• २०८१ बैशाख १६ आइतबार

वुटवलका एसइई परीक्षार्थीलाई टेलिभिजन मार्फत शिक्षण सिकाइ शुरु

kharibot

प्रतिनिधी तस्वीर

रुपन्देही । कोरोना भाइरस संक्रमणका कारण रोकिएको एसइई परीक्षार्थीलाई लक्ष्य गर्दै बुटवलमा आजदेखि टेलिभिजन शिक्षण सिकाइ कार्यक्रम शुरु गरिएको छ ।

परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिएको हो । बुटवल उपमहानगरपालिकाले यहाँका लुम्बिनी सामुदायिक टेलिभिजन र बुद्ध टेलिभिजनमार्फत बिहान र दिउँसो दुई चरणमा कक्षा सञ्चालन गरेको हो ।

परीक्षा दिने मिति समेत तोकिएर स्थगन भएपछि विद्यार्थीमा तनाव हुन नदिन र पढाइमै केन्द्रित गराउन श्रव्यदृष्यका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । यहाँका विद्यालयमा पढाइ हुने हरेक विषयका शिक्षकलाई समय तालिका निर्धारण गरेर विद्यार्थी लक्षित टेलिभिजन कार्यक्रम गरिने उनको भनाइ छ ।

परीक्षाको सबै तयारी पूरा भएर अघिल्लो दिन बेलुकादेखि लकडाउन शुरु भएपछि रोकिएको थियो । परीक्षा रोकिएसँगै देशभरका सबै विद्यालय बन्द छन् । विद्यार्थी घरमै रहेकाले अभिभावकसमेत चिन्तित छन् । यहाँका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरेर बुटवलका टेलिभिजनबाट पठनपाठन शुरु गरिएको उपमहानगर, शिक्षा तथा जनसंंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।

उनले शिक्षकलाई विषयगत रुपमा समय तालिका निर्धारण गरेर खटाइएको बताए । आजदेखि शुरु भएको शिक्षण सिकाइ क्रियाकलाप एक महिनासम्म चल्ने छ । अनिवार्य गणित, नेपाली, विज्ञान, अंग्रेजी, सामाजिक अध्ययन र ऐच्छिक गणितलगायत विषयको शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिने छ ।

बुटवलमा २१ सामुदायिक र ४५ संस्थागत विद्यालयमा एसइई परीक्षाको तयारीमा रहेका करीब चार हजार विद्यार्थीलाई लक्ष्य गरेर यस्तो कक्षा सञ्चालन गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै