• २०८१ बैशाख २१ शुक्रबार

सबैका साझा र लोकप्रिय नेता अधिकारी : प्रधानमन्त्री ओली

kharibot

फाइल तस्वीर

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी सबैका साझ र लोकप्रिय नेता भएको बताएका छन् ।

रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित रवीन्द्र अधिकारी स्मृति समारोह एवं विविध कार्यक्रममा भिडियो सन्देश मार्फत सम्बोधन गर्दै उनले अधिकारी समाजसेवी, मृदुभाषी र सबैका लोकप्रिय नेता भएको बताए ।

‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य प्राप्तिमा अधिकारी क्रियाशील रहेकै सन्दर्भमा उनको निधन भएको स्मरण गर्दै उनले भने, “उहाँको जीवनसँगै उहाँको निधन देशका जनताको विकास र चाहना पूरा गर्ने सिलसिलामा भयो ।”

प्रधानमन्त्री ओलीले अधिकारी निष्ठावान, चरित्रवान एवं देश र जनताप्रति समर्पित एक सच्चा नेता भएको उल्लेख गरे । सकारात्मक सोच र लगनशीलता अधिकारीमा रहेको बताउँदै उनले पार्टीलाई एकताबद्ध र नैतिकवान् बनाउन पनि उनबाट प्रेरणा लिएरअघि बढ्नुपर्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले रवीन्द्रको निधनसँगै देशले असल जनप्रतिनिधि गुमाएको धारणा राखे । समाज एवं देशको विकासका साथै पार्टी सङ्गठन निर्माणमा अधिकारीले खेलेको भूमिका महत्वपूर्ण भएको चर्चा गर्दै उहाँले सबैसँग मिलेरअघि बढ्नसक्ने उहाँका असाधारण क्षमता रहेको उल्लेख गरे ।

संवैधानिक रुपमा नै राजदरबारका सदस्यको विरोधमा बोल्न नपाउने अवस्थामा पनि उनले प्रविण गुरुङको हत्याका विरुद्धमा जनमत सङ्कलन गरेको मन्त्री भट्टराईले स्मरण गरे ।

अधिकारीको निधनले गण्डकी प्रदेशका साथै समग्र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताउँदै उनले अधिकारीको क्रियाशिलता, निष्ठता तथा जनता प्रतिको उत्तरदायीपनका कारण नै यहाँका जनताले उहाँलाई पटक–पटक निर्वाचित गराएको स्मरण गरे ।

विद्यार्थीलाई सार्वजनिक सवारीसाधनमा सहुलियतका साथै देशको सीमा सुरक्षाका लागि अगुवाइ गर्ने लगायतका धेरै काम अधिकारीले गर्नुभएको भट्टराईले उल्लेख गरे ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको विशेष श्रेय अधिकारीमा नै जाने बताउँदै उनले सन् २०२१ मा विमानस्थल सञ्चालनमा आइसक्ने जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रवीन्द्रका अधुरा सपनालाई पूरा गर्नु वर्तमानको आवश्यकता भएको बताए । निर्माणाधीन पोखरा विमानस्थललाई समयमा नै सञ्चालनमा ल्याउनु रवीन्द्र प्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउँदै उनले नेपाल भ्रमण वर्ष २०२० पनि उनकै अवधारणा भएको स्मरण गरे ।

सबैसँग न्यानो सम्बन्ध कायम गर्दै जनताको नेतृत्व गर्न सक्ने विशिष्ट गुण रवीन्द्रमा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले पार्टीमा गुटभन्दा माथि रहेर पार्टी अनुशासनमा रहने रवीन्द्रबाट धेरै कुरा सिक्नुपर्ने आवश्यकता औँल्याए ।

वर्तमान सरकारलाई जनताले पाँच वर्षका लागि म्यान्डेट दिएको चर्चा गर्दै उनले जनमतका विरुद्धमा जाने अधिकार कोही कसैलाई नभएको उल्लेख गरे ।

उक्त अवसरमा प्रतिष्ठानद्वारा आयोजित ‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ विषयक राष्ट्रिय निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी क्रमशः सुरज परियार ललितपुर, मनिता योङहाङ, विराटनगर र रामचन्द्र अधिकारी ओखलढुङ्गालाई नगद २५, २० र १५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । त्यस्तै क्यानभासमा रवीन्द्र अधिकारी कला कार्यशालाका संयोजक रमेश श्रेष्ठ लगायतका कलाकारलाई प्रमाणपत्र प्रदान गरियो ।

थामिएनन् विद्याका आँशु

प्रतिष्ठानद्वारा पोखरा सभागृह हलमा आयोजित प्रथम स्मृति दिवसमा रवीन्द्र पत्नी विद्या भट्टराईका आँशु थामिएन । शोकलाई शक्तिमा बदल्दै उप निर्वाचन मार्फत प्रतिनिधिसभा सदस्य बनेकी भट्टराई स्मृति दिवसको कार्यक्रम शुरु हुँदादेखि नै भावुक देखिन्थिन् ।

अधिकारीको विद्यार्थीकालदेखि राजनीतिका विभिन्न कालखण्ड र घटनाक्रमसँग जोडिएका भिडियो जब हलमा राखिएका स्क्रिनमा देखाइए तब विद्यालगायत सबैलाई भाव शून्य बनाइदियो । विद्या एकटकले भिडियो हेरिरहेकी थिइन्, अनवरत उनका आँशु बगिरहेका थिए । उनीसँग रहेका राजनीति सहयोद्धा संस्कृतिमन्त्री भट्टराई पनि निकै भावुक भएर रवीन्द्रलाई हेरिरहेका थिए ।

रवीन्द्रका राजनीतिक उपलब्धिलाई समेटिएको भिडियोमा उनले नेतृत्व गरेका विद्यार्थी सहुलियतदेखि संसद्मा बोलेका महत्वपूर्ण प्रस्ताव, उच्चस्तरीय भेटघाट लगायतका महत्वपूर्ण कुरालाई उतारिएको थियो । दुर्घटना हुनुपूर्व ताप्लेजुङमा गरेको अन्तिम सम्बोधन हेर्दा दर्शक दीर्घाबाट सुक्क सुक्क आवाज आएको थियो ।

बालबालिकादेखि युवा, वयस्क र ज्येष्ठ नागरिकसम्मको मनमा बस्न सफल अधिकारीको अन्तिम दाह संस्कारको तस्बीर र भिडियोले पत्नी विद्या हलका सबै दर्शक भावुक बनेका थिए । कास्की रवीन्द्र अधिकारीको जन्मथलो मात्र नभई उनलाई राजनीतिको उचाइमा पुर्याउने जिल्ला पनि हो ।

कस्केली जनताले २०६४ र २०७० सालको संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित गराएका थिए । त्यस्तै २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं। २ बाट उनी निर्वाचित भाएका थिए ।

तसर्थ पनि सो स्मृति सभामा पार्टीका नेता कार्यकर्ता मात्र थिएनन् फरक विचार र आस्था भएका व्यक्ति समेतको उल्लेख्य सहभागिता थियो ।

उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जिम्मेवारी सम्हालेका अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै