किनेको खेतमा तरकारी खेती गर्ने योजना बनाएर गाउँ फर्किन्छन् । 

तर, विदेशमा कमाएको पैसाले किनेको जग्गा खोलाले बगाएपछि घामड पात्रले गर्ने संघर्ष ट्रेलरमा देखाइएको छ ।

फिल्ममा उनको सालीको भूमिका अभिनेत्री स्वस्तिमाले निभाएकी छन् । कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकलाई उत्सुकता जागृत गर्न सफल हुने देखिन्छ । फिल्ममा निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् । कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा फिल्म खिचिएको हो । 

‘घामड शेरे’ कमेडी विषयवस्तुमा निर्माण भएको बताइएको छ । गौरी मल्लको अतिथी भूमिका रहेको फिल्ममा बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ ।

नरेन्द्र विक्रम बुद्ध क्षेत्री कार्यकारी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको फिल्ममा संगीत छ । निर्देशक विसीले नै फिल्मको कथा तथा पटकथा लेखेका हुन् । फिल्मका निर्माता सिमोस सुनुवार हुन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै