• २०८१ बैशाख २७ बिहीबार

पर्यटक आकर्षित गर्न सहकार्य गर्दै पोखरा र बागलुङका व्यवसायी

kharibot

गलकोट । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई आकर्षित गर्न यहाँका पर्यटन व्यवसायीले पर्यटनमैत्री वातावरणका लागि अभियान सञ्चालन गरेका छन्।

अभियान अन्तर्गत पर्यटनमैत्री होटल तथा व्यवसाय बनाई भ्रमण वर्षमा पर्यटन गतिविधि बढाउन पर्यटनमा पोखरा र बागलुङमा सहकार्य थालिएको छ।

बागलुङ पर्यटन विकास समित, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ बागलुङको पहलमा पोखराका पर्यटन व्यवसायीसँग सहकार्य गर्न थालिएको छ। पर्यटन क्षेत्रमा सहकार्य गर्नका लागि बागलुङका पर्यटन व्यवसायी तीनदिने भ्रमणमा पोखरा पुगेका छन्।

भ्रमणका क्रममा पृथ्वी होटल व्यवसायी सङ्घ, सिटी रेवन, टान, भिटोफ, नाट्टा, भ्रमण वर्ष २०२० का प्रतिनिधि, बागलुङ समाज पोखरा र होटल एशोसिएशनबीच पर्यटनमा छलफल, अनुभव आदान–प्रदान, छलफल तथा अन्तक्र्रिया गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए।

छलफलका क्रममा पोखराका पर्यटन व्यवसायीले बागलुङसँग जोडेर पर्यटन व्यवसायमा सहकार्य, लगानी तथा अनुभव आदान–प्रदान गरी पर्यटन गतिविधि बढाउने प्रतिबद्धता जनाएका थिए।

पर्यटन क्षेत्रको सबैभन्दा महत्पूर्ण मानिएको होटल व्यवसायलाई कसरी पर्यटनमैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यवसायीबीच अनुभव आदानप्रदान समेत गरिएको हो।

आगामी दिनमा बागलुङका पर्यटकीय गन्तव्यको जानकारी गराउने, पोखराको अध्ययन अवलोकन, पोखरामा आउने पर्यटकलाई कसरी बागलुङसम्म लैजाने र पर्यटकलाई आकर्षण गराउन प्रचार–प्रसार लगायतका विषयमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काले बताए।

पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई बागलुङ पुर्याउने र बागलुङमा भएका पर्यटन गतिविधिलाई पोखरासम्म ल्याउने विषयमा सहकार्य गर्ने गरी तयारी गरिएको होटल व्यवसायी महासङ्घ केन्द्रीय उपाध्यक्ष तथा पोखराका पर्यटन व्यवसायी केपी शर्माले बताए। पर्यटन व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धा गरी पर्यटन गतिविधि बढाउन पोखरासँग सहकार्य गर्न थालिएको हो।

ठूला पर्यटन व्यवसायीको अनुभवले साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्ने आयोजकको लक्ष्य रहेको छ। पोखराका पर्यटन व्यवसायीको सहकार्यसँगै बागलुङमा पर्यटन गतिविधि बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ।

पर्यटकलाई खुशी पार्ने भनेको होटलको सेवा भएका कारण होटल व्यवस्थापन, सरसफाइ, खानपान तथा सत्कारमा ध्यान पु¥याउने भएका कारण पोखरामा चलेका होटलको अवलोकनसमेत गरिएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताए।

पोखराका व्यवसायी, फस्टाएका होटल तथा पर्यटकीयस्थलको अवलोकनबाट  सिकेर बागलुङका होटललाई पर्यटकमैत्री बनाउँदा पर्यटकहरुको बसाइँ लम्ब्याउन सकिने पर्यटनविज्ञ वासु त्रिपाठीले बताए।

पोखरा आएका पर्यटकलाई आगामी दिनमा बागलुङका पर्यटकीयस्थलका बारेमा जानकारी गराएर पर्यटक पठाउने, प्रचारप्रसार गर्ने विषयमा सहकार्य गर्ने नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष ओम पाण्डेले बताए।

सहकार्यका लागि बागलुङका होटल व्यवसायी, पर्यटन विकास समिति र उद्योग वाणिज्य सङ्घ अन्तर्गतको पर्यटन समिति, पत्रकार लगायतका सरोकारवाला पोखरा पुगेका हुन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै