• २०८१ बैशाख १५ शनिबार

दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी

kharibot

हेटौँडा । प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा २ अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ ।

निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अगाडि बढाइएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिए ।

उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि  ५० लाख छुट्याएको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने ‘मोडालिटी’ बनाएको बताए ।

प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव हुन नदिने मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । मनहरिमा सरकारी जमीन आठ हजार रोपनी नापजाँच गरिएको र अरु सरकारी जमीन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उनले बताए ।

उनले यस्तै खालका सरकारी संरचना निर्माण गर्न भनेर मनहरि गाउँपालिका क्षेत्रमा छुट्याइएको जग्गा जमीनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै गरेको जानकारी दिए ।  अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति बनाएर काम शुरु गर्न लागेको उनको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै