• २०८१ बैशाख १७ सोमबार

चितवनमा प्रहरी शिविर खडा गरेर गाँजा फँडानी

kharibot

भरतपुर । चितवनको पहाडी क्षेत्रमा ठूलो परिमाणमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । प्रहरीले चार दिनसम्म सो क्षेत्रमा शिविर खडा गरेर गाँजा खेती नष्ट गरेको हो । पूर्वपश्चिम राजमार्गबाट उत्तरपूर्वी क्षेत्र राप्ती नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ मा गाँजा फँडानी गरिएको हो ।

चार दिनको अवधिमा साढे २२ बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए । पाण्डेकै नेतृत्वमा राप्ती नगरपालिका–१० चौघरास्थित राष्ट्रिय आधारभूत विद्यालयमा प्रहरीले चारदिनसम्म शिविर खडा गरेर बसेको थियो ।

गाँजा फँडानीका लागि नेपाल प्रहरीका ३१ र सशस्त्र प्रहरीका १५ सहित ४६ सुरक्षाकर्मी खटिएका थिए । भदौ महिनायता मात्र गाँजा खेती नष्ट गर्नका लागि विभिन्न चरणमा ३०० प्रहरी परिचालन गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । राप्ती नगरपालिकाको वडा नम्बर ११ को ज्यामलिङ, ल्याङलिङ, वडा नम्बर १२ को लिपुटार, गोनवाङ र वडा नम्बर १३ को वाङसेलिङमा गाँजा फँडानी गरिएको पाण्डेले बताए । उनले भूगोल विकट भएका कारण गाँजा खेती नष्ट गर्न समस्या भएको बताए । “बिहान शिविरबाट खाना खाएर निस्कने हो, दिनभर फँडानी गरेपछि बेलुका मात्रै फर्कने गरेका छौँ”, उनले भने । 

उनले आधारभूत विद्यालयबाहेक अन्य ठाँउमा खान र बस्ने सुविधा नभएकाले समस्या भएको बताए । “जहाँ गाँजा खेती देख्छौँ त्यहाँ फँडानी गर्ने गरेका छौँ”, उनले भने,  “हामी पुग्न नसकेका पनि अझै धेरै ठाँउ छन् ।” शनिवार मात्र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफैँ उपस्थित भएर गाँजा फँडानी गरेका हुन् । सो क्रममा राप्ती नगरपालिका–१० कोटडाँडाको साढे तीन बिघा क्षेत्रमा गाँजा खेती नष्ट गरिएको थियो ।

प्रजिअ बस्नेतले पहाडी क्षेत्रमा लगाएको गाँजा खेती देखेर आफू अचम्ममा परेको बताए । उनले भने, “मैले सुनेको मात्रै थिएँ बिघौँ जग्गामा व्यावसायिकरूपमा गाँजा खेती गर्ने गरिएको छ । तर आफ्नै आँखाले देखेँ ।” उनले गाँजा खेती कसले गरेको भन्नेबारे नखुलेको बताए । “लगाउने मान्छे देखिँदैन”, उनले भने, “स्थानीय कसैले पनि ‘मेरो बारी हो, मैले लगाएको हो’ भन्दैन ।”

प्रहरी प्रशासनको उपस्थिति भइरहँदा स्थानीय जनप्रतिनिधिको भने सहभागिता थिएन । जनप्रतिनिधि पनि यस विषयमा खुल्न चाहँदैनन् । “स्थानीय जनप्रतिनिधिको आकांक्षा सुरक्षाकर्मी मात्र गएर फाँडिदिए हुन्थ्यो भन्ने छ”, प्रजिअ बस्नेतले भने, “यसमा सम्बन्धित वडाले आफ्नो वडाका नागरिकलाई सचेतना अविवृद्धि गर्नुपर्ने देखिन्छ ।” प्रतिबन्धित वस्तुको उत्पादन गर्नहुन्न भन्ने विषयमा यहाँका सर्वसाधारणलाई जानकारी हुन जरुरी रहेको उनको धारणा  छ ।

चितवनका प्रहरी प्रमुख, उपरीक्षक दानबहादुर मल्लले स्थानीय र जनप्रतिनिधिको आग्रहअनुसार नै आफूहरु अनुगमनमा गएको बताए । उनले भने, “यहाँको अवस्था हामीले राम्रोसँग देख्यौँ, अझै यसलाई अभियानकै रूपमा चलाउनुपर्छ ।” गाँजा खेती नगर्ने वातावरण बनाउन राजनीतिकरूपमा पनि प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ । “राजनीतिक दलले कार्यकर्ता र जनप्रतिनिधिलाई राम्रोसँग सम्झाउन जरुरी छ”, उनले भने । 

कानूनी कारवाहीको हिसाबले पनि प्रहरी सशक्तरूपमा अघि बढ्ने उनको प्रतिबद्धता छ । “यहाँका नागरिकले यसरी गाँजा खेती गर्न सक्दैनन्, भारतीय दलालहरुसँगको मिलेमतोमा यसको कारोवार भइरहेको छ”, उनले भने । सोझासाझा चेपाङलाई आफ्नो फाइदाका लागि फसाउने गरेको उनको भनाइ छ । “गाँजाको कारोवारीहरु खोजिरहेका छौँ, एकदिन फेला पारेरै छोड्छौँ”, उनले भने ।

उनले उपनिर्वाचनपछि पनि यो अभियानलाई निरन्तरता दिने बताए । चितवनमा सयौँ बिघा क्षेत्रफलमा गाँजा खेती भएको भन्ने विभिन्न सञ्चारमाध्याममा समाचार प्रकाशन भएपछि पछिल्लो समय चितवन प्रशासनले सक्रियता बढाएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै