• २०८१ बैशाख २६ बुधबार

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाउन काँगेसको माग

kharibot

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई कोरोना उपचार अस्पताल नबनाउन माग गरेको छ ।

पार्टीका तर्फबाट जिल्ला सभापति कृष्ण केसीद्वारा आज विज्ञप्ति जारी गर्दै सर्वसाधारणले सर्वसुलभ स्वास्थ्योपचार सेवा पाउने अस्पताललाई कोरोना अस्पताल बनाउने योजना अव्यावहारिक भएको भन्दै अन्य विकल्प खोज्न माग गरिएको हो ।

“यो अस्पताललाई कोरोना अस्पताल बनाउँदा सर्वसाधारण र अन्य बिरामीको उपचारमा ठूलो समस्या आउँछ । त्यसैले यसको अन्य विकल्प खोजौँ”, विज्ञप्तिमा भनिएको छ । सर्वसाधारण नागरिकलाई सर्वसुलभ स्वास्थ्योपचार सेवाबाट वञ्चित गर्न नहुने भन्दै काँग्रेसले उक्त अस्पताललाई कोरोना अस्पताल बनाउँदा वार्षिक ओपिडीमा सेवा लिँदै आएका करिब तीन लाख नागरिक प्रभावित हुने भनेको छ ।

दैनिक २० देखि २५ ले सुत्केरी सेवा, करिब २०० ले इमर्जेसी उपचार सेवा र ५०० जनाले प्रयोगशाला सम्बन्धी सेवा लिने गरेको तथा मासिक एक हजार २०० एचआइभी सङ्क्रमितको उपचार र हप्तामा ११० जनाको डायलाइसिस सेवा प्रदान गर्ने अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने काँग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अस्पतालमा सेवारत करिब ३०० जना कर्मचारीको रोजगारीमा समेत खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा अझै पनि स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिइ उपलब्ध गराउन नसकेकाले तत्काल त्यसको व्यवस्था गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरिएको छ ।

सरकारले राहत वितरणमा एकद्वार प्रणाली अपनाउँदा लक्षित वर्गको पहुँचमा राहत पुग्न नसकेको भन्दै विज्ञप्तिमा जनतालाई छिटो छरितो राहत उपलब्ध गराउन र वितरण गर्न चाहने व्यक्ति तथा सङ्घसंस्थालाई नरोक्न आग्रह गरिएको छ । विज्ञप्तिमा सर्वसुलभ रुपमा कृषकलाई बीउबिजन र मल उपलब्ध गराउन पनि माग गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै