• २०८१ बैशाख २९ शनिबार

पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको काम सम्पन्न

kharibot

प्रतिनिधि तस्वीर

दैलेख । दैलेखमा गत कात्तिकदेखि शुरु गरीएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ ।

साइस्मिक सर्वेक्षण अन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो । जिल्लाको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधारमानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो ।

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षण पहिलो चरणको काम सम्पन्न भएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले बताए ।

उनका अनुसार साइस्मिक सर्वेषक्षणअन्तर्गत १० वटा लाइनमध्ये तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुनसक्ने ठाउँ हेरी चार किलोमिटर जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षणको काम सम्पन्न भएसँगै पहिलो चरणको काम सम्पन्न भएको बताए ।

चाइनाको प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्र गाउँपालिका केही भूभाग चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्र महाबु गाउँपालिकाका केही क्षेत्र र नारायण नगरपालिकाका क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो ।

खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा त्रिपाठीले चाइनाको प्राविधिक टोलीले अहिलेसम्म गरेको चारवटा सर्वेक्षणबाट सङ्कलन गरिएका डाटाको चीनमा गएर अध्ययन गर्ने र अध्ययनपछि दैलेखको कुन भूभागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्र्कष निकालेपछि चाईनाकै अर्को विशेषज्ञ टोली आएर चार किलोमिटर गइराइसम्म मुख्य डिलिङको काम गर्ने डा त्रिपाठीले बताए ।

नेपालको संविधान २०७२ जारी भएपछि मधेशवाद दलको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदाताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण उत्खनन गर्ने सहमति भएको थियो ।

उक्त सहमति अनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ  सरकारको जिओलोजिकल सर्वेक्षण कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि रु दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

गत कात्तिकमा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरेका थिए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै