वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

खरीबोट

फाइल तस्विर

हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ।

चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ। समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएका थिए। अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए।

निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताए।
उक्त वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ।

अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका थिए। उडेको पाँच महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिए।

शुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि राजीनामा दिन बाध्य भएर इमेलमा राजीनामा पठाएको उनको भनाइ छ। उनले भने, “घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो।”

भदौमा इमेलमार्फत राजीनामा दिएका घिसिङको असोजको आधाआधीमा पनि लिखित राजीनामा नआएको जनाइएको छ। असोजमा उम्मेदवार छनोटको तीव्र तयारी भइरहेको तर राजीनामा नआउँदा उपनिर्वाचन गराउन समस्या रहेको बताइएको छ।

देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको छ।

उक्त वडामा विसं २०७४ भएको वडाध्यक्षको निर्वाचनमा नेकपाका जगतमान घिसिङको ५४१ मत थियो भने दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले २२३ मत प्राप्त गरेका थिए। त्यस्तै नेपाली काङ्ग्रेसका दिपेशकुमार विश्वकर्माले १९१ मत प्राप्त गरेका थिए।
 

सम्बन्धित समाचार

विराटनगरमा वडा कार्यालय भवन उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गरिरेका छन्।  नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गर्दै पराजुलीले जनताका सेवा र सुविधाका

ऐतिहासिक मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार

हेटौँडा । केही वर्षअघिसम्म एक/दुई जना मात्र आन्तरिक पर्यटक आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक आउन थालेका छन्। गत वर्ष मकवानपुरगढी विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आएपछि

पुनर्वास-३ को वडाध्यक्षमा नेकपा उम्मेदवार विजयी  

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-३ को वडाध्यक्षमा नेकपाका कृष्ण तामाङ विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा उनी ५ सय २८ मत ल्याउँदै विजयी भएका हुन् ।   उनका निकटतम प्रतिद्वन्द्वी

काँग्रेस वडाध्यक्ष नेकपामा प्रवेश

बैतडी । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन्। पुर्चौडी


z